Butwal Today

दाङको धारपानीमा महाशिवरात्रिमा ३ दिन मेला लाग्ने

२७ माघ २०८२, मंगलवार
अ+
अ-

दाङ,२७ माघ ।

दाङको धारपानीमा आगामी फागुनमा  महाशिवरात्रिमा ३ दिन ठूलो मेला लाग्ने भएको छ   ।

मन्दिर व्यवस्थापन समितिको बैठकले मेलामा उच्छृङ्खल तथा अपराधजन्य गतिविधि हुन नदिनका लागि समितिले तोकेको सीमाभित्र मदिरा तथा लागूपदार्थ  बेचबिखन र सेवन निषेध गरिने समितिका अध्यक्ष गणेश कुमार अधिकारीले जानकारी दिए । मेलामा लागूपदार्थ तथा मदिरा सेवन तथा  बेचबिखन निषेध गरिएको छ ।

आगामी फागुन २ गतेदेखि ४ गते सम्म मन्दिरकाे पुर्व तर्फ रनघरा, उत्तरमा बबई नदी, दक्षिणमा पाण्डवेश्वर धार्मिक वन र पश्चिममा घाेराही धारपानी पर्यटन मार्गकाे कालोपत्रे भाग सम्म कसैले पनि मदिरा र लागूपदार्थ बेच्न र खान पाउने छैनन् ।

समितिले मेलालाई व्यवस्थित र प्रभावकारी बनाउन समितिका अध्यक्ष गणेश कुमार अधिकारीको संयोजकत्वमा मूल व्यवस्थापन समिति र विभिन्न १४ वटा उपसमितिमा आबद्ध रहने गरी तीन सय ५१ जना सदस्य परिचालन गरिनेछ ।

मेलामा भक्तजनको सहज पहुँचका लागि सडकमा परेका खाल्डाखुल्डी पुर्ने र मर्मत गर्ने काम सकिएको छ । यस्तै मेलामा जाने भक्तजनका लागि गाडी भाडादर समेत निर्धारण गरिएको छ । मेलामा गाडीको अस्तव्यस्तता नहाेस भनी सशुल्क पार्किङको व्यवस्था गरिएको छ ।

जस अनुसार ठुला बस र ट्रकको प्रति पटक  ८० रुपैयाँ, मिनी बस र साना ट्रकको ५० रुपैयाँ,कार तथा जिपको  ३० रुपैयाँ , ठुला ट्याक्टर र अटोको रु ५० , पावर टेलरको ४० र मोटरसाइकलको  १० रुपैयाँ पार्किङको व्यवस्था गरिएको समितिका सचिव तथा प्रचार प्रसार उपसमितिका संयोजक विष्णुराम आचार्यले जानकारी दिए ।

यस वर्षको शिवरात्रि पर्व फागुन ३ गतेका दिन नेपाली सेना,प्रहरी तथा भक्तजनकाे  उपस्थितिमा बिहान ९ बजेर ३७ मिनेटदेखि साढे  १० बजे सम्म दाङका प्रमुख जिल्ला अधिकारीद्वारा शिवपुजन तथा त्रिशूल सलामीको कार्यक्रम तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?