Butwal Today

आहा रारा पोखरा गोल्ड कप माघ २७ देखि

२५ माघ २०८२, आइतबार
अ+
अ-

कास्की ।

मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

यही माघ २७ देखि आगामी फागुन ९ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

आयोजक सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाका अनुसार २५औँ संस्करणको सो प्रतियोगितामा विदेशका तीन र नेपालका आठ गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

अध्यक्ष थापाले प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि गरिएको जनाउँदै च्याम्पियन टोलीले रु  १४ लाख एक हजार, उपविजेताले रु सात लाख एक हजार पाउने बताए ।

गत वर्ष उपाधि विजेताले रु १२ लाख एक हजार र उपविजेताले रु छ  लाख एक हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । “प्रतियोगिताको आकर्षण बढाउने उद्देश्यले यस वर्ष विगतको तुलनामा पुरस्कार बढाएका छौँ भने रात्रिकालीन फुटबलले यहाँको फुटबल माहौल बढाउने विश्वास छ”, थापाले भने ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले टेलजी कम्पनीको इलेक्ट्रिक स्कुटर, ट्रफी र प्रमाणपत्र पुरस्कार पाउँदा, अनुशासित टोली, उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्टाइकर, प्रशिक्षक र सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले  जनही रु २५ हजारका साथमा ट्रफी पुरस्कार पाउने सहाराले जनाएको छ । यसै गरी हरेक म्याचमा ‘मेन अफ दि म्याच’ पुरस्कार रु १० हजार र ट्रफी रहेको छ ।

प्रतियोगितामा नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, मनाङ मस्र्याङ्दी क्लब, जावलाखेल युवा क्लब, प्लानिङ ब्वाइज युनाइटेड र फ्रेण्ड्स क्लब र आयोजक टोली सहारा क्लब पोखरा रहेका छन् ।

यसै गरी विदेशी टिमका रूपमा उज्बेकिस्तानको आभा फुटबल क्लब, भारतको थण्डरबोल्ट नर्थ युनाइटेड र हङकङको गोर्खा इन्टरनेशनल फुटबल क्लब सहभागी हुनेछन् ।

आयोजक  सहाराले यस वर्ष अस्थायी फ्लड लाइट जडान गरेर रात्रिकालीन समयमा खेल सञ्चालन गर्ने जनाएको छ । क्लबका अध्यक्ष थापाले ३५ फिट उचाइको अस्थायी फ्लडलाइट जडान गरी सन्ध्याकालीन खेल सञ्चालन गरिने जानकारी दिए । खेलको पहिलो हाफ उज्यालोमा र दोस्रो हाफ साँझको अँध्यारोमा खेलाइनेछ ।