Butwal Today

कतारमा “माङी त्हे रि-च्हमी कै पिवा” चेलीबेटी सम्मान कार्यक्रम सम्पन्न

२४ माघ २०८२, शनिबार
अ+
अ-

कतार ।

तमु समुदायको मौलिक संस्कृति, परम्परा र चेलीबेटीप्रतिको सम्मानभावलाई जीवन्त राख्ने उद्देश्यका साथ तमु (गुरुङ) समाज कतार र प्ये ल्हु संघ शाखा कतारको संयुक्त आयोजनामा “माङी त्हे चेलीबेटी भेटघाट (रि-च्हमी कै पिवा)” सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

शुक्रबार फूलबारी रेस्टुरेन्टको सभा हलमा आयोजित कार्यक्रममा कतारमा रहेका तमु समुदायका चेलीबेटी तथा गैर–गुरुङ चेलीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । चेली र माइतीबीचको माया, सद्भाव तथा दाइ–बहिनीको पवित्र सम्बन्धलाई दिगो बनाउने उद्देश्यसहित कार्यक्रम सम्पन्न गरिएको आयोजकले जनाएको छ ।

तमु संस्कारअनुसार गुरु नवीन टु क्ल्हेप्रीले विधिपूर्वक पूजा–अर्चना गरी कार्यक्रमको सुरुवात गरेका थिए । कार्यक्रममा क्ल्हेप्री गुरु, पच्यु गुरु र बोन्पो लम गुरुहरूलाई गुरुङ परम्पराअनुसार फेटा ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा सहभागी नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष राकेश श्रेष्ठलाई पनि भाङ्ग्रा र फेटाले सम्मान गरिएको थियो ।

तमु गुरुङ समाज कतारका अध्यक्ष चन्द्रप्रकाश (दिनेश) र नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष राकेश श्रेष्ठको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

तमु प्ये ल्हु संघ कतारका अध्यक्ष तथा कार्यक्रम संयोजक राम ल्हेगे तमुले स्वागत मन्तव्य व्यक्त गर्दै चेलीबेटी माइतीको गहना र माइती चेलीबेटीको इज्जत हुने धारणा राखे । जन्मदेखि मृत्यु संस्कारसम्मको सम्बन्ध जीवनपर्यन्त रहने उनले बताए । गुरु नवीन टु क्ल्हेप्रीले आशिषमाला पनि वाचन गरेका थिए ।

राकेश श्रेष्ठले आफ्नो मन्तव्यमा विगतका वर्षहरूको तुलनामा यस वर्ष तमु ल्होसार र चेलीबेटी भेटघाट कार्यक्रम दुई संस्थाले संयुक्त रूपमा आयोजना गरेकोमा खुसी व्यक्त गरे । यस्ता कार्यक्रमले समाजमा मेलमिलाप, एकता र आपसी सद्भाव बढाउन महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो । कार्यक्रममा उनलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।

कार्यक्रममा सहभागी चेलीबेटीहरूलाई सम्मानपूर्वक मायाको प्रतीकस्वरूप कोसेली प्रदान गरिएको थियो । नेपाल प्रवासी तामाङ समाज कतार र लमजुङ समाज कतारले सगुन कोसेली प्रदान गरेका थिए । पाल्पाली सेवा समाज र हरिनास गाउँपालिका इकाई कतारले पनि कोसेलीसहित महिला संयोजक तथा निर्देशक–सल्लाहकार टौमाया गुरुङलाई पछ्यौरी ओढाएर गुन्यु–चोली प्रदान गर्दै सम्मान गरेका थिए । कोसेली प्रदान गर्ने संस्थाहरूलाई गुरुङ परम्पराअनुसार दस्तुरसहित चेलीबेटीलाई बिदाइ गरिएको थियो ।

समाजले आयोजना गरेका कार्यक्रमहरूमा गायन तथा नृत्य प्रस्तुति दिएका तमु सांस्कृतिक परिवारका कलाकारहरूलाई सम्मान गरिएको थियो । साथै तमु ल्होसार कार्यक्रमलाई विभिन्न रूपमा सहयोग गरेका संघ–संस्था, दाता तथा कार्यसमिति पदाधिकारीहरूलाई पनि सम्मानपत्र र मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै चन्द्रप्रकाश (दिनेश) ले चेलीबेटीहरू समुदायको आधार, संस्कार र पहिचानका संवाहक भएको उल्लेख गर्दै उनीहरूको सम्मान गर्नु सम्पूर्ण समुदायको दायित्व भएको बताए । आगामी दिनमा पनि दुई संस्थाले संयुक्त रूपमा तमु समुदायका चाडपर्व तथा सांस्कृतिक गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

माङी त्हे तमु समुदायको पहिचान र संस्कृतिसँग जोडिएको महत्वपूर्ण पर्वका रूपमा मनाइँदै आएको छ ।