© 2026
लुम्बिनी ।
लुम्बिनी सांस्कृतिक नगरपालिकामा “स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित नगरस्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ सोमबारबाट सुरु भएको छ ।
शिक्षा तथा खेलकुद शाखाको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन विशेष कार्यक्रमका बीच कार्यवाहक नगर प्रमुख कल्पना हरिजनले गरेकी हुन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यवाहक नगर प्रमुख हरिजनले खेलकुदले विद्यार्थीको शारीरिक, मानसिक तथा नैतिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताइन् । विद्यालय तहदेखि नै खेलकुदलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिइन् ।
उनले खेलकुद केवल जित हारको विषय नभई जीवनमा अनुशासन, सहकार्य र नेतृत्व विकासको महत्वपूर्ण माध्यम भएको उल्लेख गरिन् । “पढाइसँगै खेलकुदलाई सन्तुलित रूपमा अघि बढाउन सके स्वस्थ, सक्षम र अनुशासित नागरिक उत्पादन गर्न सकिन्छ,” उनले भनिन् ।
कार्यवाहक नगर प्रमुख हरिजनले नगरपालिकाले विद्यालयस्तरमै खेल संरचना सुदृढ गर्ने, प्रशिक्षक व्यवस्थापन गर्ने तथा नियमित प्रतियोगितामार्फत प्रतिभाशाली खेलाडीलाई प्रोत्साहन गर्ने नीति लिएको जानकारी दिइन् । साथै, स्थानीय तहबाटै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ खेलकुद क्षेत्रमा लगानी बढाइने प्रतिबद्धता व्यक्त गरिन् ।
कार्यक्रममा शिक्षा शाखा प्रमुख हरि ज्ञवालीको सहभागिता रहेको थियो । कार्यक्रममा विशिष्ट अतिथि लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले शिक्षा र खेलकुद क्षेत्र नै भविष्य निर्माणका आधार भएको बताए । नगरपालिकाले यी दुई क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर लगानी गर्न तयार रहेको उनले स्पष्ट पारे ।
प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले गुणस्तरीय शिक्षा बिना सक्षम नागरिक निर्माण सम्भव नरहेको र खेलकुदले अनुशासन, स्वास्थ्य तथा नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । नगरपालिकाले शैक्षिक पूर्वाधार सुदृढीकरण, खेलमैदान निर्माण तथा प्रतिभावान विद्यार्थी र खेलाडीलाई प्रोत्साहन गर्ने नीति अघि बढाइरहेको जानकारी पनि उनले दिए ।
कार्यक्रममा शिक्षा शाखाका कर्मचारी, जनप्रतिनिधि, १ देखि १३ वडाका वडा अध्यक्षहरू, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, शिक्षिका, विद्यार्थीहरू तथा खेलप्रेमीहरूको उपस्थिति रहेको थियो । उद्घाटन समारोहमा नगरभित्रका विभिन्न विद्यालयका विद्यार्थीहरूले नृत्य तथा अनुशासित मार्चपास्ट प्रस्तुत गर्दै कार्यक्रमलाई थप आकर्षक बनाएका थिए ।