Butwal Today

राँझा–राजापुर सडकले खुल्दै पर्यटनको ढोका

२० माघ २०८२, मंगलवार
अ+
अ-

बर्दिया, २० माघ । 

बाँके र बर्दियाका ऐतिहासिक गाउँ र पर्यटकीय स्थललाई जोड्न लुम्बिनी प्रदेश सरकारले राँझा टु राजापुर पर्यटकीय राजमार्ग निर्माणको काम सुरु गरेको छ । पहिलो चरणमा राजापुरको सन्कत्तिघाटबाट डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) गरी काम सुरु गरिसकेको हो ।

उक्त डिपिआरको काम पहिलो चरणमा बारबर्दिया नगरपालिकासम्म सर्भे भैसकेको छ । सर्वेको काम सम्पन्न गरी राजापुरको सन्कत्तिघाट देखि निर्माण काम सुरु भैसकेको पूर्व मन्त्री धर्म चौधरीले बताए ।

उक्त पर्यटकीय राजमार्गले बाँकेको एतिहासिक थारु गाउँ गुरुवा गाउँ, टिटिहिरिया र यस क्षेत्रकै ठुलो बर्दियाको पर्यटकीय ताल बढैयाताल, बारबर्दिया, गेरुवा र राजापुरलाई जोड्ने छ ।

उक्त राजमार्ग क्षेत्रमा बाँकेको धार्मिक पर्यटकीय स्थल गुरुवा गाउँ, यस क्षेत्रकै ठुलो ताल बढैयाताल, बर्दियाको इतिहाँस बोकेको बारबर्दिया थनवा, सतखोलवा ताल, कुष्णसार संरक्षण क्षेत्र, ठाकुरद्वाराको हात्तीसार, दल्ला होमस्टे, राजापुरको शैजना टापु लगायतका पर्यटकीय क्षेत्र पुग्न सहज हुने पूर्व मन्त्री चौधरीले बताए । उनले भने, “यस सडकले हाम्रो पुर्खाको झझल्को आउने छ ।

हाम्रो पुर्खाले राजापुरदेखि राँझा र राँझा देखि राजापुर सो बाटो आउजाउ गर्ने गरेका थिए जुन बाटो सञ्चालन भएपछि हाम्रो पुर्खाहरूको याद ताजा गराउने छ ।

“लुम्बिनी प्रदेश सरकारले सुरु गरेको यो राजमार्गले इतिहास बोकेका गाउँहरूले न्याय पाउनेमा हामीले विश्वास लिएका छौं,” लुम्बिनी प्रदेशका भौतिक पूर्वाधारका पूर्व मन्त्री धर्म बहादुर चौधरीले बताए । राँझा टु राजापुर पर्यटकीय राजमार्गको दूरी ६५ देखि ७० किलोमिटर रहने छ । पूर्व मन्त्री चौधरीले उक्त राजमार्ग महेन्द्र राजमार्गको वैकल्पिक मार्गको रूपमा रहने बताए ।

चौधरीले भने, “बाँके र बर्दियाको महत्त्वपूर्ण पर्यटकीय स्थललाई जोड्ने भएकाले लुम्बिनी प्रदेशको महत्त्वपूर्ण राजमार्गको रूपमा हामीले लिएका छौं । राजमार्गको निर्माण सम्पन्न भइसकेपछि राँझा विमानस्थलबाट पर्यटकहरू सिधै बाँके र बर्दियाको कुनै पनि पर्यटकीय स्थलसम्म सजिलै पुग्न सक्ने छन् । मैले सञ्चालन गरेको यो योजनालाई लुम्बिनी सरकारी कति महत्त्व दिन्छ भन्ने कुरा हो । मैले लुम्बिनी प्रदेशको प्रदेश सभा सदस्यबाट राजीनामा दिएको छु ।”

यसले ग्रामीण ठाउँको पर्यापर्यटनमा ठुलो टेवा पुग्ने विश्वास लिइएको छ । यदि यो बाटो समयमै निर्माणको गति लिन सक्यो भने हामीलाई पर्यटक र राँझाको विमानस्थल पुग्न निकै सहज हुने राजापुर नगरपालिकाका स्थानीय सिताराम थारुले बताए ।

उनले भने, “हामी नेपालगन्ज पुगेर मात्र विमानस्थल पुग्नुपर्ने बाध्यता छ तर यस बाटोले त्यो बाध्यताको अन्त्य गर्ने छ । राजापुर क्षेत्रमा विकास भएको थिएन तर २०७९ सालको चुनावमा प्रदेश सभा सदस्यको चुनाव जितेर मन्त्री बनेपछि पूर्व मन्त्री ३ वर्षमा उदाहरण योग्य योजना ल्याएर विकासको बाटो खोलेको छ ।”

राँझा टु राजापुर यो बाँके बर्दियाको आम्दानीको बाटो हो । यसलाई समयमै विकास गरी फाइदा लिन सक्ने नाट्टाका पूर्व अध्यक्ष श्रीराम सिग्देलले बताए । उनले भने, “राँझा टु राजापुर विकास मात्र होइन यो एउटा सरकारले नदेखेको विकास पनि हो ।

जसले बाँके बर्दिया घुम्न पर्यटक र यहाँका स्थानीयहरूलाई जीवनयापन सहज बनाउने छ । यो बाटो बाँके बर्दियाको इतिहाससँग जोडिएको छ, जस कारणले पनि यो बाटो निर्माण हुन अति आवश्यक छ ।”

यो बाटोको योजना बनाउनु पूर्व मन्त्रीलाई योजना बनाउन त्यति सजिलो थिएन । तर पुर्खाहरूको सहयोग र सल्लाहले बाटोको डिपिआर बनाउन सहज भएको अनुभव समेत सुनाउँछन्

। प्रदेश सरकारले यसलाई बहुबर्षीय योजनामा राखेको र निर्माणको क्रमलाई अगाडि बढाएको छ जसमा ५ किलोमिटर सडक कालोपत्रे भइसकेको छ ।