© 2026
लमही, २५ माघ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा दाङ निर्वाचन क्षेत्र नम्बर–३ कसको पोल्टामा जाने हो भन्ने अनुमान गर्न कठिन देखिएको छ ।
पुराना दलप्रति बढ्दो असन्तुष्टि र नयाँ अनुहारप्रतिको आकर्षणका कारण यहाँको चुनावी प्रतिस्पर्धा झनै रोचक बनेको छ । तीन ठुला दलले यस पटक पनि एक पटक मन्त्री भइसकेका अनुभवी नेताहरूलाई मैदानमा उतारेका छन् भने नयाँ दल र स्वतन्त्र उम्मेदवारहरूले उनीहरूलाई कडा चुनौती दिने सङ्केत देखाएका छन् ।
इतिहास हेर्दा दाङ–३ सधैँ काँग्रेस र एमालेबिचको कडा प्रतिस्पर्धाको क्षेत्रका रूपमा चिनिँदै आएको छ । २०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा (माओवादी) को लहर चलेको बाहेक अधिकांश निर्वाचनमा यी दुई दल नै मुख्य प्रतिस्पर्धी रहँदै आएका छन् ।
२०५१ सालको निर्वाचनबाट एमाले महासचिव शङ्कर पोखरेलले यही क्षेत्रबाट संसदीय यात्रा सुरु गर्दै काँग्रेसका दीपक गिरीलाई पराजित गरेका थिए । पहिलो हारपछि २०५६ मा दीपक गिरीले टिकट नपाएपछि उनका दाइ नाता पर्ने गेहेन्द्र गिरी उम्मेदवार बनेर विजयी भए ।
२०६४ को पहिलो संविधानसभा निर्वाचनमा काँग्रेसले पुनः दीपक गिरीलाई उम्मेदवार बनायो । तर शान्ति प्रक्रियापछि उदाएकी माओवादी नेतृ सुष्मा शर्मा घिमिरेसँग उनी पराजित भए । दोस्रो संविधानसभा निर्वाचनमा पनि काँग्रेसले गिरीलाई नै उम्मेदवार बनायो ।
तेस्रो प्रयासमा उनले एमालेका उत्तरकुमार वलीलाई हराउँदै संसदीय यात्रामा पुनरागमन गरे । त्यसयता दीपक गिरी निरन्तर यही क्षेत्रबाट काँग्रेसका उम्मेदवार बन्दै आएका छन् ।संविधान जारीपछिका दुई निर्वाचनमा भने गठबन्धनको प्रभाव स्पष्ट देखियो ।
२०७४ को आमनिर्वाचनमा एमाले–माओवादी गठबन्धनबाट एमालेका हिराचन्द्र केसी विजयी भए भने २०७९ मा काँग्रेस–माओवादी गठबन्धनबाट काँग्रेसका दीपक गिरी निर्वाचित भए । यस पटक प्रमुख दलहरू एक्ला एक्लै चुनावी मैदानमा उत्रिएकाले दाङ–३ को प्रतिस्पर्धा थप पेचिलो बनेको छ ।
यहाँ दलका १५ र स्वतन्त्र ८ गरी कुल २३ उम्मेदवार चुनावी दौडमा छन् । काँग्रेसले चौथो पटक पूर्व मन्त्री दीपक गिरीलाई नै उम्मेदवार बनाएको छ । एमालेबाट पूर्व तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे उम्मेदवार बनेका छन् ।
नेपाली कम्युनिस्ट पार्टीबाट पूर्व लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कमल सुवेदी, राप्रपाबाट दामोदर भण्डारी, जसपा नेपालबाट शोभा डाँगी र जनमोर्चाबाट कमला जिसीलगायत उम्मेदवार मैदानमा छन् । इन्द्र बस्नेत र प्रेमबहादुर वलीसहित आठ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
दाङ–३ अन्तर्गत तुलसीपुर उपमहानगरपालिकाका वडा १ देखि १५ सम्म तथा दंगीशरण, शान्तिनगर र बबई गाउँपालिकाका सबै वडा पर्दछन् । अघिल्लो स्थानीय तह निर्वाचनमा तुलसीपुर उपमहानगरपालिकामा एमाले विजयी हुँदा बाँकी तीन गाउँपालिकामा काँग्रेसले प्रमुख तथा उपप्रमुख जितेको थियो ।
३६ वडा रहेको यस क्षेत्रमा अघिल्लो स्थानीय निर्वाचनमा एमालेले १९, काँग्रेसले १४ र तत्कालीन माओवादी केन्द्रले ३ वडा जितेका थिए । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काँग्रेसका दीपक गिरीले ३६ हजार ८८२ मत ल्याएर विजयी हुँदा एमाले उम्मेदवार कोमल वलीले २९ हजार ३२ मत पाएकी थिइन् । त्यति बेला मात्र छ महिना अघि गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुवेदीले १५ हजार ३०० मत ल्याएका थिए ।
समानुपातिकतर्फ काँग्रेसले २६ हजार ५७५ र एमालेले २६ हजार ११७ मत पाएका थिए भने रास्वपाले १५ हजार ४१० मत ल्याउँदै तत्कालीन माओवादी केन्द्रलाई उछिनेको थियो ।
यस पटक दाङ–३ मा कुल मतदाता संख्या १ लाख ५० हजार ७२० पुगेको छ, जसमध्ये ४ हजार २४५ नयाँ मतदाता थपिएका छन् ।