Butwal Today

प्रहरी र सञ्चारकर्मीबीच सहकार्य गर्ने सहमति

२८ माघ २०८२, बुधबार
अ+
अ-

रसुवा ।
आधुनिक सूचना प्रविधिको प्रयोग गरी समाचार सामग्री सङ्कलन तथा सम्प्रेषण कार्यलाई अझ छिटोछरितो, व्यवस्थित र प्रभावकारी बनाउने विषयमा जिल्लास्थित प्रहरी र सञ्चारकर्मीबीच सहमति भएको छ । सुरक्षा अधिकारी र सञ्चारकर्मीबीच आज भएको भेटघाट तथा अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले आपसी सूचना आदानप्रदान कार्यलाई चुस्तदुरुस्त र प्रविधिमैत्री बनाउने सन्दर्भमा द्विपक्षीय सहयोग र सहकार्य हुनुपर्नेमा जोड दिएका थिए ।

प्रहरी नायब उपरीक्षक अशोक थापाले जिल्लास्थित प्रहरी सङ्गठन प्रमुखको जिम्मेवारी सम्हालेपछि धुञ्चेमा आयोजना गरिएको सो कार्यक्रममा महत्वपूर्ण सूचना प्राप्त हुनासाथ सञ्चारकर्मीलाई जानकारी गराउने प्रतिबद्धता व्यक्त गरे। यसैगरी सञ्चारकर्मीले पनि आफूसँग भएका सूचना सामग्री सुरक्षा निकायलाई उपलब्ध गराउने विश्वास व्यक्त गर्दै जिल्ला प्रहरी प्रमुख थापाले आपसी सहयोग र सहकार्यलाई बढवा दिई व्यावसायिक ढङ्गबाट पेसागत भूमिका निर्वाह गर्ने पक्षमा आफू रहेको स्पष्ट पारे। उनले दुर्गम हिमाली जिल्ला रसुवाका सञ्चारकर्मीलाई ह्वाट्सएप ग्रुपमा जोडेर यथासक्य छिटो एकैचोटी समाचार सम्प्रेषणको व्यवस्था गरी आमजनतालाई सुसूचित गर्न प्रहरी तयार रहेको बताए। कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले समाचारका दृष्टिले महत्वपूर्ण स्रोतका रुपमा रहेको नेपाल प्रहरीबाट स्वस्फूर्तरुपमा प्राप्त हुने आधिकारिक समाचार सामग्रीलाई प्राथमिकतासाथ सम्प्रेषण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजु शाहले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरी आवश्यक सुरक्षा तयारी गरेको, निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका ७५ महिलासहित ३६९ जना निर्वाचन प्रहरीलाई आवश्यक तालिम दिएको र सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी निर्वाचन प्रहरीलाई मतदान केन्द्रमा खटाउने प्रक्रिया अघि बढेको जानकारी र्दिए । प्रहरी निरीक्षक शाहका अनुसार सदरमुकाम धुञ्चेमा जिल्ला प्रहरी कार्यालय रहेको रसुवा जिल्लामा दुई इलाका प्रहरी कार्यालय, १० प्रहरीचौकी र तीन अस्थायी प्रहरी पोस्टमार्फत सुरक्षा व्यवस्था कायम गरिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?