© 2026
बुटवल । माघको चिसोमा बुटवल लोक–रक ब्याण्ड नेपथ्यका गीतमा झुमेको छ। हेटौंडाबाट शुरु भएको लोक–रक ब्याण्ड नेपथ्यले यो वर्षको नेपाल यात्राअन्तरगत शनिबार बुटवलमा धुम मचायो।
बुटवल रामनगरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्र परिसरमा भएको कन्सर्टमा गायक अमृत गुरुङले ‘हो रामा रामा’ बाट कन्सर्टको सुरूआत गरेका थिए।
‘शिरफूल शिरैमा वनफूल वनैमा
हिउँको फूल धौलासिरिमा’
उनले लुम्बिनीको रुकुमदेखि मुस्ताङको जोमसोमसम्मका कथा सुनाउँदै गीतहरु सुनाए।
स्टेजबाट नेपथ्यको चर्चित गीत ‘भेँडाको ऊनजस्तो’ घन्किरहँदा मैदानमा तन्नेरीहरु उफ्रिरहेका देखिन्थे। गीतमा भने झैं चिसोका कारण सम्मेलन केन्द्रको मैदान पनि हुस्सुले ढाक्दै थियो।
नेपथ्यको उर्जामय वातावरणमा चर्चित गीत ‘छेक्यो छेक्यो’ घन्कियो, तन्नेरीहरु रमाईरमाई उफ्रन थाले। ‘आँगनैभरि’ गाउने बेलामा भने गायक अमृत गुरुङ र दर्शक दुबै ब्याण्ड स्थापनाका क्षण सम्झेर भावुक भएका थिए।
‘यो गीत मैले तयार पार्ने बेलामा तपाईंहरु धेरैजना त जन्मनु पनि भएको थिएन,’ ठट्टा गर्दै गायक अमृतले भने, ‘यतिबेला गाइरहँदा मलाई तपाईंकै उमेरको त्यो क्षणमा पुगेको महशुस भइरहेको छ।’ आफ्ना साथीभाई सम्झेर यो गीतमा झुमौं है…. भन्दै अमृतले बुटवललाई नचाए।
त्यसपछि अमृतले एकपछि अर्कोगर्दै झण्डै बराबर मात्रामा नयाँ र पुराना एल्बमका गीतहरु सुनाए।
कन्सर्टमा हजारौंको संख्यामा उपस्थित दर्शक–श्रोताले उत्साहका साथ नाचेर सहभागिता जनाएका थिए। उनले देशमा समस्या परेका व्यक्तिहरुलाई सहयोग गर्न आह्वान गर्दै आउँदै गरेको निर्वाचनमा मत व्यक्त गरी अधिकार प्रयोग गर्न आग्रह पनि गरे।
गायक अमृतले भने, ‘यसपाला चुनावमा कसैको पनि लोभ वा डर नमानेर मुलुकका लागि असल नेतृत्वको चयन गर्नु तपाईं हामी सबैको कर्तव्य हो।’
उनले शिक्षामा सुधार ल्याउन जरुरी रहेको र विद्यालय जान नपाएका बालबालिकाहरुलाई विद्यालय जाने वातावरण बनाउन सबैले लाग्नुपर्ने बताएका थिए। ‘यो संसारमा थोरै राम्रा मानिसको मानवीयताले गर्दा धेरै मानिसले बाँच्ने मौका पाइरहेका छन्’, अमृतले दर्शकहरुलाई अनुरोध गर्दै भने, ‘तपाईंहरुको छेउछाउमा स्कुल जान नपाएका बालबालिका छन् भने उनीहरुलाई शिक्षाको उज्यालोसम्म नजिक्याएर पुण्य कमाउन नछुटाउनुस् है।’
उनले कर्णाली भेगको दुःख र त्यसकैबीच पनि सन्तोष मानेर बाँचिरहेका बासिन्दाको खुशी अनुभव गर्न त्यसतर्फको यात्रा पनि जरूरी रहेको औंल्याउँदै ‘कर्नालीका छाइला’ पनि सुनाए।
यसै क्रममा ब्याण्डको अर्को सर्वकालिक हिट गीत ‘यो जिन्दगानी’ गाइएको थियो। कन्सर्ट अघि बढ्दै जाँदा ‘गाउँ गाउँबाट उठ’ को पालो आइपुग्यो। दर्शकले वान्स मोर भन्दै गीतलाई दोहोर्याउन मागिरहेका थिए। तर तोकिएको समय सकिनै लागेपछि कार्यक्रमको अन्त्यतिर ‘रेशम’ र ‘तालको पानी’ गाइयो भने अन्तिममा राष्ट्रिय भावनाले भरिएको ‘रातो र चन्द्रसूर्जे’ बाट कन्सर्ट टुंग्याइएको थियो।