© 2026
विराटनगर ।
मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालय परिसरमा आजदेखि अन्तरराष्ट्रिय सम्मेलन सुरू भएको छ । दुई दिनसम्म चल्ने सम्मेलन पूर्वाञ्चल विश्वविद्यालयले आयोजना गरेको हो । ‘हिमालय भविष्यको परिकल्पना दिगोपन र विकासको बाटो’ शीर्षकमा भएको सम्मेलनमा १९४ अनुसन्धानमूलक कार्यपत्र समावेश छन् । कला, कानुन र शिक्षा, व्यवस्थापन, इञ्जिनियरिङ, विज्ञान र प्रविधि, मेडिसिन एण्ड हेल्थ साइन्ससहित पाँच वटा विषयमा छलफल हुँदैछ ।
सम्मेलनको उद्घाटन गर्दै विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा देवराज अधिकारीले अन्तरराष्ट्रिय सम्मेलनको महत्वमाथि प्रकाश पारे। उनले यस्ता सम्मेलनले विकासमा, व्यवस्थापनमा, अन्तरराष्ट्रिय सम्बन्धमा, विश्वविद्यालयबीचका सम्बन्धमा ठूलो महत्व राख्ने बताए । पहिलो सत्रमा सिनासका कार्यकारी निर्देशक प्रा.डा मृगेन्द्रबहादुर कार्की र नर्वेका प्राध्यापक स्टेन डब्ल्यु वालेसले मुख्य वक्ताका रूपमा थिए भने दोस्रो सत्रको मुख्य वक्ताका रुपमा चुलालोङकम विश्वविद्यालय थाइल्याण्डका प्राध्यापक डा.किटाइङ आङसुली, स्टेट युनिभर्सिटी अफ इन्टर्नल अफेयर्स पोल्याण्डका प्राध्यापक राफल लिजुट र नर्थ वेष्ट युनिभर्सिटी दक्षिण अफ्रिकाका प्राध्यापक लुसिस बोटेज थिए ।
तेस्रो सत्रको प्रमुख वक्ताका रुपमा काठमाडौँ विश्वविद्यालयका प्रा.डा सुदन झा, बिएमएल युनिभर्सिटी भारतका प्राध्यापक अनिरुध अग्रवाल र एशिया प्यासिफिक ग्लोबल अलाइन्स फर ब्याङ्किङ अन भ्यालुज नेदरल्याण्डका उपेन्द्रप्रसाद पौड्याल थिए । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा.विजुकुमार थपलियाले अन्तरराष्ट्रिय सम्मेलनको उद्देश्य र महत्वका विषयमा जानकारी दिँदै सहभागी तथा अतिथिहरुको स्वागत गरेका थिए भने रजिष्टार प्राध्यापक डा.कल्याणी मिश्रले अतिथि र सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । रासस