Butwal Today

विकासमुखी नेतृत्वको माग

२८ माघ २०८२, बुधबार
अ+
अ-

सल्यान ।

सल्यानका कतिपय मतदातामा चुनावप्रति अपेक्षित उत्साह र चासो कम देखिएको छ । पटक पटक निर्वाचन भए पनि आफ्नो जीवनस्तर र गाउँ ठाउँको विकासमा सोचे अनुसार परिवर्तन नआएको भन्दै केही मतदाताले चुनावप्रति चासो नभएको बताएका हुन् ।

यद्यपि उम्मेदवारसँग भेटघाटका क्रममा अधिकांश मतदाताले विकास र परिणाममुखी नेतृत्वको अपेक्षा राखेका छन् । मतदाताहरूले विगतमा निर्वाचित केन्द्रीय प्रतिनिधिहरूले चुनावताका गरेका प्रतिबद्धता कार्यान्वयन हुन नसकेको गुनासो गर्दै यस पटक व्यवहारमा देखिने काम चाहिएको बताएका छन् ।

त्रिवेणी गाउँपालिका वडा नं. ३, टोड्केका स्थानीय हिरासिंह वलीले आफ्नो क्षेत्रमा मोटर बाटोको स्तरोन्नति अत्यावश्यक रहेको बताए । बाटोको अवस्था कमजोर हुँदा दैनिक आवतजावत, कृषि उपजको ढुवानी र सेवा सुविधामा समस्या आएको उनको भनाइ छ ।

त्यस्तै कालीमाटी गाउँपालिका वडा नम्बर ५ खैरलाकी गीता कुमारी गाहाले मोबाइल नेटवर्क विस्तार, सडक स्तरोन्नति तथा जुम खोलामा तटबन्ध निर्माणजस्ता योजना तत्काल आवश्यक रहेको बताइन ।

सञ्चार, सडक र बाढी नियन्त्रण जस्ता आधारभूत समस्या समाधान भए मात्रै गाउँको विकासले गति लिने भएकाले यसतर्फ विगतका प्रतिनिधिले काम नगरेको र अबका प्रतिनिधिले प्राथमिकतासाथ दुर्गम क्षेत्रको विकासमा काम गर्नुपर्ने स्थानीयहरूको माग छ ।

कालीमाटी क्षेत्रका मतदाताहरूले प्रशस्त उर्वर फाँट हुँदाहुँदै पनि सिँचाइ सुविधाको अभावले कृषि उत्पादन अपेक्षित रूपमा बढ्न नसकेको गुनासो गरेका छन् । उनीहरूका अनुसार स्थानीय सरकारबाट सडक, खानेपानी, शिक्षा र स्वास्थ्य क्षेत्रमा केही सकारात्मक प्रयास भए पनि सङ्घीय सरकारबाट पर्याप्त बजेट, योजना र प्रभावकारी कार्यान्वयन हुन नसकेको छ ।

यसै गरी बाँके राष्ट्रिय निकुञ्जबाट प्रभावित कालीमाटी गाउँपालिका ७, ६ र ५ नम्बर वडाका स्थानीयले बाघ आतङ्कलाई प्रमुख समस्याका रूपमा उठाएका छन् ।

वडा नम्बर ७ का नेत्रलाल बुढाका अनुसार निकुञ्जबाट निस्कने बाघका कारण मानिसको ज्यान जाने, पशु चौपाया मारिने र घरबाहिर निस्कनसमेत त्रास हुने अवस्था छ । उनले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि प्रभावकारी कार्यक्रम तत्काल आवश्यक रहेको बताए ।

कालीमाटी, ६ का प्रेम पुनले भने निर्वाचनको माहौलले आफूलाई खासै नछोएको बताए । “हामी त दैनिक काममै व्यस्त छौँ, चुनावप्रति धेरै चासो छैन,” उनले भने, “तर इमानदार नेताले जितेर व्यवहारमै देखिने काम गरिदिए हुन्थ्यो भन्ने चाहना छ ।”

समग्रमा सल्यानका मतदाताहरूले भाषण र प्रतिबद्धतामा सीमित नभई व्यवहारमै परिणाम देखिने, स्थानीय समस्या बुझ्ने र जनतासँग निरन्तर सम्पर्कमा रहने नेतृत्वको आवश्यकता औँल्याएका छन् ।

विगतका प्रतिनिधिहरू चुनावपछि राजधानी केन्द्रित राजनीतिमा सीमित हुँदा स्थानीय आवश्यकता र प्राथमिकता ओझेलमा परेको र जसका कारण विकास योजना अधुरा वा कागजमै सीमित हुने अवस्था आएको मतदाताहरूको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?