© 2026
काठमाडौँ ।
नेपाल प्रहरीले काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख बालेन्द्र शाहको कोठामा चोरी गर्ने तीनजनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी परिसर काठमाडौँले काठमाडौँ महानगरपालिका–४ चप्पल कारखानास्थित सीतादेवी गुरुङको घरमा रहेको शाहको कोठा चोरी गर्ने तीनजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बालाजुका ४२ वर्षीय मनिष राजवाहक, सिन्धुपाल्चोक लिसङ्खुपाखर घर भई काठमाडौँको गैरीगाउँ बस्ने ४६ वर्षीय खिमबहादुर खड्का र डोटी घर मई हाल धादिङको खानीखोला बस्ने ४५ वर्षीय सञ्जय श्रेष्ठ रहेका छन् ।
परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले गत भदौ २४ गते नख्खु कारागारबाट फरार भएका कैदीले चोरी गर्दै हिँडेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका राजवाहकविरुद्ध चोरी मुद्दा, खड्काविरुद्ध बैंकिङ कसुर र श्रेष्ठविरुद्ध जबर्जस्ती करणी मुद्दा रहेको अनुसन्धानमा खुलेको उनले बताए । पक्राउ परेका तीनैजनासँग प्रहरीले चोरीमा प्रयोग हुने वस्तु र चोरीका सामग्री बरामद गरेको प्रहरीले जनाएको छ । रासस