Butwal Today

नालन्दा विद्यालयमा स्वाद र सिकाइको उत्सव — विद्यार्थी आफैं बने शेफ र व्यवसायी

२९ माघ २०८२, बिहीबार
अ+
अ-

भैरहवा ।

नेपाल नालन्दा आवासीय माध्यमिक विद्यालय, भैरहवाले आफ्नो वार्षिक क्यालेन्डरअनुसार ३०औँ वार्षिकोत्सवको अवसरमा फुड फेस्टिभल आयोजना गरेको छ ।

विद्यार्थीहरूलाई पढाइसँगै जीवनोपयोगी ज्ञान र सीपमा निपुण बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ ।

विद्यालयका प्राचार्य युवराज पोखरेलका अनुसार विद्यार्थीहरूमा लुकेर रहेको क्षमता उजागर गर्दै पाककला जस्ता व्यावहारिक सीपसँग जोड्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको हो । “विद्यार्थीहरूले आफैं पकाउने र बिक्री वितरण गर्ने क्रममा श्रम, व्यवस्थापन र जिम्मेवारीबोध सिक्छन्,” उनले भने ।

गत वर्षदेखि सुरु गरिएको यस्तो कार्यक्रमले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई थप प्रेरणा र व्यवहारिक अनुभव प्रदान गर्ने विश्वास उनले व्यक्त गरे । उनका अनुसार यस्ता कार्यक्रमले विद्यार्थी, अभिभावक र समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने काम गर्छ ।

फेस्टिभलमा कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरूले सक्रिय सहभागिता जनाउँदै विभिन्न परिकार तयार पारेका थिए । पकौडा, मम, चाउमिन, थुक्पा, चिया, कुरौनी, बिरयानी, चिकेन चिल्ली लगायतका परिकार विद्यार्थीहरूले आफैं तयार गरी बिक्री वितरण गरेका थिए । कार्यक्रममा विद्यार्थी, अभिभावक तथा शिक्षकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

कक्षा ९ का विद्यार्थी फरान रजक खानले कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताए । “आफैं पकाएर बेच्दा धेरै कुरा सिक्न पाइयो । मेहनतको मूल्य बुझ्न र समूहमा काम गर्न सिकियो,” उनले भने ।

एक अभिभावकले विद्यालयले पढाइसँगै व्यवहारिक सीप सिकाउने प्रयास प्रशंसनीय रहेको प्रतिक्रिया दिए । “यस्ता कार्यक्रमले बच्चाहरूमा आत्मविश्वास बढाउँछ र उनीहरूलाई जीवनका लागि तयार बनाउँछ,” उनले बताए ।

विद्यालयले आगामी फागुन ७ गते ३०औँ वार्षिकोत्सव मनाउने तयारी गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?