© 2026
बर्दिया, २० माघ ।
कुसबधिँया समुदाय घुमन्ते समुदायअन्तर्गत पर्दछ । यस समुदायका मानिसहरू नेपालका विभिन्न जिल्लामा अस्थायी टहरा बनाएर केही समय बसोबास गर्ने र परम्परागत पेसामार्फत जीवन निर्वाह गर्दै आएका छन् ।
राष्ट्रिय जनगणना २०७८ अनुसार कुसबधिँया समुदायको कुल जनसङ्ख्या ५५० मात्र रहेको छ ।
यो समुदाय मुख्यतः बर्दियाको गुलरिया नगरपालिका–महमदपुर, बाँकेको जानकी गाउँपालिका–इन्द्रपुर, कपिलवस्तु जिल्लाको बहादुरगञ्ज, कपिलवस्तु नगरपालिका, महाराजगञ्ज र पकडी तथा नवलपरासी जिल्लाको रामग्राम, रपौलिया र दाउन्नेदेवी झाडा क्षेत्रमा बसोबास गर्दै आएको छ ।
नेपाल सरकारले कुसबधिँया समुदायलाई अल्पसङ्ख्यक जातिका रूपमा सूचीकृत गरेको छ, जसका कारण यो नेपालकै सानो जातिमध्ये पर्दछ ।
कुसबधिँया समुदायका मानिसहरू चार जिल्लामा बसोबास गरे पनि आफ्नै हातले बनाएका हस्तकलाका सामग्री बिक्री गर्न अन्य जिल्लासम्म पुग्ने गर्दछन् । विगतमा उनीहरूले जाँतो, सिलौटा, कुश घाँसबाट बनेका झाडु तथा डोरीजस्ता सामग्री बनाएर गाउँ–गाउँमा बिक्री गर्थे । तर आधुनिक प्रविधिको विकाससँगै उनीहरूको परम्परागत पेसा र जीवनशैली दुवै सङ्कटमा पर्दै गएको छ ।
बाँकेको जानकी गाउँपालिका वडा नम्बर ३ इन्द्रपुरमा कुसबधिँया समुदाय विगत लामो समयदेखि बसोबास गर्दै आएको छ । तर स्थायी बसोबासका लागि आवश्यक जमिन उपलब्ध नहुँदा समुदाय गम्भीर समस्यामा परेको छ ।
सरकारी सेवा–सुविधा पाए पनि स्थायी बस्ती नहुँदा उनीहरूको जीवन असुरक्षित बनेको छ । साथै पुस्तौँदेखि गर्दै आएको पेसा पनि लोपोन्मुख बन्दै गएको छ ।
कुसबधिँया समुदायको पुर्ख्यौली पेसा भारतबाट सिलौटा र जाँतो ल्याएर गाउँ–गाउँमा बिक्री गर्नु हो । त्यसैगरी सनपातबाट डोरी बट्ने, कुश घाँसका सामग्री बनाउने जस्ता काम उनीहरूको मुख्य जीविकोपार्जनको आधार थियो । तर प्रविधिको विकाससँगै सिलौटाको सट्टा मिक्सर र जाँतोको सट्टा मिल प्रयोग हुन थालेपछि उनीहरूको पेसा विस्थापित भएको छ ।
बाँके जानकी–३ इन्द्रपुरकी ७० वर्षीया पटवारी कुसबधिँयाले विगत सम्झिँदै भनिन्, “पहिला हामीले बनाएका डोरी, सिलौटा र जाँतो सजिलै बिक्री हुन्थे । त्यसैबाट गुजारा चल्थ्यो । तर अहिले प्रविधिको विकाससँगै हाम्रो पेसा नै हराउँदै गएको छ ।” विगत २० वर्षदेखि उनी आफ्नो पेसासँग सङ्घर्ष गर्दै आइरहेकी छन् ।
५० वर्षीया सिमरती कुसबधिँयाको पीडा पनि उस्तै छ । “पहिला भारतबाट सामान ल्याउन सजिलो थियो । अहिले त्यो अवस्था छैन । नयाँ पेसा गर्न मन त छ, तर सिप छैन,” उनी भन्छिन् । चुनावका बेला नेताहरू आश्वासन दिन आउने तर चुनावपछि कसैले समस्याबारे नबुझ्ने गुनासो उनको छ ।
कुसबधिँया समुदायका सदस्यहरूले सामाजिक सुरक्षा भत्ताअन्तर्गत मासिक चार हजार रुपैयाँ पाउँदै आएका छन् । त्यही रकममा उनीहरूको दैनिकी निर्भर छ । वडा नम्बर ३ का वडा सदस्य हुसैनी अहिरका अनुसार पुरानो पेसा गर्दै आएका अभिभावक भए पनि युवापुस्ताले ती पेसा अपनाउन चाहँदैनन् । सचेतनाको कमीका कारण तालिम दिँदा पनि सहभागी नहुने अवस्था रहेको उनले बताए ।
इन्द्रपुरस्थित कुसबधिँया बस्तीमा हाल ६२ घरपरिवारका २६७ जना बसोबास गर्दै आएका छन् । करिब सात पुस्तादेखि यहाँ बस्दै आए पनि बस्तीमा गाँस, बास र कपासजस्ता आधारभूत आवश्यकताको अभाव छ । बस्तीमा जाने बाटो छैन, अधिकांश घरमा शौचालय छैन र खानेपानीको व्यवस्था पनि पर्याप्त छैन । खुला दिसापिसाब गर्नुपर्ने अवस्था अझै कायम छ ।
यो अवस्था बाँकेमा मात्र सीमित छैन । बर्दियाको गुलरिया नगरपालिका–महमदपुरमा बसोबास गर्ने कुसबधिँया समुदाय पनि पेसा र बसोबासको समस्याले ग्रसित छ । अशिक्षा, अज्ञानता र अवसरको अभावका कारण उनीहरू सामाजिक रूपमा पछाडि पर्दै गएका छन् ।