Butwal Today

हुनैपर्ने कामहरू पनि अख्तियारलाई देखाएर पन्छ्याउने प्रयास: मुख्यमन्त्री आचार्य

२८ माघ २०८२, बुधबार
अ+
अ-

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हुनैपर्ने कामहरू पनि अख्तियारलाई देखाएर पन्छ्याउने प्रयास भइरहेको र त्यसको मारमा प्रदेश सरकार परिरहेको बताएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औं स्थापना दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले बुधवार आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले आयोगले पठाएको २१ बुँदे निर्देशनका कारण कतिपय गर्नैपर्ने काममा बाधा उत्पन्न भएको भन्दै आयोगको ध्यानाकर्षण गराए ।

‘सुशासन प्रवद्र्धन गर्न र भ्रष्टाचार अन्त्यका लागि लुम्बिनी प्रदेश सरकारले रणनीतिक योजना बनाएर काम अघि बढाइसकेको छ । सात वटा प्रदेशमध्ये लुम्बिनी प्रदेश अग्रस्थानमा छ । तर, आज अख्तियारलाई देखाएर हुनैपर्ने काम नहुँदा सरकार मारमा परेको छ’ उनले भने–‘सरकारले बजेट छुट्याएको छ । तर, कार्यान्वयन हुन सकेको छैन । यस प्रकारका विषयमा अख्तियार व्यवहारिक हुनुपर्छ भन्ने मेरो बुझाइ छ । गल्ती गर्ने कर्मचारीलाई कठघरामा उभ्याउनुपर्छ । तर, एउटा बेनामे उजुरीको भरमा पटकपटक कर्मचारीले स्पष्टीकरण दिनुपर्दा कर्मचारीको मनोबल घटेको छ । यो कुरालाई हेक्का राख्न जरुरी छ भन्ने ठानेको छु ।’

मुख्यमन्त्री आचार्यले कतिपय गर्नैपर्ने काम पनि अख्तियारको सिरान हालेर नगर्ने प्रवृत्ति बढ्दै गएको बताए । ‘यो कुरा विगत वर्षहरूमा पनि जोड दिएर भनेको थिएँ । विकास निर्माणका कामहरू अघि बढाइरहेका छौं । कतिपय कामहरू ऐलानी तथा सार्वजनिक जग्गामा गर्नुपर्ने हुन्छ । तपाईंहरूले परिपत्र गरिदिनुहुन्छ, राज्यको त्यो ठाउँमा लगानी भइसकेको छ, पुर्जा नभएका ठाउँमा लगानी नगर्नु भनेर पत्र पठाइदिनुहुन्छ’उनले भने,‘राज्यको त्यहाँ करोडौं लगानी भइसकेको छ । भवन अधुरा छन् । खेल मैदान बनिरहेका छन् । अहिले आएर पुर्जा खोजिन्छ ।’

मुख्यमन्त्री आचार्यले सबै अङ्गहरूले आ–आफ्नो क्षेत्राधिकारभित्र रहेर काम गर्नुपर्ने बताए । ‘अख्तियारले हान्ने हो भने फिनि चोर्ने ठाउँमै हान्न सक्नुप¥यो । त्यो भएको छ कि छैन, त्यसको आत्मसमीक्षा गर्न जरुरी छ’ उनले भने–‘अर्को कुरा, आज हामी करप्सनका कुरा उठाइरहेका छौं । करप्सन कहाँबाट कसरी भइरहेको छ, कसले गरिरहेको छ, यसको पनि चुरो कुराको खोजबिन हुन जरुरी छ भन्ने मलाई लाग्छ । आज पनि त्यसको गाली राजनीतिक नेतृत्वले खाइरहेको छ । यसको अन्त्य हुन जरुरी छ । होला राजनीतिक नेतृत्वभित्रका दुई चार जना मान्छे बेठिक होलान् । तर, सबै आम रूपमा बेठिक छैनन्, किमार्थ छैनन्, यो म दाबीका साथ भन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?