© 2026
दाङ ।
दाङको काटाकाटे क्षेत्रमा टिप्पर र अटो रिक्सा एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका–१ काटाकाटे निवासी ३६ वर्षीय जोर कुमार पुन रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीका अनुसार आज बिहान सवा ६ बजेको समयमा भालुवाङबाट कालाकाटेतर्फ जाँदै गरेको ना ८ ख ३२६४ नम्बरको टिप्पर र कालाकाटेबाट भालुवाङतर्फ आउँदै गरेको रा १ ह ७३५५ नम्बरको अटो एक आपसमा ठोक्किएका हुन् । दुर्घटनामा गम्भीर घाइते भएका अटो चालक पुनलाई उपचारका लागि भालुवाङ अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक पुनको शव हाल भालुवाङ अस्पतालमा राखिएको छ ।
दुर्घटनामा संलग्न टिप्पर र चालकलाई इलाका प्रहरी कार्यालय गढवाले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक डबल बहादुर बमले जानकारी दिए । अटोमा विद्यालय जान लागेको ५ जना विद्यार्थी सवार रहेको र उनीहरू सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।