© 2026
काठमाडौँ ।
सशस्त्र प्रहरी बलले सुनसरीबाट पेस्तोलसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । इटालीमा बनेको पेस्तोल र सोको तीन राउन्ड गोलीसहित भारतको अररिया ग्राम पञ्चायत–४ बस्ने ३६ वर्षीय राम थेलन पासवानलाई आज साँझ सुनसरीको जमुवास्थित सीमावर्ती क्षेत्रबाट नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
भारतीय नम्बरको मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका पासवानको साथबाट ब्राउनसुगर १०० ग्राम, नेपाली रुपैयाँ सात हजार पाँच र भारतीय रुपैयाँ नौ हजार ३८० समेत बरामद गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । नियन्त्रणमा लिइएका पासवानलाई बरामद सामग्रीसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ ।
यसैबीच, सशस्त्र प्रहरी बल नं १ बराह बाहिनीका बाहिनीपति मनिष थापाले निर्वाचन सुरक्षालाई ध्यान दिँदै सीमानाकामा चेकजाँचलाई कडाइ गर्न निर्देशन दिएका छन । सशस्त्र प्रहरी नायब महानिरीक्षक थापाले इलाम, झापा, मोरङ र सुनसरीका सीमानाकाको स्थलगत अनुगमनपछि सीमाबाट हुने अवैध क्रियाकलाप रोक्न निर्मम ढङ्गले प्रस्तुत हुन मातहतका युनिटलाई निर्देशन दिएको सहप्रवक्ता थापाले जानकारी दिए । रासस