© 2026
बर्दिया, २३ माघ ।
तराई–मधेस क्षेत्रमा गुइँठा आज पनि महत्त्वपूर्ण वैकल्पिक ऊर्जाको स्रोतका रूपमा प्रयोग हुँदै आएको छ ।
विशेष गरी थारु, यादव र मधेसी समुदायमा पुस्तौँदेखि गाई भैँसीको गोबरबाट बनाइने गुइँठा खाना पकाउने, आगो ताप्ने तथा धार्मिक कार्यमा प्रयोग हुँदै आएको छ । आधुनिक ऊर्जा स्रोतको पहुँच बिस्तार भए पनि गुइँठा तराईका धेरै समुदायका लागि आज पनि दैनिकीसँग गहिरो रूपमा जोडिएको ऊर्जा हो ।
तराई भेगका अधिकांश ग्रामीण बस्तीमा विगतमा प्रत्येक घरमा गाई भैँसी पाल्ने चलन थियो । दाउरा सहजै उपलब्ध हुँदाहुँदै पनि आगोको स्वाद र टिकाउपनका कारण गुइँठा प्रयोग गर्ने परम्परा विकसित भएको स्थानीयको भनाइ छ ।
बाँकेको बढैयाताल गाउँपालिका–५ का स्थानीय दिपु यादवका अनुसार जङ्गल नजिकै भए पनि अहिले अधिकांश वन क्षेत्र सामुदायिक वनका रूपमा व्यवस्थापन गरिएकाले दाउरा पाउन कठिन हुँदै गएको छ । “हाम्रो गाउँ नजिक जङ्गल भए पनि दाउरा ल्याउन पाउन मुस्किल छ,” उनले भने, “हामी पुस्तौँदेखि भैँसी पालन गर्दै आएका छौँ । भैँसीकै गोबरबाट गुइँठा बनाएर दाउराको विकल्पमा प्रयोग गर्दै आएका छौँ ।” यादवका अनुसार गुइँठा खाना पकाउने मात्र होइन, धार्मिक कार्यमा पनि अनिवार्य जस्तै प्रयोग हुन्छ । “पूजा–पाठमा गुइँठाको आगो शुद्ध मानिन्छ,” उनी भन्छन्, “त्यसैले हाम्रो समुदायले पूजामा गुइँठाकै आगो प्रयोग गर्छ । अहिले ग्यास महँगो हुँदै गएको छ, दाउरा पाइँदैन, तर गुइँठा भने बिना लागतकै ऊर्जा हो ।”
गुइँठा परम्परागत ऊर्जा मात्र नभई स्वास्थ्य र स्वादसँग पनि जोडिएको छ । बाँकेको जानकी गाउँपालिका–६ की ६५ वर्षीया राप्यारी यादवले आफूले जीवनभर गुइँठामै पकाएको खाना खाँदै आएको बताइन् । “गुइँठामा पकाएको खाना स्वादिलो र पौष्टिक हुन्छ,” उनले भनिन्, “म अहिलेसम्म ग्यास वा अन्य दाउरामा पकाएको खानामा अभ्यस्त भएकी छैन ।”
उनका अनुसार गुइँठा मधेसी समुदायको संस्कृति र परम्परासँग गहिरो रूपमा गाँसिएको छ । “पूजा होस्, संस्कार होस् वा दाहसंस्कार – पहिला गुइँठाकै आगो प्रयोग गर्ने चलन छ,” उनले भनिन् । विगतमा गाई भैँसी धेरै भएकाले एक–दुई महिना बनाएको गुइँठाले वर्षभरि खाना पकाउन पुग्थ्यो । तर अहिले पशुपालन घट्दै जाँदा वर्षैभरि गुइँठा बनाइरहनु पर्ने अवस्था आएको स्थानीय रामप्यारी थारुको भनाइ छ ।
“मेरो घरमा अहिले चार ओटा भैँसी र दुई ओटा गोरु छन्,” उनले भनिन्, “छोराले ग्यास प्रयोग गरौँ भन्छन्, तर म सकेसम्म गुइँठा नै प्रयोग गर्छु भनेर अडान लिएकी छु ।”
गुइँठा शून्य लागतमा तयार गर्न सकिने ऊर्जा भए पनि यसको संरक्षण र भण्डारण चुनौतीपूर्ण रहेको स्थानीय बताउँछन् । गुलरिया नगरपालिका–१२ की थारुका अनुसार गुइँठा बनाउन गोबरमा परालको भुसा र आवश्यक मात्रामा पानी मिसाइन्छ । “गुइँठा बनाउन सजिलो छ, तर यसलाई सुकाउन र पानीबाट जोगाउन गाह्रो हुन्छ,” उनले भनिन्, “ठिकसँग सुकाएर सुरक्षित राख्न सकियो भने वर्षौँसम्म प्रयोग गर्न सकिन्छ ।”
रामप्यारी थारुका अनुसार गुइँठामा पकाएको खाना शुद्ध मात्र होइन, आफ्नो मौलिक स्वाद पनि कायम रहन्छ । तर पछिल्लो समय गाई भैँसी पाल्ने क्रम घट्दै जाँदा गुइँठा पाउनै मुस्किल हुँदै गएको उनले बताइन् । “यदि यस्तै क्रमले पशुपालन घट्दै गयो भने गुइँठा मात्रै होइन, मधेसी र थारु समुदायको एउटा ऐतिहासिक परम्परासमेत सङ्कटमा पर्न सक्छ,” उनले चिन्ता व्यक्त गरिन् ।
स्थानीय समुदायका अनुसार गुइँठा मधेसी र थारु समुदायको वैकल्पिक ऊर्जा मात्र होइन, सांस्कृतिक पहिचान पनि हो । पुस्तौँदेखि प्रयोग हुँदै आएको यो ऊर्जा स्रोतलाई संरक्षण नगर्ने हो भने आधुनिकतासँगै हराउने जोखिम बढ्दै गएको उनीहरूको भनाइ छ ।
स्थानीयवासीले गुइँठाको संरक्षण केवल प्रयोगकर्ताको जिम्मेवारी मात्र नभई राज्यको पनि दायित्व भएको बताउँदै आएका छन् । पशुपालन प्रवर्द्धन, परम्परागत ऊर्जा संरक्षण र स्वच्छ ऊर्जाको रूपमा गुइँठालाई मान्यता दिन सके तराई–मधेसका ग्रामीण भेगमा ऊर्जा सङ्कट समाधान गर्न समेत मद्दत पुग्ने उनीहरूको धारणा छ ।
ग्यास, विद्युत् र आधुनिक ऊर्जाको प्रयोग बढ्दै गए पनि गुइँठा आज पनि तराईका धेरै घर–परिवारको भान्सामा जीवित छ । परम्परा, संस्कृति र दिगोपनको प्रतीक बनेको गुइँठा संरक्षणतर्फ ध्यान नदिने हो भने यो ऊर्जा मात्र होइन, एउटा पुस्तागत इतिहाससमेत हराउने खतरा बढ्दै गएको स्थानीयको आवाज छ ।
गोवरका गुइँठालाई वैकल्पिक ऊर्जाको रूपमा प्रयोग गर्न स्थानीय तहहरूले पनि कुनै योजना र कार्यक्रम अगाडि बढाएको पाइएको छैन । जानकी गाउँपालिका पशु शाखाका अधिकृत दिलबहादुर खड्काका अनुसार यससम्बन्धी कुनै कार्यक्रम र योजना पालिकाले अगाडि सारेको छैन ।
“गुइँठा वैकल्पिक ऊर्जाको स्रोत हो, यसलाई प्रोत्साहन गर्न राजनीतिक तहबाटै योजना र कार्यक्रम आउनुपर्छ, अनि बल्ल पालिकाबाट कार्यान्वयन गर्न सजिलो हुन्छ” उनले भने ।