Butwal Today

स्थानीय तहका पदाधिकारीले आचारसंहिता उलङ्घन गरेको गुनासो पछि प्रशासनको ध्यानाकर्षण 

१ फाल्गुन २०८२, शुक्रबार
अ+
अ-
नवलपरासी,पश्चिम् ।
 प्रतिनिधि सभा सदस्यको आसन्न निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, स्वच्छ, पारदर्शी र मितव्ययी ढङ्गले सम्पन्न गराउने उद्देश्यले निर्वाचन आयोगले लागू गरेको निर्वाचन आचारसंहिता, २०८२ कडाइका साथ कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले सबै सरोकारवालालाई निर्देशन दिएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार निर्वाचन आयोगबाट मिति २०८२ साल माघ १४ गते सूचना सहित जारी भएको निर्वाचन आचारसंहिता कार्यान्वयनसम्बन्धी निर्देशनअनुसार यस जिल्लाका क्षेत्र नं.१ र २ का निश्चित उम्मेदवार तथा राजनीतिक दलको प्रचार–प्रसारमा स्थानीय तहका पदाधिकारीहरू संलग्न रहेको भन्ने गुनासो तथा उजुरी प्राप्त भएका छन् ।
अहिले सम्म ४ र ५ वटा मौखिक उजुरी आएको छ,आफै आएर गुनासो प्राप्त भएको छ,त्यसैले हामीले ध्यानाकर्षण पत्र जारी गरी उलङ्घन नगर्न निर्देशन दिएका छौँ सहायक प्रमुख जिल्ला अधिकारी एवम् निर्वाचन आचारसंहिता अनुगमन अधिकृत पोषण राज भण्डारीले  भने  ।
यस सन्दर्भमा आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई लक्षित गर्दै निर्वाचन आचारसंहिता, २०८२ को परिच्छेद ३ बमोजिम सबै सरोकारवालाले आचारसंहिता पूर्ण रूपमा पालना गर्नुपर्ने स्पष्ट पारिएको छ। साथै, उल्लङ्घनका गतिविधिमा संलग्न नहुन र कानुनअनुसार जिम्मेवार भूमिका निर्वाह गर्न जिल्ला प्रशासनले सम्बन्धित सबैलाई जानकारी गराउँदै अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले निर्वाचनको मर्यादा र विश्वसनीयता कायम राख्न सबै राजनीतिक दल, उम्मेदवार तथा स्थानीय तहका पदाधिकारीहरूको सहकार्य अपरिहार्य रहेको उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?