Butwal Today

आचारसंहिता उल्लंघन गर्दै रविले गरे रुपन्देहीका ठाउँठाउँमा सम्बोधन, निर्वाचन कार्यालय निरीह

२६ माघ २०८२, सोमबार
अ+
अ-

बुटवल। चुनाबी आचारसंहिता उल्लंघन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनाबी सभा शैलीमै सभा गर्दै भाषण गरेका छन्। निर्वाचन कार्यालयले रोड सोमात्रै गर्ने गरी अनुमति प्रदान गरेपनि उनले रुपन्देही १, २ र ३ का विभिन्न स्थानमा सभा गर्दै चुनाबी भाषण गरेका हुन्।

उनले रुपन्देहीका देवदह खैरेनी, बुटवल योगीकुटी शान्तिचोक, भैरहवा, छपिया, फर्साटिकर, मर्चवारमा भाषण गरे। उनले यी सभाहरुमा सहभागी भएका स्थानीयसँग रास्वपामा मतदान गर्न आह्वान गरे।

रास्वपाबाट क्षेत्र नं १ मा रास्वपा महामन्त्रीसमेत रहेका सुनिल लम्साल, २ मा सुलभ खरेल, ३ मा डा लेखजंग थापा, ४ मा कन्हैया बानिया र ५ मा तौफिक अहमद खान उम्मेदवार छन् ।

लामिछाने रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रका मुख्य मुख्य स्थानमा पुगेर रास्वपाका उम्मेदवारहरुकै उपस्थितिमा उनीहरुलाई मतदान गर्न आह्वान गरेका थिए। जबकी निर्वाचन कार्यालयले उनलाई सडकमा परिचय गर्न र भेटघाट गर्नका लागि मात्रै अनुमति दिएको थियो।

रुपन्देहीका मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले विभिन्न स्थानमा परिचयात्मक भेटघाट गर्ने र सभा तथा सम्बोधन नगर्ने गरी अनुमति दिएको बताए। उनले दलहरुले आचारसंहिता उल्लंघन गरे/नगरेको अनुगमन गर्ने र त्यसअनुसार कारबाही समेत गर्ने बताए।

तर कार्यालयले देशभर नै कार्यक्रम भइरहेको भन्दै सामान्य रुपमा लिएको पाइएको छ। निर्वाचनमा आचारसंहिता कार्यान्वयनमा कडाइ गर्नुपर्नेमा निर्वाचन कार्यालयले अनुमति दिँदा नै चुकेको देखिन्छ। जबकी यसअघि अन्य जिल्लाहरुमा भएका सोही प्रकृतिका कार्यक्रमहरुमा लामिछानेले मतदानका लागि आह्वान गर्दै आएका छन्।

निर्वाचन आचारसंहिताअनुसार फागुन २१ गते हुने निर्वाचन प्रयोजनका लागि राजनीतिक दलहरूलाई फागुन ४ देखि १८ गतेसम्म १५ दिनको अवधि तोकिएको छ।

निर्वाचन आयोगले सभा, जुलुस, कोणसभा, र्‍याली, माइकिङका माध्यमले चुनावी प्रचारप्रसारका लागि उक्त समय तोकेको हो।

निर्वाचन आचार-संहिताअनुसार फागुन ४ गतेअघि दलहरूले सभा, जुलुस, र्‍याली, कोणसभाजस्ता प्रचारप्रसार गर्न नपाउने आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बताए।

‘निर्वाचन आचारसंहिताअनुसार नै दलहरूलाई प्रचारप्रसार गर्न तथा सभा, र्‍यालीजस्ता कार्यक्रम गर्न फागुन ४ देखि १८ गते छुट्याइएको हो,’ उनले भने। सो समयमा बाहेक अरु समयमा मतदाता भेला पारेर कार्यक्रम गर्न तथा भाषण गर्न नपाइने बताए।

निर्वाचन आचारसंहितामा उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसार गर्न सकिने व्यवस्था छ।

त्यस अवधिमा दलहरूले जुलुस, आमसभा वा कोणसभा गर्न, सञ्चारमाध्यममा कुनै प्रकारको प्रचारप्रसार सामग्री प्रकाशन वा प्रसारण गर्न, निर्वाचन प्रचारप्रसार गर्न सक्ने व्यवस्था आचारसंहितामा उल्लेख गरिएको छ।

आचार संहिताअनुसार निर्वाचनको ४८ घन्टाअघि भने मौन अवधि लागु हुनेछ। त्यसअनुसार फागुन १९ र २० गते मौन अवधि लागु गरिएको छ।

आयोगका अनुसार माघ ४ गते राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागु भइसकेको छ। अर्को सूचना प्रकाशन नभएसम्म आचारसंहिता लागु हुने आयोगले प्रस्ट पारेको छ।