चितवन ।
विश्वसम्पदा सूचीमा परेका कारण कालोपत्र हुन नसकेको हुलाकी सडकको चितवन राष्ट्रिय निकुञ्जभित्रका सडकमा मोज्याक टायल लगाउने काम थालिएको छ । माडी नगरपालिकाको बजेटमा उपभोक्ता समितिमार्फत काम सुरु गरिएको हो ।
वनकट्टा चेकपोष्ट नजिक इन्टरब्लक बिछ्याउने काम उपभोक्ता समितिमार्फत मोज्याक (इन्टरब्लक) को काम सुरु गरिएको हो । उपभोक्ता समितिका अध्यक्ष विकास ढकालका अनुसार लागत अनुमानमा ३४ मिटर क्षेत्रमा मोज्याक लगाउने भनिएको भए पनि ४२ मिटर सडकमा मोज्याक लगाउन लागिएको छ ।
सात मिटर चौडाइ सडकमा मोज्याक बिछ्याउन लागिएको हो । नगरपालिकाले रु १० लाख विनियोजन गरेर उपभोक्ता समितिमार्फत पहिलो चरणमा परीक्षणका रुपमा काम सुरु गरेको हो ।
सडकको एकातर्फ कर्भस्टोन लगाइएको छ । अर्कोतर्फको काम शनिबारसम्ममा सम्पन्न गरेर एक साताभित्र मोज्याक टायल बिछ्याउने काम सम्पन्न गरिने उनले जानकारी दिए । नगर प्रमुख तारा काजीकुमारी महतोका अनुसार कालोपत्र गर्न नमिलेपछि सडकलाई धुलोरहित बनाउन मोज्याक टायल लगाउन लागिएको हो ।
यसका लागि वन मन्त्रालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई आवश्यक सहजीकरण गरिदिन पत्राचार गरिसकेको छ । विभागले चितवन राष्ट्रिय निकुञ्जलाई सडकमा मोज्याक टायल लगाउनका लागि आवश्यक सहजीकरण गर्न पत्राचार गरेको छ ।
प्रमुख महतोले चालु आर्थिक वर्षमा नगरपालिकाले मोज्याक टायलका लागि रु पाँच करोड ५० लाख विनियोजन गरेको छ । परीक्षणका रुपमा उपभोक्ता समिति बनाएर थोरै ठाउँमा काम गरेपछि प्रभावकारिताका आधारमा थप क्षेत्रमा काम गरिने उनले जानकारी दिए।
कसराको राप्ती पुलबाट रिउखोलासम्म करिब नौ किलोमिटर सडक निकुञ्जभित्र पर्दछ । त्यसमध्ये राजपत्रमा प्रकाशित भएको सुविधा प्राप्त बाटो भनी उल्लेख गरेको रिउ खोलादेखि ध्रुव पोष्टसम्मको सडकलाई पहिलो प्राथमिकता राखिएको छ । करिब पाँच किलोमिटर सडक रहेको सुविधा प्राप्त बाटोको काम सुरुमा गरिने प्रमुख महतोले जानकारी दिए ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार विभागले मन्त्रालयमा भएको सहमतिअनुसार सडकमा मोज्याक टायल लगाउनका लागि आवश्यक सहजीकरण गरिदिन पत्र पठाएको छ । उनले भने, “काम माडी नगरपालिकाले गर्दैछ, आवश्यक सहजीकरण हामीले गर्छौं ।”
माडीका नागरिकले पटकपटक सो सडकलाई धुलोरहित बनाउन माग गर्दै आएका थिए । जेनजी आन्दोलनका क्रममा माडीमा कुनै सरकारी वा निजी सम्पत्तिमाथि आक्रमण नगर्ने तर निकुञ्जभित्रको सडक निर्माण गर्ने सहमति भएको थियो । सोहीअनुसार माडीका आन्दोलनकारीले सो क्षेत्रमा कुनै पनि संरचनामाथि आक्रमण गरेका थिएनन् ।
त्यसलगत्तै माडीका जनप्रतिनिधि, आन्दोलनकारी, राजनीतिक दललगायत सरोकारवालाहरुले वन तथा वातावरण मन्त्रालयमा पुगेर सडकमा कालोपत्र नगर्ने तर मोज्याक वा ढुङ्गा लगाएर धुलोरहित बनाउने सहमति गरेका थिए । माडी जान चितवन राष्ट्रिय निकुञ्ज हुँदै पुग्नुपर्ने हुन्छ ।
माडी क्षेत्रलाई सबैतिर जङ्गलले घेरेको छ । उर्भर भएर पनि सो क्षेत्रका बासिन्दा वन्यजन्तुबाट प्रभावित छन् । सदरमुकाम भरतपुर आवतजावत गर्ने यो मात्रै सडक हो । रासस