© 2026
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीमा प्राइमरी इलेक्सनबारे अर्को विवाद सतहमा आएको छ। रास्वपाबाट रुपन्देही–१ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार सिफारिस भएका डा. श्री कुँवरले पार्टीको उम्मेदवार छनोटको तरिकाप्रति असहमति जनाउँदै पार्टी परित्याग गरेका छन् ।
रुपन्देही–१ बाट सिफारिश भएका कुँवरसहित ६ जना सिफारिस भएकोमा प्राइमरी इलेक्सन नगरी पार्टीले सो क्षेत्रमा रास्वपा वरिष्ठ नेता बालेन शाह काठमाडौंको मेयर हुँदा सल्लाहकारको भूमिकामा रहेका सुनिल लम्साललाई उम्मेदवार बनाएको थियो ।
उम्मेदवार आकांक्षीबाट २५ हजार रुपैयाँ लिएर प्राइमरी इलेक्सन नै नगरेको र समानुपातिकमा नाम राखिदिने भनेर ५० हजार र प्रत्यक्षमा २५ हजार रकम लिने भ्रष्टाचारको नयाँ तरिका भएको आरोप कुँवरको छ।
‘म अमेरिकामा सेटल भएर बसिरहेको थिएँ, रास्वपाका क्षेत्रीय सभापति मोहनविक्रम जीसी र नेता प्रेम खत्री लगायतले नेपाल आएर उम्मेदवार बन्न आग्रह गरेकाले दुई लाख रुपैयाँ खर्च गरेर आएर उम्मेदवार सिफारिस पनि भएँ, प्राइमरी इलेक्सन हुन्छ भन्ने विश्वासमा रहेँ। तर भएन, रास्वपाले प्राइमरी इलेक्सनका नाममा आकांक्षीबाट पैसा असुल्ने तर प्राइमरी इलेक्सन नगर्ने विषय भ्रष्टाचारको नयाँ तरिका हो।’-उनले विज्ञप्ति निकालेर भनेका छन्।
उनले विज्ञप्तिमार्फत रास्वपामा नरहेको बताएका छन्। उनले भनेका छन्-‘रुपन्देही क्षेत्र न.१ मा रास्वपाबाट प्रतिनिधि सभाको उम्मेदवारीको लागि मलाई उम्मेदवार बनाउन अमेरिकाबाट बोलाएर समानुपातिकमा पचास हजार र प्रत्यक्षका लागि पच्चीस हजार गरेर पचहत्तर हजार लिएर प्राइमरी भोटिङ नै नगरी कसैको खल्तीबाट सुनिल लम्साललाई टिकट दिएर रास्वपाको नीति विपरीत मलाई अन्याय गरेकाले मैले रास्वपाको कुनै पदमा नरहने गरी राजीनामा गरेको छु, रास्वपाका ईमानदार साथीहरु जसले मेरो न्यायका लागि बोल्नुभयो वहाहरु प्रति मेरो सम्मान छ र मलाई गरेको अन्यायका लागि मेरो पक्षमा साथ दिनुहुनेछ, भन्ने आशा गरेको छु, मेरा बाँकी योजना आगामी शनिवारको पत्रकार सम्मेलन मार्फत घोषणा गर्नेछु।’
रास्वपाले विदेशमा रहेका धेर नेपालीको भावनामा खेलवाड गरेको र विदेशमा सेटल भएर बसेका नेपालीलाई धोका दिएर बिगारेको कुँवरको भनाइ छ।
हिजो मात्रै रास्वपाका नेता प्रणयशमशेर राणाले पनि पार्टीले प्रारम्भिक निर्वाचनको नाममा आर्थिक अपारदर्शी काम गरेको बताएका थिए।