© 2026
सल्यान ।
सल्यानको कालीमाटी गाउँपालिकाले सवा दुई करोड बढी लागतमा दुई सय ६७ घरमा खानेपानी धारा पु¥याउने भएको छ ।
विभिन्न दातृ निकायसँगको साझेदारीलाई समेत जोड दिएर विकास निर्माणका योजना अगाडि बढाइरहेको गाउँपालिकाले यस वर्ष चार वटा योजना मार्फत २६७ घरधुरीमा खानेपानी धारा पु¥याउने लक्ष्य राखेको हो । हेल्बटास तथा उपभोक्ताहरूसँगको साझेदारीमा दुई करोड २२ लाख ५७ हजार ६२८ रुपैयाँ लागतका चार वटा खानेपानी तथा सरसफाइ योजना सुरुवात भैसकेका छन् ।
यी योजनाले विशेष गरी दलित तथा ग्रामीण बस्तीको दीर्घकालीन खानेपानी समस्या समाधान गर्ने अपेक्षा गरिएको छ । कालीमाटी गाउँपालिका वडा नं। २ र ३ स्थित पाखा पानी डाँडागाउँमा ६८ लाख ५९ हजार ८३३ रुपैयाँ लागतको खानेपानी तथा सरसफाइ योजना सञ्चालनमा छ ।
यस योजनाबाट ७९ घरधुरी लाभान्वित हुनेछन् । योजनामा गाउँपालिकाबाट १६ लाख ८९ हजार ६६१ रुपैयाँ, हेल्बटास नेपालबाट ३६ लाख ५१ हजार ९४७ रुपैयाँ र स्थानीय जनसहभागिताबाट १५ लाख १८ हजार २२५ रुपैयाँ बराबरको योगदान रहेको छ ।
पाइपलाइन खन्ने काममा स्थानीय श्रमदानमा जुटिरहेका किसान कोला निवासी देवराज विकले अब गाउँमा वर्षौँदेखिको खानेपानी समस्या समाधान हुने विश्वास व्यक्त गरे । स्थानीयका अनुसार पाखा पानी डाँडा गाउँ क्षेत्रमा करिब ७० घरधुरी दलित समुदायको बसोबास रहेको छ ।
योजनाका सचिव चिनबहादुर बिकका अनुसार खानेपानी सँगै सरसफाइ अभियान पनि सँगसँगै सञ्चालन गरिनेछ । योजनालाई दिगो र गुणस्तरीय बनाउन ९० सेन्टिमिटर गहिराइमा पाइपलाइन बिछ्याउने काम भइरहेको उनले बताए ।
यसै गरी कालीमाटी गाउँपालिका वडा नं। ३ मा फारुला जुगेना खानेपानी तथा सरसफाइ योजनाको निर्माण कार्य पनि जारी छ । ९२ लाख ६३ हजार २४६ रुपैयाँ लागत रहेको यस योजनाबाट ११८ घरधुरी लाभान्वित हुनेछन् ।
योजनामा पालिकाबाट २१ लाख ६६ हजार ६६१ रुपैयाँ, हेल्बटास नेपालबाट ४८ लाख ४९ हजार ७०९ रुपैयाँ तथा स्थानीय जनसहभागिताबाट २२ लाख ४६ हजार ८७६ रुपैयाँ लगानी रहनेछ ।
कालीमाटी गाउँपालिका वडा नं। ४ मा पिप्ले खानेपानी तथा सरसफाइ योजना सञ्चालन भइरहेको छ । २५ लाख ७१ हजार ६२१ रुपैयाँ लागत रहेको यस योजनाबाट ३५ घरधुरी लाभान्वित हुनेछन् ।
यस योजनामा पालिकाको ६ लाख ३८ हजार ४०२ रुपैयाँ, हेल्बेटास नेपालको १३ लाख ११ हजार २६ रुपैयाँ र स्थानीय जनसहभागिताबाट ६ लाख २२ हजार १९३ रुपैयाँ बराबरको योगदान रहेको छ ।
त्यस्तै कालीमाटी गाउँपालिका वडा नं। ५ मा खैरला खानेपानी तथा सरसफाइ योजना कार्यान्वयनको चरणमा छ । ३५ लाख ६२ हजार ९२८ रुपैयाँ लागत रहेको यस योजनाबाट ३५ घरधुरी लाभान्वित हुनेछन् ।
योजनामा पालिकाबाट ८ लाख ६६ हजार २७१ रुपैयाँ, हेल्बटास नेपालबाट १८ लाख ७८ हजार ४९६ रुपैयाँ तथा स्थानीय जनसहभागिताबाट ८ लाख १८ हजार १६१ रुपैयाँ योगदान रहेको छ ।
कालीमाटी गाउँपालिकाका अध्यक्ष दानबहादुर केसीले हेल्बटास नेपालसँगको साझेदारीमा पालिकाले दलित तथा पिछडिएका समुदायलाई प्राथमिकतामा राख्दै खानेपानी तथा सरसफाइका योजना अघि बढाइरहेको हो ।
योजनाले खानेपानी अभावका कारण दैनिक जीवन कष्टकर बन्दै आएको समुदायमा सुदृढ खानेपानी सुविधा पु¥याउने लक्ष्य राखेको हेल्बटास नेपालका प्राविधिक सहजकर्ता सुन्दर नेपालले जानकारी दिए ।