© 2026
रुपन्देही ।
बुद्ध जन्मभूमि लुम्बिनीको प्रवेशद्वारका रूपमा रहेको मायादेवी गाउँपालिकाले धार्मिक पर्यटनलाई डिजिटल युगसँग जोड्ने महत्वाकांक्षी पहल थालेको छ ।
भगवान बुद्धको जीवन यात्रालाई अत्याधुनिक एआर/भिआर प्रविधिमार्फत जीवन्त रूपमा प्रस्तुत गर्ने उद्देश्यसहित ‘डिजिटल बुद्ध केन्द्र’ स्थापना गर्ने तयारी गरिएको हो । यस पहलले लुम्बिनी क्षेत्रको पर्यटनमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।
मायादेवी गाउँपालिका कार्यालयका प्रमुख लेखनाथ पोखरेलका अनुसार यस परियोजनाले बुद्ध दर्शनलाई आधुनिक प्रस्तुतीकरणसँग जोड्दै विशेषगरी युवा पुस्ता र अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्ने लक्ष्य राखेको छ ।
प्रस्तावित डिजिटल केन्द्रमा भगवान बुद्धको जन्मदेखि महापरिनिर्वाणसम्मको जीवन यात्रा दृश्यात्मक तथा फिल्म शैलीमा प्रस्तुत गरिनेछ । एआर/भिआर प्रविधिमार्फत पर्यटकले बुद्धको जीवन, दर्शन र ऐतिहासिक यात्रालाई प्रत्यक्ष अनुभव गरेजस्तै अनुभूति गर्न सक्नेछन् ।
“नयाँ प्रविधि प्रयोग गरेर बुद्धको जीवनलाई जीवन्त रूपमा प्रस्तुत गर्ने हाम्रो लक्ष्य हो । यसले विशेषगरी युवा पुस्ता र अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्नेछ,” प्रमुख पोखरेलले बताए ।
गाउँपालिकाले परियोजनाका लागि सार्वजनिक जग्गा लिजमा लिने वा नेपाल सरकारमार्फत प्राप्त गर्ने विकल्पमा काम गरिरहेको जनाएको छ । आवश्यक परे निजी जग्गा खरिद गरेर पनि परियोजना कार्यान्वयन गर्न सकिने जनाइएको छ । “निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय लगानीकर्तासँग सहकार्य गरेर यस परियोजनालाई दिगो र प्रभावकारी रूपमा विकास गर्ने तयारीमा छौं,” पोखरेलले भने ।
मायादेवी गाउँपालिका ऐतिहासिक रूपमा बुद्धसँग जोडिएको क्षेत्र हो । बुद्धकी आमाको नामबाट नामाकरण गरिएको यस पालिकाले आफ्नो ऐतिहासिक पहिचानलाई प्रविधिसँग जोड्दै ‘बुद्धमाई पालिका’का रूपमा विकास गर्ने लक्ष्य लिएको छ । पालिकाका अनुसार डिजिटल बुद्ध केन्द्रलाई आधुनिक बुद्ध संग्रहालयका रूपमा विकास गर्ने अवधारणा पनि अघि सारिएको छ ।
यस परियोजनाले पर्यटन प्रवर्द्धनसँगै रोजगारी सिर्जना, स्थानीय आयआर्जनमा वृद्धि तथा अन्तर्राष्ट्रिय स्तरमा मायादेवी गाउँपालिकाको पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनीलाई जोड्ने पर्यटन मार्गसँग समन्वय गर्दै परियोजना अघि बढाइने तयारी रहेको प्रमुख पोखरेलले जानकारी दिए ।
गाउँपालिकाले डिजिटल प्रविधिको प्रयोगमार्फत बुद्धसँग सम्बन्धित ऐतिहासिक, सांस्कृतिक तथा शैक्षिक सामग्रीलाई विश्वसमक्ष प्रस्तुत गर्ने लक्ष्य लिएको छ । यसले मायादेवी गाउँपालिकालाई प्रविधिमैत्री धार्मिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्ने विश्वास लिइएको छ ।