© 2026
काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसहित हाई प्रोफाइललाई धम्की दिएको आरोप लागेका प्रकाश पाठकलाई नेपाल ल्याइएको छ । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा उनलाई पक्राउ गरी बुधबार नेपाल ल्याइएको हो ।
काभ्रे स्थायी घर भएका पाठकलाई फिलिपिन्सबाट नेपाल ल्याइएको काठमाडौँ प्रहरी परिसरका एसएसपी रमेश थापाले जानकारी दिए । पाठकविरुद्ध इन्टरपोलमार्फत ‘डिफ्युजन नोटिस’ जारी गरिएको थियो । नोटिस जारी भएपछि उनी फिलिपिन्समा रहेको पत्ता लागेको थियो ।
पाठकले सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो तथा अडियो सन्देश सार्वजनिक गर्दै अख्तियार प्रमुख राईसहित करिब १० जना उच्च पदस्थ व्यक्तिलाई ज्यान मार्ने धम्की दिएका थिए । धम्की दिएपछि उनी भारत र इन्डोनेसिया हुँदै फिलिपिन्स पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
आफूलाई उग्रवादी संगठनको अध्यक्ष दाबी गर्ने पाठकलाई पक्राउ गरी नेपाल ल्याउन इन्टरपोल शाखाका एसपी रुपेश खड्का र जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना प्रहरी निरीक्षक फिलिपिन्स गएका थिए ।
सामाजिक सञ्जालमा सार्वजनिक सामग्रीमार्फत पाठकले लोकमानसिंह कार्की, गोपालबहादुर खड्का, रमेश लेखक, बालकृष्ण खाण, आरजु राणा, ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरी र दुर्गा प्रसाईंलगायत व्यक्तिलाई ज्यान मार्ने धम्की दिएका थिए ।
यसअघि पाठकसँग सम्बन्धित रहेको आशंकामा तीन जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा धादिङका शरणजङ्ग शाही, सर्लाहीका तोरण थापा मगर र बर्दियाका धिरेन्द्र सुनार रहेका छन् ।