Butwal Today

विधायन समिति बैठकः अभौतिक सांस्कृतिक सम्पदा(संरक्षण) विधेयक, २०८१ माथि छलफल

२१ माघ २०८२, बुधबार
अ+
अ-

काठमाडौँ, २१ माघ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले नेपाली भाषा, संस्कृतिको महत्व अतुलनीय रहेकाले कानुनमा स्थापित गरिने शब्दमा समेत कला र संस्कृतिको मर्म झल्किनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रियसभाको विधायन समितिको आजको बैठकमा उनले समाजको कला संस्कृतिको यस्ता शब्दको महिमा जीवित राख्नुपर्ने धारणा राखे । समितिले अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ उपर दफाबार छलफल गर्ने क्रममा सभाका सदस्यहरुले आ–आफ्नो मत राखेका थिए ।

बैठकमा समितिका सदस्य डा. वेदुराम भुसालले विधेयकको शीर्षकनै परिमार्जन गर्नुपर्ने धारणा राखे । उनले नाम र सम्पदाको परिभाषामा रुपान्तरण गर्न रहेको बताए ।

त्यस्तै, सदस्य पदमबहादुर परियारले २३ वर्षदेखि बन्न नसकेको उक्त विधेयकलाई छिटोभन्दा छिटो लागू गराउनुपर्ने धारणा राखे । साथै उनले समाजमा संस्कृतिको रुपमा रहेका केहि गलत प्रथालाई भने संरक्षण गर्न नहुने सुझाव दिए । उनले स्थानीय तहमा सांस्कृतिक सम्पदाको सूचीकरण गर्न लगाउने भनिएर मात्रै नपुग्ने बताउँदै त्यसलाई प्रभावकारी कार्यान्वयन गराउन बजेटको समेत व्यवस्था हुनुपर्ने प्रष्ट कानुनमा उल्लेख गरिनुपर्ने सुझाव दिए ।

त्यस्तै, बैठकमा पर्यटन मन्त्रालयका सहसचिव जयनारायण आचार्यले भाषाको सरलता र जनजीवनलाई सहज हुने शब्दाबली छनोट गर्न उपयुक्त हुने धारणा राखे ।

समितिका सभापति तुलसाकुमारी दाहालले अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ उपर दफावार छलफल निरन्तर हुँने बताउँदै सरोकारवालासँगसमेत आवश्यक रायसुझाव सङ्कलन कार्य भइरहेको बताए । रासस