© 2026
लुम्बिनी ।
लुम्बिनी सांस्कृतिक नगरपालिका–स्थित पडरिया क्षेत्रमा भव्य रूपमा आयोजना गरिएको इन्डो–नेपाल क्रिकेट टुर्नामेन्ट पिएलपिएल सिजन–८को उपाधि बेलाल टूर ट्राभेलले जितेको छ।
लुम्बिनी नव युवा क्लबको आयोजनामा सञ्चालन भएको उक्त प्रतियोगिताको बिहीबार सम्पन्न ग्रान्ड फाइनल खेल माटी सिसी सनाईलाई पराजित गर्दै बेलाल टूर ट्राभेल च्याम्पियन बनेको हो। उपाधिसँगै बेलाल टूर ट्राभेलले नगद ३ लाख रुपैयाँ र प्रशंसा पत्रप्राप्त गरेको छ भने उपविजेता बनेको टीसिसी सनाईले नगद १ लाख ५० हजार रुपैयाँ र प्रशंसा पत्र प्राप्त गरेको छ।
फेब्रुअरी ५, २०२६ मा ग्रान्ड फाइनलसहित सम्पन्न प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोहमा लुम्बिनी प्रदेश सरकारका खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेको उपस्थित रहेको थियो । समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले लुम्बिनी प्रदेशमा खेलकुदको सर्वाङ्गीण विकासका लागि प्रदेश सरकार सधैँ सकारात्मक रहेको र आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले यस्ता स्थानीय तथा अन्तरदेशीय क्रिकेट प्रतियोगिताले युवाहरूमा खेलप्रतिको आकर्षण बढाउनुका साथै लुकेका प्रतिभाहरू उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रममा लुम्बिनी नव युवा क्लबका अध्यक्ष अहमद हुसेन खान, लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक नगरप्रमुख कल्पना हरिजन, नगर प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष इनामुल्लाह फकिर, वडा नं. १ का अध्यक्ष सुरज कलवार, वडा नं. ३ का अध्यक्ष अक्रामुद्दीन, वडा नं. ४ का अध्यक्ष विनोद कुमार श्रीवास्तव तथा वडा नं. ५ का अध्यक्ष खुर्सेद आलम मुसलमान लगायतको उपस्थिति रहेको थियो ।