© 2026
पाल्पा । रामपुर गेझाका हरिश भण्डारीले यस पटकको निर्वाचनमा पहिलो पटक मतदान गर्दै छन् । उनको रोजाईमा युवाको भावनालाई समेट्न सक्ने क्षमता भएको उम्मेदवार पर्नेछन् । मुलुकमा रोजगारीको वातावरण सिर्जना गरी मुलुक मै स्वरोजगार बनाउन सक्ने क्षमता भएको उम्मेदवारलाई मतदान गर्ने उनको मुड छ ।
रामपुर बजारको रामतुल्सी मा.वि कक्षा १२ मा अध्यनरत कल्पना श्रेष्ठले पनि युवालाई नै मतदान गर्ने बताउँछिन् । पूरानो सोंच र चिन्तन भएका उमेदवारलाई क्रियाशील राजनीतिबाट बिदाई गर्ने इच्छा रहेको निस्दी गाउँपालिका मित्यालका युवा कमल सुनारी बताउँछन् ।
निस्दीकै अर्चलेका विकास सोती र नारायण बहादुर नेपालीले पनि परिवर्तनको पक्षमा मतदान गर्दैछन् । यस पटकको निर्वाचनमा पार्टी भन्दा विकास हेरेर मतदान गर्ने रम्भा गाउँपालिकाको हेकलाङका युवा विनोद राना बताउँछन् ।
फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली काग्रेसबाट सन्दिप राना, नेकपा एमालेबाट नारायण प्रसाद आचार्य, रास्वपाबाट विमल पन्त, नेकपाबाट हुम बहादुर सुनारी, नेकपा माओवादीबाट पुरन गैरे सहित १३ जना उम्मेदवार मैदानमा छन् ।
मानव विकासको सूचकांकमा सबैभन्दा कमजोर निस्दी गाउँपालिकादेखि विकासका दृष्टिकोणले सम्पन्न ठानिने रामपुर नगरपालिका यही निर्वाचन क्षेत्रमा पर्छन् । २०४८ साल देखि प्रतिनिधि सभाको निर्वाचन भयो । पाल्पा निर्वाचन क्षेत्र नम्बर १, २०५१ सालदेखि नेकपा एमालेले मात्रै जित्दै आएको निर्वाचन क्षेत्र हो ।
निर्वाचन आयोगले औपचारिक रुपमा फागुन ४ गते बाट प्रचार प्रसार खुला गर्ने भनिएपनि उमेदवारहरु घरदैलो कार्यक्रमलाई निरन्तता दिएका छन् ।
रामपुर नगरको सबै तानसेन नगरको एउटा वडा, निस्दी, पूर्वखोला, माथागढी गाउँपालिकाको सबै र तिनाउ गाउँपालिकाको २ वटा वडा रहेको क्षेत्र नम्वर १ मा ९८ हजार मतदाता रहेका छन् ।
यी मतदातालाई प्रभावित पार्न उम्मेदवारहरु जनतासँग भेटघाटमा छन् । शिक्षित वर्गले शिक्षित उम्मेदवार खोज्ने गर्दा यस पटकको निर्वाचनमा मत परिवर्तन हुने सम्भावना बलियो रहेको सामाजिक अभियन्ता शालिकराम पाण्डे बताउँछन् ।
यस अगाडिको निर्वाचनमा निर्वाचित भएका नेकपा एमालेका उम्मेदवार नारायण प्रसाद आचार्यको शैक्षिक योग्यता प्रवीणता प्रमाण पत्र तह हो भने नेपाली कांग्रेसका उमेदवार सन्दीप रानाले राजनीतिशास्त्रमा स्नातक तह उत्तीर्ण गरेका छन् । नेकपाका उमेदवार हुम सुनारीले बेलायतबाट एम.ए गरेका छन् भने रास्वपाबाट उम्मेदवार बनेका विमल पन्तले कक्षा १२ उत्तीर्ण गरेका छन् ।
यस अगाडिको निर्वाचनमा नेकपा एमालेका नारायण आचार्यले ३१ हजार १ सय ३ मत प्राप्त गरी विजय हासिल गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ज्ञान बहादुर गाहाले २० हजार २ सय ५६ मत प्राप्त गरी उपविजेता भएका थिए । स्वतन्त्र उम्मेदवार विपिन कँडेलले २ हजार ८ सय ६३ मत प्राप्त गरेका थिए ।
प्रदेश सभा सदस्य हुँदै प्रतिनिधि सभा सदस्य बनेका नारायण आचार्य भन्छन्–‘आफुले सुरु गरेर पूर्ण नभएका कामका लागि पूर्णता दिनका लागि उम्मेदवारी दिएको हुँ र यस पटक पुनः मलाई विजय बनाउन यहाँका मतदाता आतुर छन् ।’
कांग्रेस महासमिति सदस्य समेत रहेका ३८ वर्षिय सन्दीप राना परराष्ट्र मामिलामा राम्रो दख्खल भएका अन्तराष्ट्रिय वीपी चिन्तन प्रतिष्ठानका अध्यक्ष पनि हुन् ।
ग्रामीण क्षेत्रका युवा नजिक रहेर सक्रिय राजनीति गरेका रानालाई पाल्पा १ मा एमालेको बलियो पकडलाई चुनौती दिन सक्ने बलियो उम्मेदवारको रुपमा हेरिएको रामपुरका युवा ओम प्रकाश बस्याल बताउन् ।
निर्वाचन अगाडि पनि कार्यकर्ताको माझमा मात्र नभई गाउँमै रहेको र निर्वाचन पछिको समयमा पनि निरन्तता दिने बताउँदै उम्मेदवार सन्दीप राना कोरोनाकालमा आफुले गरेको योगदान, ग्रामिण बस्तीमा गरेको विकासमा गरेको सहयोग मतदाताले नभुल्ने हुदा विजयको बलियो आधार भएको बताउँछन् ।