© 2026
काठमाडौँ ।
नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कलाकार सुनिल थापाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । नेपाली कला, संस्कृति र चलचित्र क्षेत्रमा लामो समयसम्म अतुलनीय योगदान पु¥याएका कलाकार थापाको पार्थिव शरीरमा राष्ट्रिय सम्मानसहित अन्तिम दाहसंस्कार गरिएको हो ।
थापाको पार्थिव शरीरमा वरिष्ठ कलाकार निर शाह, सङ्गीतकार शम्भुजित बासकोटा, चलचित्र विकास बोर्डका प्रतिनिधि, कलाकार सङ्घ–संस्थाका पदाधिकारी, चलचित्रकर्मी तथा आफन्तजनले राष्ट्रिय झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । श्रद्धाञ्जली सभामा सहभागीहरूले स्व.थापाको कला यात्रालाई स्मरण गर्दै उहाँको योगदान नेपाली चलचित्र इतिहासमा सदैव अमर रहने उल्लेख गरे ।
उनको शनिबार बिहान हृदयाघातका कारण थापाथलीस्थित नर्भिक अन्तरराष्ट्रिय अस्पतालमा निधन भएको थियो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा पोस्टमार्टम सम्पन्न भएपछि आज उनको पार्थिव शरीर पशुपति आर्यघाट अन्त्यष्टि गरिएको हो ।
स्व थापाले नेपाली चलचित्र क्षेत्रमा दशकौँसम्म अभिनय गर्दै दर्जनौँ सफल चलचित्रमा स्मरणीय भूमिका निर्वाह गरेका थिए । उनको अभिनयले नेपाली चलचित्रलाई नयाँ उचाइमा पु¥याउन महत्त्वपूर्ण योगदान दिएको चलचित्रकर्मीहरूको भनाइ छ । थापाको निधनले नेपाली चलचित्र क्षेत्रले एक अनुभवी, समर्पित र कर्मठ कलाकार गुमाएको भन्दै चलचित्रकर्मीहरूले यस क्षतिलाई अपूरणीय बताएका छन् । रासस