Butwal Today

फागुन २१ : देशको मार्गचित्र र जनताको भविष्य

१ फाल्गुन २०८२, शुक्रबार
अ+
अ-

बुटवल ।

लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री तथा गुल्मी निर्वाचन क्षेत्र नं.१ नेपाली कम्यूनिष्ट पाटिका उम्मेदवार सुदर्शन बरालले आगामी निर्वाचनलाई असाधारण र ऐतिहासिक मोडको निर्वाचन भएको बताएका छन्। उनले फागुन २१ को निर्वाचन केवल मतदान प्रक्रिया मात्र नभई देशलाई कुन दिशातर्फ लैजाने भन्ने महत्वपूर्ण मोड भएको उल्लेख गरेका छन ।

शुक्र बुटवलमा आयोजित गुल्मि रुपन्देही समन्वय समितिको कार्यक्रमलाई संबोधन गर्दै बरालले भदौ २३ र २४ गते भएका जेनेजी ध्वंसका घटनाले देशलाई गम्भीर संकटतर्फ धकेलेको बताए । उनले भने अब देश र जनताको भविष्यको मार्गनिर्देशन गर्ने बेला आएको छ त्यसको सबै जिम्मा नेपाली कम्युनिस्ट पार्टीले लिने बताए । उनले सुघौली सन्धिपछिको नेपाल जस्तै जटिल संकटको अवस्थामा देश पुग्न सक्ने चेतावनी दिँदै त्यसबाट देशलाई बचाउन र निकास दिन सबै सचेेेत वर्ग र राष्ट्रिय शक्तिहरु एक ठाउँमा उभिदै सचेत नागरिक भएर मताधिकार सहि प्रयोग गर्नुपर्ने बताए ।

उनले देश परिवर्तनका लागि मत परिवर्तन अनिवार्य भएको उल्लेख गर्दै जनतामुखी नीति निर्माणमार्फत देशलाई समृद्ध बनाउने क्षमता नेपाली कम्युनिस्ट पार्टीसँग रहेको बताए। भ्रष्टाचारको निर्मूल गर्दै सुशासन स्थापना गर्ने, स्वदेशमै उत्पादन वृद्धि गर्ने र रोजगारी सिर्जना गर्ने आफ्नो पार्टीको प्राथमिकता रहेको उनको भनाइ थियो।

बरालले नेपाल अझै विकासको पहिलो चरणमै रहेको उल्लेख गर्दै सडक, सिँचाइ, खानेपानी र विद्युत् विस्तारलाई आधारभूत विकासको चरणका रूपमा व्याख्या गरे। उनले राष्ट्र अहिले संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको बताउँदै राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै देशलाई संकटबाट बाहिर निकाल्न आवश्यक रहेको बताए।

त्यसैगरी उनले राष्ट्रलाई आत्मनिर्भर अर्थतन्त्रतर्फ उन्मुख गराउने लक्ष्य लिएर गुल्मी क्षेत्र नं. १ मा अधुरा रहेका योजनाहरू सम्पन्न गर्ने जिम्मेवारी बोधका साथ आफू निर्वाचन मैदानमा उत्रिएको उनले बताए। गुल्मीलाई ऐतिहासिक, धार्मिक तथा पर्यटकीय केन्द्रका रूपमा विकास गर्न नसकिएको स्वीकार गर्दै छुटेका र अधुरा योजनाहरू पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे।

बरालले दलगत स्वार्थभन्दा माथि उठेर भूगोल र जनताको आवश्यकता अनुसार योग्य र जिम्मेवार उम्मेदवार चयन गर्ने जिम्मा जनताको हातमा रहेको उल्लेख गर्दै मतदातालाई सचेत निर्णय लिन आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?