Butwal Today

प्रलोपाले गर्‍यो रूपन्देही–३ का उम्मेदवार काराखेतीलाई निष्कासन

२३ माघ २०८२, शुक्रबार
अ+
अ-

बुटवल । बाबुराम भट्टराई नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीले रूपन्देही क्षेत्र नं. ३ का उम्मेदवार गोविन्द काराखेतीलाई पार्टीबाट निष्कासन गरेको छ।

काराखेतीले पार्टीको नीति, सिद्धान्त र विधानको गम्भीर उल्लंघन गरेको पुष्टि भएपछि पार्टीबाट निष्कासन गरिएको प्रलोपाका रूपन्देही इन्चार्ज पङ्कज राईले बताएका छन्।

राईले शुक्रबार विज्ञप्ति निकाल्दै निर्वाचनको संघारमा पार्टीको नीति, सिद्धान्त र विधान विपरीत गतिविधि गरेको ठहर गर्दै काराखेतीलाई पार्टीबाट निष्कासन गरिएको उल्लेख गरेका छन्।

राईका अनुसार काराखेतीले उम्मेदवारी कायम रहेकै अवस्थामा अर्को राजनीतिक दललाई समर्थन गर्ने तयारी गरेको र पार्टीको अनुशासन उल्लंघन गरेको पुष्टि भएपछि पार्टीबाट निष्कासन गरिएको हो।

राईका अनुसार उम्मेदवार काराखेतीले उम्मेदवारी दर्ता गरेदेखि नै निर्वाचनका लागि भन्दै पार्टीसँग रकम माग गर्दै आएका थिए।

‘उहाँले निर्वाचनका लागि पार्टीसँग पैसा माग्दै आउनुभएको थियो,’ जिल्ला इन्चार्ज राईले भने, ‘हामीले पार्टीसँग तत्काल त्यस्तो कोष नभएको र शुभेच्छुकहरूबाट सहयोग संकलन भएपछि रकम उपलब्ध गराउने भनेका थियौं तर, उहाँले त्यसलाई बहाना बनाएर पार्टीको हित विपरीत काम गर्न सुरू गर्नुभयो।’

प्रलोपाले आफ्ना उम्मेदवारहरूलाई स्वेच्छिक सहयोग र जनपरिचालनका आधारमा निर्वाचन लड्न निर्देशन दिँदै आएको छ। तर काराखेतीले आर्थिक सहयोग नपाएको झोँकमा विपक्षी दलसँग साँठगाँठ बढाएको आरोप पार्टीले लगाएको छ।

उनलाई निष्कासन गरेपछि रूपन्देही–३ मा पार्टीको उम्मेदवार नहुने भएकाले अब कसलाई समर्थन गर्ने वा के गर्ने भन्ने विषयमा पार्टीको बैठकले छिट्टै निर्णय गर्ने पनि राईले बताए।

यता काराखेतीले भने सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आफू पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको आग्रहपछि उम्मेदवारी दिए पनि पुराना ठूला भनिएका दलहरूको सरकारले देश र जनताको पक्षमा म राम्रो काम गर्न नसक्ने देखेपछि राष्ट्रिय स्वतन्त्र पार्टीलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको बताएका छन्।