© 2026
बुटवल ।
राजनीतिमा टिकिरहनु मात्र होइन, पटक–पटक मतदाताको परीक्षा दिनु पनि आफैँमा ठुलो चुनौती हो ।
२०४८ सालदेखि लगातार चुनावी मैदानमा उत्रिरहेका दुई नेता पश्चिम नवलपरासीका हृदयेश त्रिपाठी र रुपन्देही–४ का सर्वेन्द्रनाथ सुक्ला यस पटक आठौँ पटक प्रतिस्पर्धामा छन् । लुम्बिनी प्रदेशका २६ निर्वाचन क्षेत्रमध्ये यति लामो निरन्तर चुनावी यात्रामा रहेका यी दुई नेता अपवादकै रूपमा देखिन्छन् ।
पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट जसपा नेपालका उम्मेदवार हृदयेश त्रिपाठीको राजनीतिक यात्रा २०४८ सालमा नेपाल सद्भावना पार्टीबाट सुरु भएको हो । सोही वर्ष प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका त्रिपाठी २०५१ र २०५६ मा पनि लगातार सद्भावनाबाटै विजयी भए ।
०५१ सालमा कुनै पनि पार्टीले बहुमत ल्याउन नसकेपछि तत्कालीन २०५ सदस्यीय संसद्मा ६ सिट सहित उपस्थित सद्भावना पार्टी पनि सत्ता राजनीतिको मैदानमा पुग्यो । मन्त्री बन्न पालैपालो पार्टी समेत फुट्यो ।
२०६४ मा उनी तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) बाट निर्वाचित भए भने २०७० मा पराजय भोगे । २०७४ मा एमालेको सूर्य चिन्हमा संसद् पुगेका त्रिपाठी २०७९ मा एमाले समर्थनमा जनता प्रगतिशील पार्टीबाट उम्मेदवार बने पनि काँग्रेसका विनोद चौधरीसँग पराजित भए । हालसम्म उनले पाँच पटक जित र दुई पटक हार बेहोरेका छन् ।
त्रिपाठीलाई राष्ट्रिय राजनीतिमा चिनाउने श्रेय गजेन्द्रनारायण सिंह नेतृत्वको सद्भावना पार्टीलाई जान्छ । सार्वजनिक लेखा समितिमा सभापतिको जिम्मेवारी सम्हाल्दा उनले लाउडा, धमिजा विमान काण्डजस्ता ठुला प्रकरण उजागर गर्दै संसदीय निगरानीलाई सक्रिय बनाए । यही कारण उनी संसदीय राजनीतिका प्रभावशाली खेलाडीका रूपमा स्थापित भए ।
२०५४ सालमा सूर्यबहादुर थापा नेतृत्वको सरकारमा वन तथा भू–संरक्षण मन्त्री बनेका त्रिपाठी त्यसपछि लामो समय मन्त्री बन्न पाएनन् । सद्भावना पार्टीभित्रको विवाद र पार्टी विभाजनपछि उनले आफ्नो साटो रामेश्वर रायलाई मन्त्री बनाए ।
त्रिपाठी विभिन्न कालखण्डमा चार पटक मन्त्री भएका छन् । तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्तामा हातमा लिएपछि सद्भावना पार्टी पुनः विभाजित भयो । बद्री मण्डल राजाको सरकारमा गएपछि त्रिपाठी र राजेन्द्र महतोहरूले गजेन्द्र नारायण सिंहकी पत्नी आनन्दीदेवीलाई अध्यक्ष बनाएर पार्टी पुनर्गठन गरे । कांग्रेस एमाले सहित सात दलको आन्दोलनमा त्रिपाठी अग्र भागमै थिए ।
लोकतन्त्र पुनः स्थापनापछि २०६३ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेका उनी मधेस आन्दोलनका बेला सरकार छाडेर आन्दोलनमै उत्रिए ।
मधेस आन्दोलन, दल विभाजन र एकीकरणका उतार–चढावबिच त्रिपाठी तमलोपा हुँदै राजपा, त्यसपछि एमालेसँग चुनावी सहकार्यसम्म आइपुगे । मधेस राजनीतिलाई पूर्व केन्द्रित मात्र होइन, पश्चिम तराईसम्म बिस्तार गर्ने नेताका रूपमा उनलाई चिनिन्छ । प्रदेश २ लाई मात्र मधेस मान्ने प्रवृत्तिप्रति असहमति जनाउँदै उनले मधेसवादी दलसँग वैचारिक दूरी बनाएका थिए ।
रुपन्देही क्षेत्र नम्बर ४ का सर्वेन्द्रनाथ सुक्ला पनि राजनीतिक रूपमा लामो समयदेखि निरन्तर सक्रिय छन् । रूपन्देहीको दक्षिण भेग मर्चवार क्षेत्र विगतमा क्षेत्र ५, संविधान सभाको चुनावको बेला क्षेत्र नम्बर ६ र २०७४ यता क्षेत्र नम्बर ४ को रूपमा रहेको छ ।
यो क्षेत्रमा कुनै पनि दल र उम्मेदवारले लगातार संसदीय चुनाव जितेको रेकर्ड छैन । लगातार नभई अन्तर पारेर नेपाल सद्भावना पार्टीले दुई पटक चुनाव जितेको छ । राप्रपा, तत्कालीन मधेसी जनअधिकार फोरम, तमलोपा र नेपाली काङ्ग्रेसबाट एक एक पटक सांसद जितेका छन् ।
२०४८ सालदेखि लगातार उम्मेदवार बनेका ७६ वर्षीय सर्वेन्द्रनाथ सुक्ला ३ पटक विजयी त बने तर लगातार नभई अन्तर पारेर जित निकाल्ने गरेका छन् । सुक्ला बाहेक अरू सांसद भने यहाँबाट अन्तर पारेर पनि दोहोरिन सकेका छैनन् ।
इन्जिनियरिङ पढाइ सकेर सरकारी जागिर समेत खाएका सर्वेन्द्रनाथ सुक्ला २०३४ सालमा जागिरबाट राजीनामा गरे । जागिर छोडेपछि निजी क्षेत्रमा काम गरे ।
प्रजातन्त्र पुनः स्थापनापछि सुक्ला राजनीतिमा क्रियाशील भए । २०४७ सालमा नेपाली काँग्रेसको क्रियाशील सदस्य बनेका उनी २०४८ को संसदीय चुनावमा मर्चवार क्षेत्र अर्थात् तत्कालीन रुपन्देही–५ बाट चुनाव लड्न खोजे तर टिकट पाएनन् ।
पार्टी परिवर्तन गरी राप्रपाबाट उम्मेदवार बनेका थिए । तर नेपाल सद्भावना पार्टीका श्यामसुन्दर गुप्तासँग पराजित भए । संसद्मा पुग्न नसके पनि २०४९ को स्थानीय चुनावपछि जिविस उपसभापति बने । २०५१ सालको चुनावमा सुक्ला फेरि राप्रपाबाट उम्मेदवार बने । त्यो बेला भने उनी संसद्मा प्रवेश पाएर पटक पटक मन्त्री समेत भए ।
२०५६ सालको चुनावमा तेस्रो पटक राप्रपाबाट उम्मेदवार बने तर सद्भावना पार्टीका यज्ञ जित शाहसँग पराजित भए । के आइ सिंहका छोरा शाह त्यसबेला काङ्ग्रेसबाट टिकट नपाएर सद्भावना पार्टीबाट उम्मेदवार बनेका थिए ।
२०६० सालमा राजाको पालामा सूर्यबहादुर थापा नेतृत्वको सरकारमा पनि सुक्ला मन्त्री बने । २०६३ सालमा लोकतन्त्र आएपछि उनले राप्रपा छोडेर महन्त ठाकुरले गठन गरेको तराई मधेस लोकतान्त्री पार्टीमा आबद्ध भए । सोही दलबाट २०६४ सालको संविधान सभाको चुनावमा उम्मेदवार बने । तर मधेसी जनअधिकार फोरमका ओमप्रकाश यादवसँग पराजित भए । सांसदमा पराजित बने पनि सोही कार्यकालमा माधवकुमार नेपाल नेतृत्वको सरकारमा मन्त्री बन्ने अवसर पाएका थिए ।
२०७० सालको संविधान सभाको चुनावमा तमलोपाबाटै विजयी भए । २०७३ सालमा तमलोपा, सद्भावना पार्टी सहित विभिन्न मधेसवादी दल मिलेर राष्ट्रिय जनता पार्टी गठन भएको थियो । २०७४ सालको चुनावमा सुक्ला राजपाबाटै उम्मेदवार बने । तर काँग्रेसका प्रमोद यादवसँग ११ हजारको फराकिलो अन्तरले पराजित भएका थिए ।
२०७९ मा पनि सुक्ला महन्थ ठाकुर नेतृत्वकै लोकतान्त्रिक समाजवादी पार्टीबाट उम्मेदवार बनेर रुपन्देही क्षेत्र नम्बर ४ बाट विजयी भएका थिए । मर्चवार क्षेत्रमा लगातार ७ वटा चुनावमा उम्मेदवार बने पनि शुक्लाले तीनपटक जित निकाल्न सफल भएका हुन् ।
बुटवल टुडेसँग कुरा गर्दै शुक्लाले यो आफ्नो अन्तिम चुनावी प्रतिस्पर्धा भएको बताए । “संसद् पूरा कार्यकाल टिकेको भए २०८४ मा म चुनाव नलड्ने मनस्थितिमा थिएँ, तर बिचैमा भङ्ग भएकाले म निर्वाचन लडेको हुँ”–उनले भने–“अव यो मेरा लागि अन्तिम चुनाव हो, तत्कालका लागि आवश्यकता भएरै म चुनावी प्रतिस्पर्धामा उत्रिएको हुँ ।” आठौँ पटक चुनावी मैदानमा उत्रिएका त्रिपाठी र सुक्ला दुवैको राजनीतिक यात्रा जित–हार, दल परिवर्तन र सत्ता–प्रतिपक्षको अनुभवले खारिएका छन् । निरन्तरता, लचकता र समयअनुसार राजनीतिक धार समात्ने क्षमताले यी दुई नेता अझै पनि प्रतिस्पर्धामा टिकिरहेका छन् ।
मतदाताले यस पटक अनुभवलाई रोज्छन् कि परिवर्तनलाई–त्यसको उत्तर खोज्न भने फागुन २१ सम्म पर्खन पर्ने देखिएको छ ।