Butwal Today

अर्घाखाँचीको पर्यटन नक्सामा चम्किँदै खाँचीकोट हिल स्टेसन (फोटोफिचर)

२१ माघ २०८२, बुधबार
अ+
अ-

अर्घाखाँची, २१ माघ । 

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ मा खाँचीकोटमा रहेको  खाँचीकोट हिल स्टेसन पछिल्ला दिनहरूमा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ ।

प्राकृतिक सौन्दर्य, मनोरम हिमाली दृश्य र शान्त वातावरणका कारण ओझेलमा परेको यो स्थान बिस्तारै पर्यटकीय स्थलको रूपमा विकास हुँदै गएको छ ।

यस हिल स्टेसनबाट अन्नपूर्ण हिमशृङ्खला, धौलागिरि, माछापुच्छ्रे लगायतका हिमालहरूको दृश्य एकै ठाउँबाट अवलोकन गर्न सकिन्छ । बिहानको सूर्योदयसँगै हिमालमा पर्ने सुनौलो घामको किरणले यहाँको दृश्यलाई अझ मनमोहक बनाउँछ ।

सन्धिखर्क नगरपालिका–७ का वडा अध्यक्ष चुराबहादुर केसीका अनुसार पर्यटन मन्त्रालयको पर्यटन विभागबाट विनियोजित एक करोड रुपैयाँको लगानीमा पदमार्ग र हिल स्टेसन निर्माणको काम भइरहेको छ ।

हिल स्टेसनमा पुग्ने पर्यटकलाई लक्षित गरी खानेपानीको टङ्की निर्माण गरिएको छ । उच्च स्थानमा पर्याप्त पानीको स्रोत नहुँदा निर्माण कार्यमा चुनौती थपिएको थियो। त्यसैले पदमार्ग, विश्राम स्थल र खानेपानी टङ्की निर्माणका लागि आवश्यक पानी खच्चरमार्फत बोकेर पु-याइएको थियो। विकास निर्माणका सामग्री र पानी ढुवानीका लागि खच्चरको प्रयोग गरिएको छ ।

सन्धिखर्क नगरपालिका, लुम्बिनी प्रदेश सरकार र पर्यटनसँग सम्बन्धित निकायले खाँचीकोटलाई व्यवस्थित रूपमा विकास गर्न योजना अघि सारिरहेका छन् । पर्यटन विकाससँगै रोजगारी वृद्धि र स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष लाभ पुग्ने विश्वास नगरपालिकाले  गरेको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताए ।

सुपा देउरालीमा आएका पर्यटकलाई लक्षित गरेर विभिन्न संरचना निर्माण भइरहेको नगर प्रमुख श्रेष्ठको भनाई छ ।

प्राकृतिक सुन्दरता, भौगोलिक विविधता र सांस्कृतिक सम्पदा एकै ठाउँमा समेटिएको खाँचीकोट आगामी दिनमा अर्घाखाँची जिल्लाको पहिचान बन्ने अपेक्षा गरिएको छ ।