© 2026
सल्यान, २२ माघ ।
भौगोलिक रूपमा विकट मानिने सल्यान जिल्लाको कालिमाटी गाउँपालिका वडा नम्बर ५ अन्तर्गत खैरला र सिमलतारा क्षेत्रका स्थानीयहरू अझै पनि आधारभूत सञ्चार सुविधाबाट वञ्चित छन् ।
मोबाइल नेटवर्क नचल्ने समस्याका कारण वर्षौँदेखि स्थानीयले सामान्य फोन सम्पर्कसमेत गर्न नसकिरहेको गुनासो गरेका छन् । स्थानीय जितबहादुर गाहाका अनुसार आफ्नो बस्तीमा कुनै पनि मोबाइल सेवा प्रदायकको नेटवर्कले काम गर्दैन ।
“आपत् विपत् परे पनि फोन गर्न सकिने अवस्था छैन,” उनले भने, “सञ्चार नहुँदा बिरामी पर्दा, अप्ठ्यारो अवस्था आउँदा ठुलो समस्या झेल्नुपरेको छ ।” खैरला र सिमलतारा क्षेत्रका करिब ४५ घरधुरी सञ्चार सुविधाबाट वञ्चित रहेका छन् ।
स्थानीय दिपबहादुर थापाका अनुसार मोबाइल नेटवर्क नहुँदा शिक्षा, स्वास्थ्य, रोजगारी तथा आपत्कालीन सूचना आदानप्रदानमा निकै समस्या छ । आजको डिजिटल युगमा पनि फोन गर्न समेत सुविधा नहुँदा पीडा महसुस हुने स्थानीयको गुनासो छ ।
स्थानीय गीता कुमारी गाहाले नेपाल टेलिकमको नेटवर्क कहिलेकाहीँ मात्र अत्यन्त कमजोर रूपमा चल्ने गरेको बताइन् । “फोन गर्न डाँडाकाँडा चढ्नुपर्छ, हाम्रो क्षेत्रमा फोन टिप्ने टावर कसैले राखिदिएन,” उनले गुनासो गरिन् ।
स्थानीय जनप्रतिनिधिले समेत पटक पटक पहल गरे पनि समस्या समाधान हुन नसकेको बताएका छन् । वडा अध्यक्ष टोपेन्द्र कार्कीका अनुसार विभिन्न निकायमा निवेदन दिइएको र नेपाल टेलिकमको सुर्खेत कार्यालयसम्म पुगेर समेत समस्या राखिएको भए पनि हालसम्म समाधान हुन सकेको छैन ।
“निवेदन बुझायौँ, मौखिक छलफल पनि ग¥यौँ तर व्यवहारमा कुनै काम अगाडि बढ्न सकेको छैन,” अध्यक्ष कार्कीले भने । स्थानीयवासीको अनुसार मोबाइल टावर स्थापना गर्नका लागि काल्चे डाँडाको लेख गाउँ र सिरचौर क्षेत्र उपयुक्त स्थान हुन सक्छ । ती स्थानमा टावर राखिएमा खैरला, सिमलतारा तथा आसपासका बस्तीमा सहज रूपमा मोबाइल नेटवर्क पुग्ने उनीहरूको भनाइ छ ।
सञ्चारजस्तो आधारभूत सुविधा अभावले त्यस क्षेत्रका नागरिक अझै पनि सूचनाबाट टाढा रहनुपरेको छ ।
उनीहरूले प्रतिनिधिसभा निर्वाचनमा आउने उम्मेदवारलाई पनि मोबाइल नेटवर्क सुविधाका लागि तथा सडकको स्तरोन्नति, जुम खोला क्षेत्रमा तटबन्ध जस्ता योजना सञ्चालनका लागि अनुरोध गर्ने गरेका छन् ।