Butwal Today

शैक्षिक गुणस्तर उकास्न सहकार्य आवश्यक : मुख्यमन्त्री आचार्य

१ फाल्गुन २०८२, शुक्रबार
अ+
अ-

अर्घाखाँची ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षक, विद्यार्थी र अभिभावकबीच परस्पर सहकार्य आवश्यक रहेको बताएका छन।

अर्घाखाँची छत्रदेव गाउँपालिका–१ स्थित आदर्श आधारभूत विद्यालयको हीरक महोत्सव–२०८२ को आज उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले सानैदेखि बालबालिकालाई अनुशासित बनाउन नैतिक शिक्षा अनिवार्य गर्नुपर्नेमा जोड दिए । “तपाईंहरूले कस्तो खालको शिक्षा दिइरहनुभएको छ, ती विद्यार्थीको नतिजा कस्तो आइरहेको छ भन्ने विषयमा ध्यान दिन जरुरी छ”,उनले भने, “अभिभावकहरूलाई निवेदन गर्न चाहन्छु, आफ्ना छोराछोरीको अवस्थाबारे जानकारी राख्नुपर्छ । सानो उमेरदेखि नै अनुशासित बनाउन सक्नुपर्छ । बच्चालाई सानैदेखि मर्यादित र अनुशासित बनायौँ भने, घर र समाज बुझायौँ भने त्यो बच्चाको भविष्य उज्ज्वल हुन्छ ।”

मुख्यमन्त्री आचार्यले गाउँमा विकास पुगेकाले अब गाउँ फर्कन आह्वान गरे । विकास निर्माणको दृष्टिकोणले अर्घाखाँचीलाई अन्य पहाडी जिल्लाको तुलनामा उदाहरण दिन लायक जिल्लाका रूपमा विकास गर्दै लगिएको उल्लेख गर्दै उनले गाउँगाउँमा कच्ची बाटाहरू पक्की बन्दै गएको, खानेपानीका धारा पुगेको र विद्यालय तथा स्वास्थ्य चौकी स्थापना भएको बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?