© 2026
काठमााडौं-आइसिसी टी–२० विश्वकपको दसौँ संस्करण शनिबारदेखि भारत र श्रीलंकामा सुरु हुँदै छ । भारत र श्रीलंका आयोजक रहने विश्वकपको पहिलो खेल भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा हुँदैछ।
शनिबार बेलुकी नेपाली समयअनुसार सवा ७ बजे आयोजक राष्ट्र भारत र अमेरिका उद्घाटन खेलमा भिड्दैछन्। उद्घाटन खेलअघि वानखेडे स्टेडियममा भव्य उद्घाटन समारोह हुँनेछ।
नेपाली समय अनुसार साँझ ६:१५ बजे (भारतीय समय ६ बजे) देखि सुरु हुने यो समारोहमा संगीत र नृत्यको विशेष प्रस्तुति रहनेछ। त्यसपछि विश्वकपको ट्रफीलाई मैदानमा भित्र्याइनेछ।
समारोहको सुरुवात ऋषभ शर्मा र शिवमणिको सांगीतिक प्रस्तुतिबाट हुनेछ। त्यसपछि सबैलाई अचम्मित पार्दै एक ‘जेटप्याक’ कलाकारले विश्वकप ट्रफीलाई उड्दै स्टेडियमभित्र ल्याउनेछन्।
आईसीसी अध्यक्ष जय शाह र पूर्व भारतीय कप्तान रोहित शर्मा (जसले २०२४ मा भारतलाई विश्वकप जिताएका थिए) ले ट्रफीको स्वागत गर्नेछन्। सहभागी २० वटै देशका बालबालिकाहरूसँगै मिलेर उनीहरूले आधिकारिक रूपमा विश्वकप सुरु भएको घोषणा गर्नेछन्।
त्यसपछि चर्चित गायक बादशाह र कलाकार नोरा फतेहीले आफ्नो दमदार गायन र नृत्य प्रस्तुत गर्नेछन्। धेरै कलाकारहरूको साथमा उनीहरूले समारोहको अन्त्यमा संयुक्त प्रस्तुति दिनेछन्।
यो समारोहलाई टी-२० क्रिकेटको गति र उत्साह झल्किने गरी तयार पारिएको छ। कार्यक्रमको अन्त्यमा भव्य आतिशबाजी गरिनेछ र बेलुकी ७:१५ बजे (भारतीय समय ७ बजे) देखि भारत र अमेरिकाबीचको खेल सुरु हुनेछ।
आइसिसीले दोस्रोपटक सबैभन्दा धेरै २० टिम विश्वकपमा सहभागी गराएको छ । यसअघि सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा भएको प्रतियोगितामा पहिलोपटक २० टिमलाई सहभागी गराइएको थियो । त्यसअघि सन् २००७ देखि २०१२ सम्म १२ टिम र सन् २०१४ देखि २०२२ सम्म १४ टिमले विश्वकप खेल्ने गरेका थिए ।
अहिले सहभागी टिमलाई चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहबाट दुई टिम सुपर–८ मा पुग्नेछन् । सुपर–८ मा पुग्ने आठ टिमले अर्काे विश्वकपमा सिधै स्थान बनाउनेछन् ।
यसपटक विश्वकपमा दुई–दुईपटकका च्याम्पियन इंग्ल्यान्ड, भारत र वेस्ट इन्डिज तथा समान एकपटक च्याम्पियन भएका अस्ट्रेलिया, पाकिस्तान र श्रीलंका सहभागी छन् । यस्तै, एकपटक उपविजेता भएका न्युजिल्यान्ड, दक्षिण अफ्रिकासँगै अफगानिस्तान, बंगलादेश, आयरल्यान्ड, अमेरिका, नेदरल्यान्ड्स, स्कटल्यान्ड, जिम्बावे, नामिबिया, ओमान, क्यानडा, युएई र नेपाल सहभागी छन् ।
यसपटकको विश्वकपमा नेपाल समूह ‘सी’ मा छ। यो समूहमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली छन्।
नेपालको खेल भोलि इंग्ल्याण्डसँग
प्रतियोगिताको दोस्रो दिन आइतबार नेपालले दुईपटकको च्याम्पियन इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल तेस्रोपटक विश्वकपमा सहभागी हुन लागेको हो । पहिलोपटक सन् २०१४ मा टी–२० विश्वकप खेलेको थियो । त्यसको १० वर्षपछि नेपालले दोस्रोपटक पछिल्लो सिजन खेलेको थियो ।
नेपाल र इंग्ल्यान्डबिचको खेल मुम्बईस्थित वानखेडे रंगशालामा नेपाली समयअनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ । भारतको चर्चित यो रंगशालामा नेपालले पहिलोपटक खेल्न लागेको हो । समूह ‘सी’मा रहेको नेपालले आफ्ना चारवटै खेल नै यही मैदानमा खेल्नेछ ।
नेपालले २९ माघमा दोस्रो खेलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । इटाली पहिलोपटक विश्वकप खेल्दै छ । त्यसपछि २ फागुनमा पूर्वविजेता वेस्ट इन्डिज र ४ फागुनमा स्कटल्यान्डसँग भिड्ने तालिका छ ।
समूह चरणमा नेपालको अन्तिम खेल स्कटल्यान्डसँग फेब्रुअरी १७ (फागुन ५) मा हुनेछ। नेपालका चारै खेलमा मुम्बईमा हुनेछन्। समूहमा शीर्ष दुईमा परेमा नेपाल सुपर-८ मा पुग्ने सम्भावना हुनेछ।
नेपाली टोली
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान) सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्शन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम।