© 2026
काठमाडौं ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा अर्घाखाँचीको पाणिनि गाउँपालिका देशभरिकै सबैभन्दा अब्बल सावित भएको छ ।
आयोगले गरेको ७ सय ५३ स्थानीय सरकारको मूल्यांकनमा पाणिनि गाउँपालिकाले कुल ८३.८४ अंक प्राप्त गरी पहिलो स्थानमा रहेको हो । आयोगले बिहीबार मूल्यांकनको नतिजा सार्वजनिक गरेको छ ।
देशभरि ८० अंक कटाउने चार स्थानीय तह छन् । तीमध्ये अर्घाखाँचीको पाणिनि, गुल्मीका दुई र रुकुम पश्चिमको एक गाउँपालिका रहेका छन् ।
स्थानीय तहका १७ सूचकमा मूल्यांकन गर्दा रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले ८२.१५ अंक पाउँदै दोस्रो स्थान हासिल गरेको छ । गुल्मीको मालिका गाउँपालिकाले ८१.९८ अंक र धुर्कोट गाउँपालिकाले ८०.५२ अंक पाउँदै उत्कृष्ट गाउँपालिकाको सूचीमा स्थान बनाएका छन् ।
मूल्यांकनका सूचकमा १० असारभित्र बजेट सार्वजनिक नगर्नु, असार मसान्तभित्र बजेट पारित नगर्नु, आर्थिक वर्ष २०८१/८२ मा घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करको ४० प्रतिशत रकम मासिक प्रदेश सञ्चित कोषमा दाखिला नगर्नु, आगामी आवको बजेट प्रक्षेपण सहित विवरण अर्थ मन्त्रालयमा बुझाउन नगर्नु, बजेट समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक नगर्नु लगायत रहेका छन् ।
त्यसैगरी राजस्व परिचालन, बजेट खर्चको अवस्था, बेरुजु, सूत्र सफ्टवेयर प्रयोग, विद्यार्थी भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, गर्भ जाँच गर्ने महिला अनुपात, एसईई परीक्षाको नतिजा र खोप लगाएका बालबालिकाको अनुपात समेत मूल्यांकनका आधारमा राखिएको छ ।
मूल्यांकन अनुसार रुपन्देही जिल्लामा सिद्धार्थनगर नगरपालिकाले ६८.४६ अंक पाउँदै जिल्लामा प्रथम स्थान हासिल गरेको छ । तिलोत्तमा नगरपालिका दोस्रो (६६.५४ अंक) र कञ्चन गाउँपालिका तेस्रो (६४.५५ अंक) स्थानमा छन् ।
बाँकेको खजुरा गाउँपालिका ७१.९९ अंकसहित प्रथम, कोहलपुर नगरपालिका ६५.७६ अंकसहित दोस्रो र बैजनाथ गाउँपालिका ६४.०६ अंकसहित तेस्रो भएको छ ।
देशका ६ महानगरपालिकामध्ये मोरङको विराटनगर महानगरपालिका कार्यसम्पादनमा उत्कृष्ट बनेको छ भने सबैभन्दा कमजोर काठमाडौं महानगरपालिका रहेको पाइएको छ । विराटनगरले ७८.११ अंक पाउँदै पहिलो स्थान कायम गरेको हो । दोस्रो स्थानमा ललितपुर महानगरपालिका (७६.३३ अंक) र तेस्रोमा चितवनको भरतपुर (६८.०४ अंक) रहेका छन् ।
आर्थिक वर्षको प्रदेशगत कार्यसम्पादनमा सुदूरपश्चिम प्रदेशले ४५.७० अंकसहित पहिलो स्थान हासिल गरेको छ भने मधेस प्रदेश सबैभन्दा कमजोर देखिएको छ । कोशी प्रदेश दोस्रो (४४.२९ अंक) र बागमती प्रदेश तेस्रो (४२.४६ अंक) स्थानमा छन् । गण्डकी प्रदेश ३७.९१, लुम्बिनी प्रदेश ३४.७१, कर्णाली प्रदेश ३२.२६ र मधेस प्रदेशले २७.२८ अंक प्राप्त गरेका छन् ।
प्रदेशहरूको मूल्यांकन ११ विभिन्न सूचकका आधारमा गरिएको हो । ती सूचकमा बेरुजुको अवस्था, स्थानीय तहलाई दिइएको अनुदान, राजस्व परिचालन र पुँजीगत खर्च लगायत समावेश थिए ।