© 2026
काठमाडौँ ।
रूसका एक वरिष्ठ जनरलमाथि शुक्रबार बिहान मस्कोको एक अपार्टमेन्ट भवनमा गोली प्रहार भएको छ ।
उनलाई अस्पतालमा भर्ना गरिएको अधिकारीहरूले बताएका छन् । पछिल्लो समय एक शीर्ष रूसी सैन्य व्यक्तित्वमाथि भएको यो घटनालाई स्पष्ट हत्या प्रयासका रूपमा हेरिएको छ ।
प्रमुख गम्भीर अपराधहरूको अनुसन्धान गर्ने रूसको अनुसन्धान समितिले रूसी जनरल स्टाफमा वरिष्ठ भूमिका निर्वाह गरिरहनुभएका जनरल भ्लादिमिर अलेक्सेभमाथि घटनास्थलबाट भाग्नुअघि ‘अज्ञात व्यक्तिले धेरै पटक गोली हानेको’ जनाएको छ ।
“पीडितलाई अस्पतालमा भर्ना गरिएको छ”, अनुसन्धान समितिले जारी गरेको विज्ञप्तिमा थप उल्लेख गरिएको छ । घटनामा संलग्न सन्दिग्ध व्यक्ति वा व्यक्तिहरूको पहिचानबारे भने समितिले कुनै विवरण दिएको छैन ।
फेब्रुअरी २०२२ मा मस्कोले युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेयता धेरै उच्च पदस्थ रूसी सैन्य अधिकारीहरू मारिएका छन् । तीमध्ये केही आक्रमणको जिम्मेवारी किएभले लिएको छ ।
अनलाइन जीवनीअनुसार जनरल अलेक्सेभ एक क्यारियर सैन्य अधिकारी हुन र हाल रूसी जनरल स्टाफको पहिलो उप–प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।
उनले सिरियामा रूसको सैन्य हस्तक्षेपका क्रममा गुप्तचर कारबाहीको नेतृत्व गरेका थिए र त्यतिबेला वर्तमान नेता बशर अल–असदलाई समर्थन गरेका थिए ।
साथै, सन् २०२३ मा रुसी सेनाका शीर्ष अधिकारीहरूविरुद्ध विद्रोह गर्ने प्रयास हुँदा वागनर समूहका प्रमुख येवगेनी प्रिगोझिनसँग वार्ता गर्न उनलाई पठाइएको थियो ।
“माथि उल्लिखित अपराधमा संलग्न व्यक्ति वा व्यक्तिहरूको पहिचान गर्न अनुसन्धान प्रक्रिया र परिचालन खोजीका सबै उपायहरू अपनाइरहेका छौँ”, अनुसन्धान समितिकी प्रवक्ता स्वेतलाना पेट्रेन्कोले विज्ञप्तिमार्फत भने ।
गत महिना एक रूसी अदालतले सन् २०२४ मा रूसी सेनाको रेडियोलोजिकल, केमिकल तथा बायोलोजिकल डिफेन्स फोर्सका प्रमुख जनरल इगोर किरिलोभको हत्या गरेको अभियोगमा उज्बेकिस्तानका एक नागरिकलाई आजीवन कारावासको सजाय सुनाएको थियो ।
जनरल किरिलोभ मस्कोमा एउटा अपार्टमेन्ट ब्लक छोड्ने क्रममा बुबी–ट्र्याप गरिएको स्कुटर विस्फोट हुँदा मारिएका थिए । उक्त आक्रमण आफूहरूले योजनाबद्ध रूपमा गराएको दाबी किएभले गरेको थियो । रासस