Butwal Today

प्रशासनको चेतावनीबीच रविको चुनाबी कार्यक्रम: ‘निषेध’ गरिएको ठाउँमै भाषण गर्दै मागे भोट

२७ माघ २०८२, मंगलवार
अ+
अ-

बुटवल। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले मंगलबार पश्चिम नवलपरासीको ११ वटा स्थानमा चुनावी कार्यक्रममा सहभागी भएका छन्। चुनाबी आचारसंहिता उल्लंघन नगर्न निर्वाचन कार्यालयको आग्रहलाई वेवास्ता गर्दै रविले सभाहरु गरे र सम्बोधन गरे।

जिल्लाको मुख्य बजार क्षेत्र सुनवल, परासी, बेलासपुर, महेशपुर, भुजहवा, सूर्यपुरा, बेलाटारी, रुपौलिया, गोपिगञ्ज, जिमिरेभार र बर्दघाटमा मतदाता भेटघाट र चुनावी कार्यक्रममा उनी सहभागी भएका हुन्।

जिल्ला प्रशासन कार्यालयले सोमबार आचारसंहिता विपरितका कार्यक्रम नगर्न सूचना प्रकाशित गरे पनि लामिछानेको सहभागितामा जिल्लाको दुई वटै क्षेत्रमा चुनाव लक्षित कार्यक्रम आयोजना गरिएको थियो।

चुनाव लक्षित कार्यक्रममा बोल्दै लामिछानेले परिवर्तनका लागि एकजुट हुन र फागुन २१ लाई परिवर्तनको दिनको रुपमा प्रयोग गर्न आग्रह गरे। उनले ठाउँठाउँमा सभा गर्दै गाडीबाटै सम्बोधन गरेका थिए। लामिछानेको सचिवालयका अविनाश आचार्यले कार्यक्रम नियमित रुपमा भइरहेको बताए।

सोमबार जिल्ला प्रशासन पश्चिम नवलपरासीले निर्वाचन आचारसंहिता उल्लंघन नगर्न रास्वपा पश्चिम नवलपरासीलाई आग्रह गरेको थियो । यस्ता कार्यक्रम निर्वाचन आचारसंहिता विपरीत हुने आचारसंहिता विपरीतका गतिविधि नगर्न प्रशासनले सूचना जारी गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी एवं आचारसंहिता अनुगमन अधिकृत पोषनराज भण्डारीले प्रतिनिधि सभा सदस्यको आसन्न निर्वाचनलाई निष्पक्ष बनाउन रास्वपाको ‘जनसम्पर्क तथा घण्टी अभिवादन’ कार्यक्रम आचारसंहिता प्रतिकूल हुने बताए। ‘हामीले कार्यक्रम नै रोक्नुपर्छ भनेका होइनौँ, तर आचारसंहिताको दायरा नाघ्न पाइँदैन,’ भण्डारीले भने, ‘उहाँको गतिविधिबारे रिपोर्टिङ भइरहेको छ, आचारसंहिता उल्लंघन ठहरिए कानुनअनुसार कारबाही हुन्छ।’

प्रशासनले निगरानी बढाए पनि लामिछानेको सचिवालयले भने मतदाता भेटघाटलाई पूर्ववत् तालिकाअनुसार नै चलिरहेको रविको सचिवालयले पुष्टि गरेको छ।

निर्वाचन आचारसंहिताअनुसार फागुन २१ गते हुने निर्वाचन प्रयोजनका लागि राजनीतिक दलहरूलाई फागुन ४ देखि १८ गतेसम्म १५ दिनको अवधि तोकिएको छ।

निर्वाचन आयोगले सभा, जुलुस, कोणसभा, र्‍याली, माइकिङका माध्यमले चुनावी प्रचारप्रसारका लागि उक्त समय तोकेको हो।

निर्वाचन आचार-संहिताअनुसार फागुन ४ गतेअघि दलहरूले सभा, जुलुस, र्‍याली, कोणसभाजस्ता प्रचारप्रसार गर्न नपाउने आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बताए।

‘निर्वाचन आचारसंहिताअनुसार नै दलहरूलाई प्रचारप्रसार गर्न तथा सभा, र्‍यालीजस्ता कार्यक्रम गर्न फागुन ४ देखि १८ गते छुट्याइएको हो,’ उनले भने। सो समयमा बाहेक अरु समयमा मतदाता भेला पारेर कार्यक्रम गर्न तथा भाषण गर्न नपाइने बताए।

निर्वाचन आचारसंहितामा उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसार गर्न सकिने व्यवस्था छ।

त्यस अवधिमा दलहरूले जुलुस, आमसभा वा कोणसभा गर्न, सञ्चारमाध्यममा कुनै प्रकारको प्रचारप्रसार सामग्री प्रकाशन वा प्रसारण गर्न, निर्वाचन प्रचारप्रसार गर्न सक्ने व्यवस्था आचारसंहितामा उल्लेख गरिएको छ।

आचार संहिताअनुसार निर्वाचनको ४८ घन्टाअघि भने मौन अवधि लागु हुनेछ। त्यसअनुसार फागुन १९ र २० गते मौन अवधि लागु गरिएको छ।

आयोगका अनुसार माघ ४ गते राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागु भइसकेको छ। अर्को सूचना प्रकाशन नभएसम्म आचारसंहिता लागु हुने आयोगले प्रस्ट पारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?