© 2026
गण्डकी ।
पर्यटकीय राजधानी पोखरामा एक महिनादेखि नियमित रुपमा फोहर उठ्न सकेको छैन । सडकछेउ र चोकमा फोहर थुप्रिन थालेपछि पोखरा महानगरपालिकाले अल्पकालीन व्यवस्थापनका लागि ठाउँको खोजी गरिरहेको छ । पोखरा–३२ लामेआहालमा रहेको अस्थायी फोहर व्यवस्थापन केन्द्र भरिएपछि समयमा फोहर उठ्न नसकेको हो । महानगर प्रमुख धनराज आचार्यले एक÷दुई दिनभित्रैमा फोहर नियमित रुपमा उठाइने बताए ।
उनले फोहरको अल्पकालीन व्यवस्थापनका लागि महानगरका विभिन्न वडामा ठाउँको खोजी भइरहेको बताए । महानगरले बुधबार फोहर व्यवस्थापनका विषयमा सर्वपक्षीय र सर्वदलीय बैठक राखी सहयोगको प्रतिबद्धता मागेको थियो । उक्त बैठकले फोहर व्यवस्थापनमा महानगरलाई सघाउने निचोड निकालेको महानगरका इञ्जिनियर एवं ‘रिसाइकलिङ र अपसाइकलिङ मार्फत हरित रोजगारी सिर्जना परियोजनाका सहजकर्ता नेत्र तिमिल्सिनाले बताए ।
“अस्थायी रुपमा फोहर व्यवस्थापनका लागि ठाउँको खोजीमा लागिरहेका छौँ, आइतबारदेखि नियमित रुपमा फोहर उठ्ने वातावरण बन्छ”, उनले भने, “फोहर व्यवस्थापनमा महानगरबासीको सहयोगको खाँचो छ, कतैबाट अवरोध नहोस् ।” महानगरले फोहरको दीर्घकालीन व्यवस्थापनका लागि निजी क्षेत्रसँगको सहकार्यमा फोहर व्यवस्थापन केन्द्र निर्माण गर्ने योजना अघि बढाएको उनको भनाइ छ । उक्त केन्द्र निर्माण नहुँदासम्मलाई फोहरको अल्पकालीन व्यवस्थापन गरिने भएको हो ।
सडकमा मात्र नभएर घरघरमै फोहर थुप्रएिकाले तत्काल उचित व्यवस्थापन हुनुपर्ने स्थानीय वासीको माग छ । केही वर्षअघिसम्म पोखरा–१८ बाच्छेबुडुवामा रहेको ल्याण्डफिल्ड साइट निर्माण गरी फोहर व्यवस्थापन हुँदै आएको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपनि उक्त ल्याण्डफिल साइट बन्द गरिएको थियो । त्यसपछि पोखरा–३२ लामेआहालमा अस्थायी ल्याण्डफिल साइट निर्माण गरी फोहर व्यवस्थापन गरिँदै आएको थियो ।
पोखरामा हाल दैनिक एक सय ८० देखि दुई सय टनसम्म फोहर उत्पादन हुँदै आएको छ । फोहरलाई उद्यम र आर्थिक उपार्जनसँग जोड्न परियोजना सञ्चालन गरेको पोखरा महानगरपालिका लागि अनुत्पादक फोहरको व्यस्थापनमा भने चुनौती देखिएको हो ।
महानगरपालिकाले कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोगको आर्थिक सहयोग, संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रमको प्राविधिक सहयोगमा ‘रिसाइकलिङ र अपसाइकलिङमार्फत हरित रोजगारी सिर्जना परियोजना’ सञ्चालन गरेको छ । परियोजनामार्फत हाल अभ्यासमा रहेको प्रयोग गर्ने र फाल्ने थ्रो अवे को सट्टा चक्रीय अर्थतन्त्र प्रणालीमा आधारित रिसाइक्लिङ, अपसाइक्लिङ उद्यमहरू स्थापना गरी हरित अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने उद्देश्य लिइएको छ । रासस