© 2026
काठमाडौँ ।
नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले नेपाली राजनीतिमा भारतको प्रभाव परेको टिप्पणी गरेका छन् ।
बुधबार अनामनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता चालिसेले वर्तमान राजनीतिक अवस्थाबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनले अहिलेको निर्वाचन प्रक्रिया राष्ट्रपतीय प्रणालीजस्तो देखिन थालेको टिप्पणी गर्दै कांग्रेस भने संसदीय व्यवस्थाकै पक्षमा रहेको बताए ।
उनका अनुसार, राष्ट्रपतीय प्रणालीको झल्को दिने ढाँचामा निर्वाचन हुँदै जाँदा आफूहरूलाई त्यतातिर धकेलिएको अनुभूति भएको छ । संसदीय प्रणालीलाई सुदृढ बनाउँदै अघि बढ्नुपर्नेमा उनले जोड दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) एकीकृत भएको विषयमा पनि चालिसेले प्रतिक्रिया दिएका छन् । उनले उक्त गठबन्धन स्वाभाविक नभई गराइएको दाबी गर्दै भने, “रवि र बालेनले रहरले गठबन्धन गरेका होइनन्, यो गराइएको गठबन्धन हो । ठगी प्रकरणमा मुछिएर आकर्षण घटेपछि अर्कोलाई ल्याएर राखिएको हो ।”
त्यस्तै, कांग्रेस सभापति गगन थापा र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहबीच तुलना हुन नसक्ने उनले बताए । उनले कांग्रेसको राजनीतिक अनुभव, संगठनात्मक आधार र नेतृत्व क्षमता फरक रहेको उल्लेख गरे ।