© 2026
अबको तीन हप्तापछि प्रतिनिधि सभाको निर्वाचन हुँदै छ ।
यो निर्वाचनमा प्रमुख राजनैतिक दलका उम्मेदवारले आ–आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छैनन् तर घोषणापत्रको आशय अनुसारको निर्वाचन केन्द्रित प्रचार अभियानलाई तीव्रता दिएका छन् ।
उम्मेदवारको प्राथमिकतामा विकास मुख्य प्राथमिकतामा छ भने भ्रष्टाचार नियन्त्रण र सुशासनलाई प्रमुख चुनावी नारा बनाएका छन् । यसअघिको २०७९ सालको निर्वाचनमा पनि उम्मेदवारहरूले उस्तै नारा तय गर्दै मतदातामाझ भोट मागेका थिए ।
त्यसमध्ये निकै कम विजयी बनेर गए । फेरी निर्वाचन हाम्रो घर आँगनमा आएको छ । उम्मेदवारहरूको आश्वासको ललिपप फेरी वितरण हुँदै छ । तर, यस पटक मतदाताले विवेक पु¥याउनुपर्नेछ । किनभने यो निर्वाचन जेनजी आन्दोलनपछिको महत्त्वपूर्ण निर्वाचन हो ।
यो निर्वाचनले जीत हार भन्दा पनि कस्तो मुलुक बनाउने भन्ने दिशानिर्देश गर्दै छ । जेनजीको माग थियो–मुलुकबाट भ्रष्टाचार नियन्त्रण र सुशासन । यो निर्वाचन यही दिशामा केन्द्रित छ । अर्थात निर्वाचनपछि मुलुकमा सुशासनको जग बस्छ भन्ने विश्वास गरिएको छ ।
नेपालको सन्दर्भमा भ्रष्टाचारको मूल जरो राजनीति नै हो । त्यसपछि कर्मचारीतन्त्र हो । जनतामा चेतना र जागरुकताको कमी पनि भ्रष्टाचारको कारण हो । जसरी हुन्छ शक्ति र सत्ता हत्याएर त्यसको दुरूपयोग गरी आफ्ना मान्छेलाई भर्ती गर्ने अनि त्यसलाई दुहुनो गाई बनाउने काम भयो । सुशासनलाई तिलाञ्जली दिने काम भयो ।
यसले गर्दा भ्रष्टाचारीहरूलाई झनै संरक्षण मिलेको अवस्थामा व्याप्त असन्तुष्टी जेनजीको नाममा देखापरेको हो । तसर्थ भ्रष्टाचारको मूल जरो राजनीति नै भएकाले राजनीतिक तहबाटै भ्रष्टाचार निर्मूल गर्ने प्रयास नगरेसम्म यसको अन्त्य हुन सक्दैन ।
अव राजनीतिलाई सुङलो बनाउनेतर्फ ध्यान दिनु जरुरी छ । फागुन २१ गते हुने निर्वाचनका माध्यमबाट जनताले आफ्ना जनप्रतिनिधि छान्दै गर्दा भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा पहिलो काम गर्ने प्रतिवद्धता जनाउने दल मतदाताले रोज्नेछन् ।
अर्कोतर्फ नेपालको कर्मचारीतन्त्र ढिलासुस्ती र भ्रष्टाचारको पर्याय बनेको छ । सेवाग्राहीलाई गुणस्तरीय र छिटोछरितो सेवा दिनुपर्नेमा आलटाल गरेर टेबुलमुनिबाट मोटो रकम असुलेपछि मात्र काम गर्ने प्रवित्ति झनै बढ्दो छ । सेवाग्राहीहरू कर्मचारीको व्यवहारबाट आजित भएका छन् । यसको निदान अहिलेको चुनावी मुद्दा बन्नुपर्दछ र जनताले पनि यो हेक्का राख्नुपर्दछ ।
सुशासन र समृद्धि हामी सबैको शान र मान हो । तसर्थ यो निर्वाचनबाट जनताको जीवन परिवर्तन गर्नेगरी आर्थिक तथा राजनैतिक क्रान्तिको उहापोह हुने अपेक्षा आम मतदाताले गरेका छन् । सम्मृद्धि अव केवल नारामामात्रै सिमित हुनुहुँदैन ।
तसर्थ अवको दिनमा जनता नै सचेत र जागरुक भएर भ्रष्टाचार नियन्त्रणमा दलका उम्मेदवारलाई सकृय बनाउन लाग्नुपर्छ । भ्रष्टाचार नियन्त्रणको प्रमुख मुद्दा बनाउने पार्टीलाई मत दिने सवालमा जनताको ध्यान आकर्षित हुनुपर्दछ ।
अहिले कस्तो उमेदवारलाई मत दिने भन्ने प्रश्न महत्वपूर्ण बनिरहेको बेला सुशासन र भ्रष्टाचार नियन्त्रको मुद्दा उठाउने दल रोजाई बन्न सक्छ । अहिले मतदाता सचेत भैसकेका छन । पटकपटक जितेर जाने तर विकास नगर्ने नेता यो निर्वाचनमा तिरस्कारमा पर्ने जोखिम छ ।
मतदाताले तीन दशकदेखि विकास र समृद्धिका सपना देख्दै आएका छन् । अव सम्मृद्धिका सपना देख्नेमात्रै होइन, पूरा गर्न सक्ने दललाई जिताउनेतर्फ मतदाताको ध्यान जानु जरुरी छ । अहिले जमाना भाईरलको छ ।
तसर्थ उम्मेदवारको क्षणिक ललिपपमा आकर्षित हुने कि दिर्घकालसम्म विकासको पर्याय बन्न सक्ने उम्मेदवार चयन गर्ने भन्ने कुरा अव आम मतदाताको विवेकमा भर पर्नेछ । तसर्थ बर्षाको भेलमा उर्लिने खहरे होइन, अविरल बग्ने नदी बन्न सक्ने उम्मेदवारलाई मतदाता गर्नेतर्फ ध्यान जाओस् ।त