© 2026
भैरहवा ।
अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यले प्रदान गर्ने सेवा–सुविधामा सहज पहुँच दिलाउने उद्देश्यका साथ सिद्धार्थनगर नगरपालिका सक्रिय रूपमा काम गरिरहेको छ ।
अपाङ्गता भएका नागरिकको पहिचान, वर्गीकरण तथा अधिकार सुनिश्चित गर्दै नगरपालिकाले अपाङ्गता परिचयपत्र वितरण प्रक्रियालाई व्यवस्थित बनाएको छ । यसबाट उनीहरूलाई सामाजिक सुरक्षा भत्ता तथा सरकारी सहुलियत प्राप्त गर्न सहज भएको छ ।
नगरपालिकाकी उपप्रमुख उमा अधिकारीका अनुसार सरकारले तोकेको अपाङ्गता वर्गीकरण ‘क, ख, ग र घ’ अनुसार पात्रता निर्धारण गरी परिचयपत्र वितरण हुँदै आएको छ । उनले सरकारले गठन गरेको समितिमार्फत अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरूको अवस्थाअनुसार वर्गीकरण गरिने जानकारी दिइन् ।
उपप्रमुख अधिकारीका अनुसार क र ख वर्गमा पर्ने व्यक्ति अत्यन्तै अशक्त अपाङ्गता भएका नागरिक हुन् । यस वर्गका व्यक्तिहरूलाई नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता तथा अन्य विशेष सुविधा उपलब्ध गराउँदै आएको छ । यस्ता सुविधा प्राप्त गर्न निश्चित प्रक्रिया पूरा गर्नुपर्ने भए पनि उनीहरूका लागि सरकारी सहुलियत स्पष्ट रूपमा व्यवस्था गरिएको छ ।
उनका अनुसार विगतमा ग र घ वर्गका धेरै अपाङ्गता भएका व्यक्तिहरूले आफूले पनि सरकारी सेवा सुविधा पाउने जानकारी नपाएको अवस्था थियो । नगरपालिकाको सक्रिय पहलपछि अहिले भने ग र घ वर्गका व्यक्तिहरू पनि परिचयपत्र लिन आउने क्रम बढेको उनले बताइन् ।
नगरपालिकाले हरेक महिना समितिको बैठक बसेर अपाङ्गता भएका व्यक्तिहरूको अवस्था मूल्याङ्कन गर्ने र सहुलियतसम्बन्धी निर्णय गर्ने गरेको छ । अपाङ्गता सम्बन्धी जानकारी विस्तार गर्न विद्यालयस्तरमै अभियान सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । विद्यार्थीमार्फत अभिभावकसम्म सूचना पु¥याउने उद्देश्यले स्कुल क्याम्पेन सञ्चालन गरिएको र यसले सूचना प्रवाहमा सहजता ल्याएको बताइएको छ ।
नगरपालिकाका अनुसार आर्थिक वर्ष २०७६ देखि २०८२ साल माघसम्म क वर्गका ९८ जना, ख वर्गका करिब २८३ जना, ग वर्गका करिब १०० जना र घ वर्गका ३५ जना गरी जम्मा ५१५ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । हाल सिद्धार्थनगर नगरपालिकामा अपाङ्गता कार्ड नलिने व्यक्ति निकै कम रहेको र ग तथा घ वर्गका सेवाग्राहीको संख्या क्रमशः बढ्दै गएको छ ।