Butwal Today

पाल्पा क्षेत्र नम्बर २: काँग्रेस–एमालेमा मत विभाजनको डर

२१ माघ २०८२, बुधबार
अ+
अ-

पाल्पा, २१ माघ ।

रिब्दीकोट गाउँपालिका देउरालीका ७० वर्षीय खिमानन्द पोखरेल यस पटकको निर्वाचनमा कसलाई  ? किन मत दिने  ? भन्ने दुबिधामा छन् ।

रिब्दीकोट खस्यौलीकै ७६ वर्षीय मानबहादुर नेपाली पनि यस पटकको प्रतिनिधिसभा निर्वाचनको मतका लागि आफू र आफ्नो परिवार सहितको टोल छिमेकमा समेत अन्योल भएको बताउँछन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको मिति नजिकिए पनि चिसो मौसमसँगै चुनावी सरगर्मी तात्न थालेको छ । राजनीतिक दलका उम्मेदवारहरू आ–आफ्ना चुनावी एजेन्डा बोकेर जनतासामु पुगे पनि आम मतदाताहरूमा उत्साह नै नभएको तानसेनका दीपेन्द्र कुँवर बताउँछन् ।

दुई वटा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा मुख्य प्रतिस्पर्धी काँग्रेस र एमाले नै हुन् । आम मतदातामा उत्साह नहुनुको मुख्य कारण सुशासनमा देखिएको अभाव र राजनीतिप्रतिको वितृष्णा नै हो । अर्को तर्फबाट प्रत्येक निर्वाचनमा एउटै अनुहार दोहोरिनु पनि हो ।

चुनावी घोषणापत्र अनुरूप निर्वाचनपछि काम नगर्नु, निर्वाचनमा विजयी भएपछि गाउँ बस्तीको विकासमा प्राथमिकता नदिनु जस्ता कारणले यस पटकको निर्वाचनमा नेताहरूलाई मात्र चुनावी वातावरणले छोएको नागरिक समाजका अगुवा पुष्करराज रेग्मी बताउँछन् ।

पाल्पा क्षेत्र नं. २ मा १ लाख ९ हजार ५३ जना मतदाता रहेका छन् । जसमा ५३ हजार ७ सय ७५ जना पुरुष र ५५ हजार २ सय ७८ जना महिला मतदाता रहेका छन् । क्षेत्र नं. २ मा १ सय १८ मतदान स्थल र २ सय ५१ वटा मतदान केन्द्र रहेका छन् ।

१४ वटा राजनीतिक दल सहित २ स्वतन्त्र गरी १६ जना उम्मेदवारहरू प्रतिस्पर्धामा छन् । स्वतन्त्रबाट उम्मेदवारी दिएका देवीप्रसाद भण्डारीले नेकपा एमालेका उम्मेदवार ठाकुरप्रसाद गैरेलाई समर्थन गरी फिर्ता लिएको एमाले अध्यक्ष ओमबहादुर घर्ती मगरले बताए ।

निर्वाचनमा जो जहाँबाट पनि उम्मेदवारी दिन पाउने संविधानले अधिकार दिए पनि पाल्पा क्षेत्र नंं. २ मा भक्तपुरकी एक जना महिलाले प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता केशव पराजुलीले बताए ।

फागुन २१ गते हुने निर्वाचनमा पुराना दलका उम्मेदवारहरूले पुरानै एजेन्डा लिएर जनताको घरदैलोमा पुगेका छन् । उम्मेदवारहरू केही नयाँ, केही पुराना भए पनि, उनीहरूका चुनावी एजेन्डा पुरानै छन् । जनताको जनजीविकाको सवालमा सबै पार्टीका उम्मेदवारहरू मौन रहेका छन् ।

जनताको आर्थिक आय आर्जनको विषयमा कुनै पनि उम्मेदवारले कुरा उठाएका छैनन् । जिल्लाको आयआर्जन बढाउने, कृषि, पशुपालन, पर्यटन, उद्योगधन्दा, कलकारखानाको विषयमा कुनै पनि पार्टीको नीति, कार्यक्रम, योजना केही पनि छैन ।

युवाहरू गाउँमा अवसर नपाएकै कारण ५० डिग्रीको तातो मरुभूमि देशहरू, अरब, कतार, दुबई, मलेसिया जस्ता स्थानमा परिवार छोडेर काम गर्न बाध्य भएका छन् ।

आय आर्जनका कुरा भन्दा पनि उम्मेदवारहरूले बाटो घाटोको मात्रै कुरामा ध्यान दिएको दमकडाका स्थानीय लोकनाथ घिमिरे बताउँछन् । बगनासकाली गाउँपालिका वडा नं. ३ का स्वतन्त्र उम्मेदवार नेकपा एमाले पाल्पाका पूर्व उपाध्यक्ष हुन् । २०४८ सालदेखि नै पार्टीमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थापाले पार्टीमा व्यक्तिगत साेंच, चिन्तन विचार मौलाउँदै गएको, इमानदार, सच्चा कार्यकर्ताको मूल्याङ्कन पार्टीमा नभएकोले बाध्य भएर स्वतन्त्र उम्मेदवारी दिएको बताउँछन् ।

“आफ्ना एजेन्डा लिएर जनताको माझमा पुगेको छु, जनताको मप्रति विश्वास र भरोस बढ्दै गएको छ”–उनी भन्छन् । उम्मेदवारी मनोनयन दर्ताको बिहान मात्र एकाएक आफ्नो टिकट खोसिएको थाहा पाएका एमालेका डा. रामबहादुर राउत गुटबन्दीको सिकार भएका हुन् । यो प्रवृत्तिले पार्टीभित्र नीति सिद्धान्त, त्याग र बलिदानी भन्दा चाकडी, चाप्लुसी, गुटबन्दीको राजनीति हाबी भएकोले यसले एमाले उम्मेदवार ठाकुर प्रसाद गैरेलाई प्रत्यक्ष असर गर्ने आङ्कलन गर्न थालिएको छ ।

टिकट खोसिएपछि मनमा पीडा भए पनि पार्टीको उम्मेदवारलाई जिताउन, सूर्यमा मतदान गराउन, पार्टीका कार्यक्रममा सहभागी हुँदै आएको एमाले नेता डा. राउत बताउँछन् । विद्यार्थीकलादेखि नै नेकपा एमालेको राजनीतिबाट उदाएका हुन ठाकुर प्रसाद गैरे, स्ववियु सभापति, अखिलको केन्द्रीय अध्यक्ष, पार्टीको केन्द्रीय सदस्य, पोलिटब्युरो सदस्य हुँदै एघारौँ महाधिवेशनमा ईश्वर पोखरेल प्यानबाट सचिवको उम्मेदवारी दिएका गैरे पराजित भएका थिए । पाल्पा–२ मा एमालेका कार्यकर्ताको भावना भन्दा पनि माथिको गुटगत कारण राउत र गैरे दुबैलाई टिकट वितरण भएको स्थानीय कार्यकर्ताको बुझाइ छ ।

गत निर्वाचनमा एमालेका ठाकुर गैरेले २७ हजार ५ सय १७ मत ल्याई विजयी भएका थिए भने नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी र राष्ट्रिय जनमोर्चा सहितको गठबन्धनका उम्मेदवार सोम प्रसाद पाण्डेले २३ हजार ८ सय ५० मत पाई पराजित भएका थिए ।

पटक पटक सोम प्रसाद पाण्डे विजयी भएको स्थानमा ठाकुर गैरेलाई विजयी बनाउन काँग्रेसी मतदाताहरूको ठुलो हात रहेको आम बुझाई छ ।
२०७९ सालको निर्वाचनमा गैरे निर्वाचित भएपछि जनता समक्ष गरेका प्रतिबद्धता र विकासका काम ५ वर्षको कार्यकाल पूरा नहुँदै ३१ महिनामै मुलुक निर्वाचनमा गएकोले पूरा नभएका, अपुरा कामहरू जस्तै: सडक, खानेपानी, पूर्वाधार निर्माणका काम पूरा गर्ने र देश तरल अवस्थामा रहेकोले देश बचाउन आफ्नो उम्मेदवारी रहेकोले जित निश्चित रहेको गैरेको दाबी छ ।

अर्कोतर्फ एमाले भित्रको असन्तुष्टिको कारण यस पटक गैरेलाई विगतको मत प्राप्त नहुने, काँग्रेसबाट सहानुभूतिको मत पनि काटिने, टिकट कहिले एउटा, कहिले अर्कोलाई दिँदा पार्टीभित्र द्वन्द्व सिर्जना भएकोले यस पटकको निर्वाचन गैरेलाई फलामको चिउरा भएको स्थानीय मतदाताको बुझाई छ ।

एमालेका गैरेको मुख्य प्रतिस्पर्धी नेपाली काँग्रेसका हिमालदत्त श्रेष्ठ बनेका छन् । नेपाली काँग्रेसका श्रेष्ठ वाककलामा पूर्णता, राजनीतिमा चतुर, नयाँ पुस्ताले रोजेको र खोजेको सबैको भावना प्रतिनिधित्व गर्न सक्ने क्षमता भएका र तानसेन नगरपालिका भित्रका उम्मेदवार हुन् ।

श्रेष्ठले युवा पलायन रोक्ने नीति बनाएका कारण तानसेनको मत नै निर्णायक रहेकोले नेपाली काँग्रेसका उम्मेदवार श्रेष्ठलाई जिताउन पार्टीका नेता कार्यकर्ताहरू सक्रिय भएर लागेको देखिएको छ । यस पटकको निर्वाचनमा नेपाली काँग्रेसका शुभचिन्तकहरूले रुख चिन्हमै मत जाहेर गर्ने अवसर पाएकोले पनि काँग्रेसको मत यताउता नहुने पार्टी नेताहरूको दाबी छ ।

२०४८ देखि २०७९ सम्म भएका निर्वाचनमा २ पटक नेपाली काँग्रेस, ४ पटक एमालेका उम्मेदवार विजयी भएका थिए । यस पटक नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका सोमप्रसाद पाण्डे २०७९ सालको निर्वाचनमा उपविजेता बनेका थिए ।

उम्मेदवार पाण्डेले आफू पाल्पाली जनताको मन मनमा पुगेको, भिजेको र पाल्पाको विकास निर्माणमा आफ्नो महत्त्वपूर्ण भूमिका रहेकोले जनताले आफूलाई विजयी गराउने विश्वास लिएको बताए । नेपाली कम्युनिस्ट पार्टीको सङ्गठन कमजोर भएको कारण पाण्डेलाई जित निकाल्न कठिन हुन सक्ने नेकपाकै कार्यकर्ताहरू बताउँछन् ।

केही दिन अगाडिसम्म पनि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय रहेका माधव बहादुर थापा राष्ट्रिय स्वतन्त्र पार्टीबाट पाल्पा क्षेत्र नंं. २ मा उम्मेदवारी दिएका छन् । नव युवामा रास्वपाको विश्वास बढे पनि पाका पुस्ताहरू भने थापाप्रति सकारात्मक देखिँदैनन् ।

रास्वपाको गाउँ गाउँमा अझै सङ्गठन निर्माण नभएकोले यस पटकको निर्वाचनमा पुराना दलबिच नै मुख्य प्रतिस्पर्धा रहेको पूर्व सञ्चार कर्मी रामप्रसाद न्यौपाने बताउँछन् ।

गत निर्वाचनमा ६४ हजार २ सय ३ मत खसेको यस निर्वाचन क्षेत्रमा आगामी निर्वाचनमा ७० प्रतिशत सम्म मतदान हुनसक्ने आङ्कलन गरिएको छ । पाल्पा–२ बाट १४ दल सहित १६ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।