Butwal Today

बाँके क्षेत्र नम्बर २: अनुभवी नेतृत्वसँग युवाको टक्कर

२५ माघ २०८२, आइतबार
अ+
अ-

नेपालगन्ज, २५ माघ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको माहौलसँगै बाँकेमा जिल्ला चुनावी सरगर्मी बढेको छ ।

गाउँ–टोलदेखि सहरका चोकसम्म चुनावी चर्चा बाक्लिँदै गएको छ । राजनीतिक दलहरू घोषणापत्र सार्वजनिक गर्न, प्रचार–प्रसार कार्यालय सञ्चालन गर्न तथा उम्मेदवारहरू मतदाताको आकाङ्क्षा बुझ्दै घरदैलोमा पुग्न व्यस्त देखिन्छन् ।

तर, यस पटकको चुनाव केवल प्रचार र प्रतिस्पर्धाको मात्रै नभएर, यो बदलिँदो राजनीतिक समीकरण, मतदाताको बदलिएको सोच र नयाँ शक्तिको उदयको सम्भावना बढी देखिन्छ । विगतका चुनावसँग तुलना गर्दा यस पटक दलभित्रको विभाजन, नयाँ दलको उदय र नेताहरूको राजनीतिक यात्रामा आएको मोडले परिणाम अनुमान गर्न कठिन बनाएको छ ।

बाँके जिल्लाको चुनावी इतिहास हेर्दा यहाँका मतदाताले हरेक पटक फरक नेतृत्वलाई विश्वास गर्दै आएको तथ्यले पनि यस पटकको चुनावलाई झन् रोचक बनाएको छ ।

यही कारणले अहिले बाँके निर्वाचन क्षेत्र नम्बर २ सबैभन्दा बढी चर्चाको केन्द्र बनेको छ । विक्रम संवत् २०७९ को निर्वाचनमा एमालेसँगको गठबन्धनबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार डाक्टर धवलसमशेर राणा विजयी भएका थिए ।

तर यस पटक भने उनी चुनावी मैदानमा छैनन् । राप्रपाले उनको ठाउँमा युवा नेता ऋषिराज देवकोटालाई उम्मेदवार बनाएको छ । २०७९ को निर्वाचनमा डाक्टर राणाले २९ हजार ५ सय ७७ मत ल्याएर विजय हासिल गरेका थिए ।

तर त्यतिबेला राप्रपाले समानुपातिकतर्फ भने ११ हजार ३ सय ८० मत मात्र प्राप्त गरेको थियो । यसले मतदाताले प्रत्यक्षतर्फ व्यक्तित्वलाई प्राथमिकता दिएको स्पष्ट देखाउँछ । डाक्टर राणाको राजनीतिक छवि र प्रभावले स्थापित गरेको विरासत अब देवकोटाले जोगाउन सक्ने कि नसक्ने भन्ने प्रश्न मतदातासामु उठेको छ ।

त्यस्तै, २०७९ मा राणाका निकटतम प्रतिस्पर्धी रहेका जनता समाजवादी पार्टीका तत्कालीन नेता मोहम्मद इस्तियाक राई यस पटक एमालेको सूर्य चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका छन् । अघिल्लो निर्वाचनमा उनले २३ हजार ५ सय २० मत प्राप्त गरेका थिए ।

२०७४ मा भने उनले सङ्घीय समाजवादी फोरमबाट विजय हासिल गरेका थिए । विकास प्रेमी नेताको छवि बनाएका राई अहिले एमालेको सङ्गठनात्मक शक्ति र आफ्नो व्यक्तिगत प्रभावलाई जोड्दै पुनः मतदाताको विश्वास जित्ने प्रयासमा छन् । तर, उनको राजनीतिक यात्रामा उतार–चढाव पनि कम छैन ।

जसपा नेपाल छाडेर छुट्टै पार्टी गठन गर्ने प्रयास र त्यसपछि पुनः एमालेसँग जोडिनुले उनको राजनीतिक यात्रालाई नयाँ मोड दिएको छ । यस्तो अवस्थामा मतदाताले उनको अनुभव र निरन्तरतामा विश्वास गर्ने कि नयाँ विकल्प रोज्ने भन्ने निर्णय नै चुनावी परिणामको प्रमुख आधार बन्न सक्छ ।

यसैबिच, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट कमरुद्धिन राई उम्मेदवार बनेका छन् । उनले मनोनयनको अघिल्लो दिन नेपालगन्ज उपमहानगरपालिकाको उप–प्रमुख पदबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका हुन् । स्थानीय तहमा उप–प्रमुख रहँदा पाएको मत र जनविश्वासलाई सङ्घीय राजनीतिमा रूपान्तरण गर्न उनी चुनावी मैदानमा होमिएका छन् ।

२०७९ को निर्वाचनमा जसपा नेपालले समानुपातिकतर्फ २० हजार २ सय ५१ मत प्राप्त गरेको थियो । तर, अहिले पार्टी फुटिसकेको र प्रभावशाली नेता इस्तियाक राई एमालेबाट उम्मेदवार बनेपछि मत विभाजनको सम्भावना बढेको देखिन्छ ।

स्थानीय तहको जिम्मेवारी बिचमै छाडेर सङ्घीय राजनीतिमा प्रवेश गरेका कमरुद्धिनप्रति मतदाताले जबाफदेहिता खोज्ने कि नयाँ सम्भावनाको रूपमा स्वीकार गर्ने भन्ने चासो पनि बढ्दै गएको छ ।

नेपाली काँग्रेसले यस पटक बाँके क्षेत्र नम्बर २ बाट जिल्ला सचिव सुधांशु कोइरालालाई उम्मेदवार बनाएको छ । २०७९ को निर्वाचनमा काँग्रेस उम्मेदवार सुदीप नरसिंह राणाले अपेक्षाकृत कम मत पाएका थिए । तर, काँग्रेसले बाँके–२ लाई पूर्व प्रधानमन्त्री सुशील कोइरालाको राजनीतिक विरासतसँग जोडेर हेर्दै आएको छ ।

यही ऐतिहासिक आधारलाई टेकेर सुधांशुले मतदाताको विश्वास जित्ने प्रयास गरिरहेका छन् । यसैगरी, नेकपा नेतृत्वको कम्युनिष्ट धारबाट युवा उद्यमी दिपेन्द्र विष्ट उम्मेदवार बनेका छन् । नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै उनले युवा वर्गको ऊर्जा र परिवर्तनको आकाङ्क्षालाई राजनीतिक अभियानमा जोड्ने प्रयास गरिरहेका छन् । सहिद परिवारसँग भेटघाट गर्दै उनले दिएको प्रतिबद्धताले नयाँ राजनीतिक धार निर्माण गर्ने सङ्केत दिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस पटक विवेक कुमार श्रेष्ठलाई उम्मेदवार बनाएको छ । २०७९ को निर्वाचनमा रास्वपाले समानुपातिकतर्फ उल्लेखनीय मत प्राप्त गरे पनि प्रत्यक्षतर्फ अपेक्षित सफलता पाउन सकेको थिएन । तर पछिल्लो समय देशभर बढेको रास्वपाको प्रभाव र नयाँ पुस्ताको समर्थनले श्रेष्ठलाई बलियो प्रतिस्पर्धीका रूपमा उभ्याएको छ ।

यसरी हेर्दा बाँके क्षेत्र नम्बर २ को चुनाव केवल उम्मेदवारहरूको प्रतिस्पर्धा मात्र होइन, राजनीतिक इतिहास, बदलिँदो नेतृत्व, र मतदाताको नयाँ सोचबिचको सङ्घर्षजस्तै बनेको छ । पुराना विरासत जोगाउने चुनौती, नयाँ नेतृत्व स्थापित गर्ने आकाङ्क्षा र मतदाताको भरोसा जित्ने होडले यो क्षेत्रको चुनावलाई अत्यन्त रोचक बनाएको छ ।

बाँके क्षेत्र नं. २ मा यस पटक २० जना उम्मेदवारले प्रतिस्पर्धा गर्दै छन् । जसमा तीन जना स्वतन्त्र उम्मेदवार छन् । नेपालगन्ज बाँकेको २ नम्बर क्षेत्रमा पर्छ । बाँकेका डुडुवा गाउँपालिका र २३ वटा वडा रहेको नेपालगन्ज उपमहानगरपालिकाका १६ र १७ नम्बर वडा बाहेकका २१ वटा वडा क्षेत्र नं. २ मा पर्छन् ।

५७ हजार ११७ जना पुरुष, ५१ हजार १६७ जना महिला र ६ जना अन्यसहित कुल १ लाख ८ हजार २९० मतदाता यस क्षेत्रमा रहेका छन् । फागुन २१ को दिन नजिकिँदै जाँदा बाँके–२ का मतदाताले कसलाई आफ्नो भरोसाको प्रतिनिधि बनाउने भन्ने निर्णयले केवल एउटा निर्वाचन क्षेत्रको होइन, समग्र राजनीतिक धाराको दिशा तय गर्ने सङ्केत दिन सक्छ ।