© 2026
एक जना विदेशी राजनीतिक टिप्पणीकारले भनेको थिए– “चुनाउ अघि सबैले जित्छन्, चुनाउ पछि सबैले हार्छन्” ।
यो भनाई यति वेला नेपाली राजनीतिमा खुब सान्दर्भिक, घतलाग्दो र धित मर्दो छ भन्ने लाग्छ । जेन जी विद्रोहमा रहँदै नरहेको चुनावी एजेन्डालाई सुशीला सरकारले जबरजस्त बनाएर चुनावमा नेपाली जनतालाई घोचटेको छ ।
त्यही चुनाव प्रचारकै क्रममा सबैले जितिसकेको छ । किनकि म हार्नलाई उठेको भन्ने कोही छैन ।
आफूले हार्दै छु भन्ने कोही दल र उम्मेदवार छैन । भलै उसको जमानत जफत किन नहोस् । प्रतिनिधि सभा सदस्य निर्वाचनको सिलसिला जारी हुँदै गर्दा निर्वाचन आयोगमा दर्ता भएका प्रायः सवै दल र स्वतन्त्र उम्मेदवारले भनाईमा जितिसकेका छन् ।
निर्वाचनको दिन पछिको नतिजा नआउँदै प्रचारप्रसारकै क्रममा सवै संगठित, असंगठित उम्मेदवारहरूले निर्वाचन जितिसकेको सिजोफ्रेनिया (नभएको चिज भएको भ्रम हुने) स्वघोषणा गरिसके । अव यसो हो भने हार्ने कोही छैन त ? चुनाव अघि यो ढंगको खोक्रो प्रचारको विजयले सबैले जित्दछन् । यसको टुङ्गो अंकगणीतीय हिसावले निर्वाचनको दिन जनताको मतदानले लगाउँदछ ।
यसो भएतापनि ती टिप्पणीकारले भने जस्तो निर्वाचनको नतिजा घोषणा भएपछि सबैले हार्दछन् । नहार्ने भए २०४८ सालदेखि चुनाव पटकौंपटक भएको छ तर त्यही चुनावपछि बनेका सरकार कुनैपनि टिक्दैनन ,सामान्य बहुमत, बहुमत वा दुई तिहाइ बहुमतको सरकार किन नहोस । सरकार बन्न शुरु हुँदादेखि द्वन्द्व, घात, प्रतिघात, तिक्डम र खरिद बिक्री खेल हुन्छ ।
केही दिनमै सरकार ढाल्ने खेल चल्दछ । तसर्थ चुनाव पछि सबै हार्छन । आखिर त्यो जिताई निरर्थक भई हारमा परिणत हुन्छ । बहुमतले विजय होस वा अल्पमतले, केही अर्थ राखेन । यसो किन हुन्छ भन्दा जितेकाले हारको स्वार्थी नीति र हारेकाले भत्काउने रणनीति अवलम्वन गर्न थाल्दछन् ।
जित्नेको रचनात्मक साथै सकारात्मक भूमिका नहुने, विजयको दम्भले विवेक गुमाउने र हार्नेले धाँधलीको आरोप सहित प्रतिशोधको भावना सक्रिय पार्ने हुँदा त्यहीँनिरवाट सबैले हार्न शुरु हुन्छ । जो हाम्रो मुलुकमा पुष्टी भइसकेको छ ।
यस्तो आरोप प्रत्यारोप त विकसित अविकसित सवै मुलुकहरूमा हुने विभिन्न खाले चुनाउमा पनि हुने गरेको पाईन्छ । निर्वाचित पक्षले दमन शुरु गर्ने र विपक्षहरूले चुनाव नै रद्ध गर्नुपर्ने माग सहित आन्दोलन नै भएको पनि देखिन्छ । यसले कताकता ‘निर्वाचन नै धाँधलीको खेल रहेछ’ भन्ने निचोडमा पु¥याउँछ ।
‘धाँधली’ को प्रारम्भिक रूप ‘आचारसंहिता उल्लंघन’ हो । निर्वाचन आयोगमा राजनीतिक दलहरूले लिखितरूपमै स्वीकारेको साझा प्रतिवद्धता ‘निर्वाचन आचारसंहिता’ लाई आ–आफैले लत्याउनु र शक्तिको आडमा मनलाउँदी ढंगले चुनाव प्रचारमा उत्रनुले भोलिको भ्रष्ट नियतको पेश्की हो भन्ने संकेत गर्दछ ।
ठूला वा साना सबै दल तथा जिम्मेवार ठान्ने पार्टीबाट यो वा त्यो रूपमा आचारसंहिता उल्लंघन हुनु अत्यन्त लाजमर्दो र अशोभनीय कार्य छ । यही ढंगका कार्यहरू प्रायः सवै दलबाट भएका छन् । ‘मात्रा’ र ‘रूप’ मा फरक परेतापनि कोही अछुतो छैनन् ।
सार संक्षेपमा प्रष्ट के छ भने ‘जसरी भएतापनि चुनाव जित’ मा गएका हुन्छन् । तन, मन, धन लगाउने मात्र होइन ‘साम, दाम, दण्ड भेद’ प्रयोग गर्ने नीति नै चुनावी प्रधान नीति देखिन्छ । राजा महेन्द्रले गराउने चुनावदेखि पञ्चायत हुँदै बहुदलीय प्रणाली तथा लोकतन्त्रसम्मका निर्वाचनमा उही पारा हुनुले निर्वाचनको मान्यता र मूल्यप्रति निकै व्यंग्य भएको छ । यसै कारणले गर्दा निर्वाचन औपचारिकतामा मात्र समिति हुने गरेको छ । औचित्य हिन हुन पुगेको छ । समाधान होइन समस्या बढाउने जन लाइसेन्स भएको छ ।
जसरीपनि चुनाव जित्नुको कारण के छ ? राज्य सत्ताको बागडोर आफ्नो अधिनमा लिएर मुलुक खानु छ । सार्वजनिक र प्राइभेट मिडियाले बनाएको नेताले के गर्लान । हर डिजिटल माध्यमले समेत प्रभाव पर्ने कोसिस गरिएको छ । विभिन्न नाममा विभिन्न ढंगले मतदाताहरूलाई प्रभाव पार्ने काम भईरहेको छ । पैसादेखि सरसामान, लत्ताकपडा आदिको दानसँग मतदान साटिदै छ ।
यस्तो गतिविधिप्रति निर्वाचन आयोग मात्र साक्षी बसेको पाउँछौं । मतदानमा संख्या प्रधान हुने रहेछ । बौद्धिक, अबौद्धिक वा ज्ञानी, अज्ञानी वा मूर्खको मत भन्ने मतलव नहुँदो रहेछ । यसकारण होला धन वा बल वा फल भाकाहरूलाई त पार्टीले खोजीखोजी सम्मान साथ आफ्नो बनाउन हानथाप गर्दा रहेछन् । त्यसर्थमा यसलाई ‘मतदान’ (उमेर पुगेका व्यक्तिले त्यतिकै दान गरिदिने) भनेको रहेछ ।
जहाँ विचार, विमर्श, विश्लेषण र संलेषण मौन रहँदो रहेछ । दयामाया गरेर गरिखाउ भनी मत चढाउने काम पो रहेछ । अव जहाँ निर्वाचन होइन ‘निर्वाचन’ (वचन वा वोली नरहने, चुप रहने, मौन भईदिने) मा परिणत भएको छ । यस्तै हो भने छ दलीय बहिस्कार नीतिलाई किन अवलम्बन नगर्ने भन्नैपर्ने हुन्छ । तर चुनाव भनेपछि हामी छलकपट र जालझेल मात्रै देख्छौं । चुनाव आएपछि सबै उम्मेदवारले किसानको काम गर्छन ।
मजदुर बन्छन । खेतबारीमा गएर काम सघाउँछन । बारी जोति दिन्छन । ट्याक्टर, साइकल चलाईदिन्छन । हलो जोतिदिन्छन । जेरी पकाउँछन । आदि आदि नौटंकी गर्छन । जब चुनाव आउँछ, देश सिंगापुर बन्छ । युरोप बन्छ । चाइना, जापान, अष्टेलीयन तहको बिकास र सम्बृद्धि आउँछ । देशको सबै भूभागमा सबै बन्छ । बाटो, रोड, नहर, बन्छ । उद्योग खुल्छ । कलकारखाना स्थापना हुन्छ । महंगी घट्छ ।
किसानले, मजदुरले सुकुम्बासीले सबै पाउँछन । खोला नै नभएको ठाउँमा पनि पुल बन्छ । उम्मेदवार र दलहरूबाट घोषणा गर्न बाँकी केहि रहंदैन । सुन्दर सम्बृद्द नेपाल, सुखी नेपाली तुरुन्तै भइहाल्छ । तर चुनाव सकिने बित्तिकै उल्टो हुन्छ । जेन जी आन्दोलन हुनुको अगाडीको भयाबह अवस्थामा पु¥याउँछ मुलुक । राजनीतिक दल भनेका नेपाली जनताको अभिभावक तथा प्रतिनिधिमूलक संगठन हो ।
जनताको इमान्दारिता, सोझो र निर्दोषपनको फाइदा उठाउने र वेइमान गर्नु उचित होइन । राजनीतिक संगठन माने दलहरू सकारात्मक र रचनात्मक प्रतिस्पर्धी बन्न सक्नुपर्दछ । दलीय या सांगठनिक मित्रता, सद्भाव र सदाचार कायम राखी अघि बढ्न सक्नुपर्दछ । निर्वाचनलाई काम गर्ने अवसरको रूपमा हेरिनुपर्छ । जीत र हारलाई सहर्ष स्वीकार गर्ने वानी बसेमा राष्ट्रमा सोचे अनुरूप काम हुन्छ । चेस गेममा झैं एकले अर्कालाई अड्काउने कुनियत राख्नै हुँदैन । त्यसो हो भने देश समस्याको भूमरीमा मात्रै घुमिरहने पर्ने परिस्थिति आउँदैन ।
प्रजातन्त्र या लोकतन्त्रको मुटु चुनाउ हो भने यसलाई दलीय स्वार्थको मुटु बनाउने र लुटतन्त्रको मेरुदण्ड बनाउने बदनियत राख्नु हुँदैन । यो संसदीय चुनाउ पनि होइन जहाँ सरकार बनाउन र राज्यको हालिमुहाली समालेर रजाई गर्ने प्रयोगजनको खातिर होस् ।
यो त आजसम्म नेपाली जनताले विभिन्न ऐतिहासिक सुनौलो कालखण्डहरूमा त्याग, तपस्या र बलीदानले ओतप्रोत भएको क्रान्ति, युद्ध विद्रोह आन्दोलन मार्फत प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्रको मेरुदण्डको हैसियत राख्ने जनताको नयाँ संविधान सभाको चुनाउ हो ।
एक युगमा मात्र एक पटक आउने जनसंविधान निर्माण गर्ने अहंम महत्वको चुनाव हो । साझा चुनाव हो । यसलाई हार र जीतको चुनाउको रूपमा होइन सवैको साझा सहभागिता अर्थात समावेशिकरणको भूमिका राख्ने चुनाउ हो भन्ने अभिष्ठका साथ लिँदा अति शोभायमान, मर्यादित र निष्ठावान हुन्थ्यो । तैछाड र मैछाड होइन आपसी सद्भाव, सद्इच्छा र मित्रता साथ सम्पन्न गरेमा सार्थक संविधान सभा चुनाव हुन जान्छ ।
प्रचार प्रसारको क्रममा आपसी बेमेल, वैमनुष्यता तिक्डम, षडयन्त्र स्वरूपका झैंझडा, काटमार लडाई, भिडाई सहित आचारसंहिता उल्लंघन गरेका गतिविधि प्रति सवै सरोकारवाला दल र पक्षहरूले आत्मालोचना र क्षमायाचना गर्दै साझा ढंगले लाग्दा उत्तम हुन्छ । यो निर्वाचनलाई १५ सालको जस्तो राजशक्ति र जनशक्तिवीचको जस्तो, ०३६ सालको जस्तो वहुदल र निर्दल वीचको जस्तो र ०४८ सालको पुरानो पञ्च, काँग्रेस र कम्युनिष्ट त्रिपक्षीय शक्तिवीचको जस्तो ठानिनु हुँदैन ।
यो त सवैको साझा लोकतान्त्रिक संघीय गणतान्त्रिक शक्तिसामु भइरहेको ‘साझा एजेण्डा संविधानसभा’ को चुनाउ हो भन्नेमा ध्यान केन्द्रित गर्नु जरुरी छ । यसमा जनपक्षको पनि भूमिका महत्वपूर्ण रहन्छ । अझ भन्ने हो भने युवा पुस्ताले अत्यन्त संवेदनशील र विवेकशील भई भूमिका खेल्नु अत्यावश्यक छ । अव एक्काइसौं शताब्दीमा कसैको लहलहैमा नलागि आफ्नो विवेक, वौद्धिकता र तार्किक क्षमतालाई उच्च बनाउँदै मतलाई जाहेर गर्नुपर्नेछ । निरिह र अन्धो भक्त मतदाता बन्ने होइन सक्रिय र जिम्मेवार नागरिक बन्नुपर्छ ।
त्यो हैसियत क्षमता वालाले यहि रूपको प्रभाव पारेमा ‘धाँधली’ निश्चित रूपमा निषेध होला । अव त मलाई लाग्छ एक खालको निर्दलीय मतलव दलको अन्धो भक्त नभएर व्यक्ति असल वा खरावको लेखाजोखाको आधारमा मत जाहेर होला !
युद्धमा होमिएका र नहोमिएका सवै जनताले ठूलो आशा गरेको थियो एमाओवादीबाट । सत्तामा गए पछि नचिताएको परिवर्तन ल्याउँछ, समानता र स्वाधिनताको अभ्यास गराउँछ र प्रायः अभावका जनपक्षीय समस्याहरू समाधान दिन्छ भन्ने धैर्यतापूर्ण आशा निराशामा वदलिदियो । सवै सरकार उहि बुर्जुवा वर्गको कार्यभार चलाउने समिति सावित भयो ।
संसद उनैको गफ गर्ने अखडा, खसीको टाउको रूपी सपना देखाएर कुकुरकै मासु बेच्ने (व्यवहारमा झुट, बेइमानी गर्ने जस्तो) थलो सावित भयो । आखिर इट्टा बनाउने संसदीय चापीभित्र एमाओवादी रंगका राजनीतिक माटो पनि उही इट्टानै बनेर निस्के । काँग्रेस र एमाले नै भएर निस्के ।
रास्वपा सहित अरू नयाँ दल पनि हुने त्यही हो ।