Butwal Today

बैतडी: जन्तीबस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो

२२ माघ २०८२, बिहीबार
अ+
अ-

बैतडी-बैतडीमा भएको जन्तीबस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ। यसअघि ६ जनाको मृत्यु भएकामा थप दुई घाइतेको मृत्यु भएको बैतडीका प्रहरी प्रमुख डिएसपी दीपककुमार रायले जानकारी दिए।

उनका अनुसार हाल ४३ जना घाइते छन्। मृत्यु हुनेमा बझाङको बित्थडचिर गाउँपालिका – ७ का ४० वर्षीय केशवराज जोशी, सोही ठाउँका १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय वसन्त जोशी र केदारस्यूँ गाउँपालिकका ६० वर्षीय मोहनदेव भट्ट रहेका छन्।

त्यस्तै मृतकहरू बझाङको जयपृथ्वी नगरपालिका – ७ का ४० वर्षीय वसन्तराज रतला र बैतडीको पचौंडी नगरपालिका – ७ की ४० वर्षीया पुष्पा अवस्थीको पनि पहिचान खुलेको रायको भनाई छ।

घाइतेमध्ये थप दुई जना बित्थडचिर गाउँपालिका–७ का ४१ वर्षीय विष्णुदत्त जोशी र सोही ठाउँकै ४२ वर्षीय नरेशराज जोशीको मृत्यु भएको हो।

४३ जना घाइतेलाई उपचारका लागि स्वास्थ्य चौकी कोटीला पठाइएको डिएसपी रायले जानकारी दिए। केही गम्भीर घाइतेलाई भने डडेलधुराको उपक्षेत्रीय अस्पताल रिफर गरिएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडुले बताए।

बैतडीको पुर्चौडी नगरपालिका–७ भौनीबाट बेहुली लिएर घरतर्फ फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडबाट सु. प्र. ०२–००१ ख १११९ नम्बरको बस झन्डै एक सय मिटर तल खसेको हो।

बेहुला र बेहुली भने छुट्टै गाडीमा भएकाले उनीहरू सुरक्षित घर पुगेको प्रहरीले जानकारी दिएको छ।