© 2026
नेपालको राजनीतिक इतिहास एउटा लामो चेतावनी हो । चेतावनी सत्ता बदलिँदैमा, प्रणाली बदलिँदैन, अनुहार फेरिँदैमा नियति फेरिँदैन ।
हामीले विगतमा यही भ्रमलाई बारम्बार सत्य ठान्यौँ र परिणाम आजको नेपाल हो । विगतको नेपालमा निरङ्कुश सत्ता थियो । राजा थिए, जनता प्रजा थिए । अधिकार माग्नु अपराध थियो । तर त्यो निरङ्कुशता स्पष्ट थियो— शत्रु देखिन्थ्यो ।
आजको नेपाल भने अझ खतरनाक अवस्थामा छ, जहाँ लोकतन्त्रको नाममा अलोकतन्त्र, गणतन्त्रको नाममा गुटतन्त्र र जनताको नाममा दलतन्त्र चलिरहेको छ । राजनीतिक परिवर्तन त भयो— २०४६, २०६२/६३, संविधान आयो, गणतन्त्र आयो ।
तर प्रश्न यही होः जनताको जीवन आयो कि आएन ? उत्तर कठोर छ–आएन । विगतमा सत्ताले जनतालाई दबायो । आज सत्ताले जनतालाई थकाएको छ । हिजो अधिकार थिएन, आज अधिकार कागजमा छन् । व्यवहारमा भने जनताको हैसियत अझै निरीह छ ।
बेरोजगारी, महँगी, भ्रष्टाचार र निराशा— यी सबै आजको गणतान्त्रिक उपलब्धि जस्ता बनेका छन् । नयाँ नेपाल भन्ने नारा धेरै सुनियो । तर त्यो नयाँ नेपाल कसका लागि ? नेताका सन्तान विदेशमा, कार्यकर्ता ठेक्कामा, व्यापारी नीति निर्माणमा र जनता लाइनमा । यही हो आजको राजनीतिक यथार्थ । विगतबाट न हामीले सिकेको मुख्य पाठ के हो भने— सत्ता परिवर्तन आफैँमा समाधान होइन ।
तर आजपनि उही गल्ती दोहो¥याइँदैछ । दलहरू विचारका आधारमा होइन, भागबण्डाका आधारमा चलिरहेका छन् । सरकार नीति बनाउन होइन, गठबन्धन जोगाउन बनाइन्छ । संसद् जनताको आवाज होइन, सौदाबाजीको थलो बनेको छ । नयाँ नेपालको सम्भावना भने सकिएको छैन । तर त्यो सम्भावना पुराना राजनीतिक चरित्र, पुरानै सोच र पुरानै संस्कारबाट आउँदैन ।
जबसम्म राजनीतिलाई सेवा होइन, व्यवसाय मानिन्छ, जबसम्म नेताले जनताको मतलाई लाइसेन्स ठान्छ, जबसम्म भ्रष्टाचारलाई ‘प्रणालीको कमजोरी’ भनेर ढाकछोप गरिन्छ— तबसम्म नयाँ नेपाल एउटा भाषणमै सीमित सपना हुनेछ ।
विगतले हामीलाई एउटा कठोर सत्य सिकाएको छ— नेताहरू आफैँ सुध्रिँदैनन्, जनताले सुधार्नुपर्छ । तर, जनता अझै भावनामा भोट हाल्छन्, जातमा, क्षेत्रमा, नारामा अल्झिन्छन् । यही कमजोरी नै आजको राजनीति चलाउने इन्धन हो । यदि साँच्चै नयाँ नेपाल चाहिएको हो भने, राजनीतिक संस्कार बदल्नैपर्छ। प्रश्न सोध्ने नागरिक चाहिन्छ, डराउने होइन । दलभन्दा माथि संविधान राख्ने सोच चाहिन्छ ।
असफल नेतृत्वलाई “अर्को पटक” होइन, अहिले नै अस्वीकार गर्ने साहस चाहिन्छ । विगतको नेपालले हामीलाई दमनको पीडा दियो। आजको नेपालले भ्रमको पीडा दिइरहेको छ। दुवैबाट पाठ नलिएसम्म भविष्य झन् अँध्यारो हुन्छ ।
नयाँ नेपाल कुनै चमत्कार होइन। त्यो राजनीतिक जवाफदेहिता, नैतिक नेतृत्व र सचेत नागरिकको परिणाम हो। यदि हामीले विगतका गल्तीलाई अझै पनि ‘परिस्थिति’ भनेर माफ गरिरह्यौं भने, नयाँ नेपाल जन्मिनुअघि नै घाइते हुनेछ ।
यदि उत्तर अझैपनि टार्ने हो भने, दोष इतिहासको होइन, हाम्रो राजनीतिक कायरताको हुनेछ । नेपालमा सफलताको अर्थ धेरै अगाडि नै तय गरिसकिएको छ जस्तो देखिन्छ । समाजका धेरै मानिसको आँखामा सफलता दुईवटै बाटोमा सीमित छ—सरकारी जागिर वा विदेश ।
यीमध्ये कुनै एउटामा पुगेपछि व्यक्ति सुरक्षित, जिम्मेवार र ‘सेटल’ ठहरिन्छ । तर, यी दायराभन्दा बाहिर रहने हजारौँ संघर्ष भने कहिल्यै सफलताको सूचीमा पर्दैनन् । सरकारी कार्यालयको कुर्सी पाएको मान्छेलाई कसैले सोध्दैन—त्यहाँसम्म ऊ कसरी पुग्यो । योग्यताले होस् वा पहुँचले, संघर्षले होस् वा सिफारिसले, नाम अगाडि पद थपिएपछि समाज सन्तुष्ट हुन्छ ।
त्यस्तै विदेश पुगेको व्यक्ति, चाहे ऊ कुन काम गरिरहेको होस्, कस्तो पीडा भोगिरहेको होस्, उसलाई पनि सफल मानिन्छ । किनकि ऊ देश बाहिर पुगेको छ । उसका थकान, उसकी रात, उसका आँसु महत्वहीन हुन्छन; महत्वपूर्ण त केवल उसको अवस्थिति हो ।
तर यहींभित्र एउटा युवा छ, जो आफ्नै देशमा बसेर बिहान सबेरै उठ्छ, रात अबेरसम्म काम गर्छ । दिनको १३–१४ घण्टा पसिना बगाउँछ । कहिले सीप सिक्दै, कहिले व्यापार सम्हाल्दै, कहिले आफ्नो खुट्टामा उभिन संघर्ष गर्दै । ऊ कसैसँग हात फैलाउँदैन, कसैको नाम प्रयोग गर्दैन ।
ऊ केवल आफ्नो मेहनतमाथि भरोसा गर्छ । तर समाजले उसलाई देख्दा प्रश्न सोध्छ—यति दुःख गरेर के पाइन्छ ? भविष्यमा कसरी बाँच्ने ? सरकारी जागिर छैन, पछि के गर्छौ ?” यो प्रश्न उसको परिश्रमभन्दा पनि समाजको डर बोलिरहेको हुन्छ ।
यहाँ मेहनतले होइन, सुरक्षाले भरोसा जित्छ । तलब निश्चित छैन भने जोखिम ठानिन्छ, विदेश छैन भने अपूर्ण मानिन्छ । १३–१४ घण्टा काम गरेको देखिँदैन, तर सरकारी परिचयपत्र नदेखिँदा चिन्ता प्रकट गरिन्छ । मानौँ श्रम आफैँमा भविष्य होइन ।
यही सोचले आफ्नै देशमा आफैँ बनेका मानिसलाई निरन्तर कमजोर बनाइरहेको छ । आफैले बनाएको हुनु यहाँ गर्वको विषय होइन, अनिश्चितताको संकेत जस्तो हेरिन्छ । समाजको मापन पद र स्थानमा आधारित छ, पसिना र इमानदारीमा होइन ।
त्यसैले धेरैले कामभन्दा पनि बाटो रोज्छन्, प्रयासभन्दा पनि छवि । सरकारी जागिर गलत होइन, विदेश जानु पनि अपराध होइन । तर, जब यी दुईलाई मात्र सफलताको साँचो बनाइन्छ, तब अरू सबै बाटा असफल ठहरिन्छन् । यसले मेहनती युवक–युवतीलाई निरुत्साहित गर्छ, उनीहरूको आत्मविश्वास मेटाउँदै लैजान्छ । देशभित्रै भविष्य खोज्नु सजाय जस्तो बनाइन्छ ।
सफलता त स्थिर कुर्सी मात्र होइन, न त सीमा काटेको पासपोर्ट। सफलता त आफ्नो मेहनतबाट टिक्न सक्नु हो, इमानदारीका साथ आफ्नै देशमा आफ्नो ठाउँ बनाउनु हो । आज समाजले जसलाई प्रश्न गरिरहेको छ—“भोलि कसरी बाँच्ने ?”—त्यही श्रमशील व्यक्ति भोलि अरूका लागि रोजगारी र आशाको स्रोत पनि हुन सक्छ ।
तर जबसम्म नेपाली समाजको आँखामा सफलता केवल सरकारी जागिर र विदेशमै सीमित रहन्छ, तबसम्म यहाँ १३–१४ घण्टा काम गर्ने हातहरू थाकिरहनेछन् र उनीहरूलाई यही प्रश्नले पछ्याइरहनेछ—सरकारी जागिर छैन भने तिमी कसरी बाँच्ने ? अर्कोतर्फ सामाजिक सञ्चार मानव सभ्यताको आधारशिला हो ।
विचार, भावना, सूचना र अनुभव आदान–प्रदान गर्ने यो माध्यमले समाजलाई जोड्ने, सचेत बनाउने र सही दिशातर्फ डो¥याउने भूमिका खेल्नु पर्ने हो । तर आजको समाजमा यही सामाजिक सञ्चार विस्तारै आफ्नो मूल चरित्र गुमाउँदै विकृतिको बाटोमा अघि बढिरहेको छ । प्रविधिको तीव्र विकाससँगै हातमा आएको मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालले मानिसलाई नजिक ल्याएको जस्तो देखिएपनि, भित्रभित्रै सम्बन्धलाई कमजोर, संवेदनालाई निर्जीव र सत्यलाई संदिग्ध बनाइरहेको छ ।
सामाजिक सञ्चार भन्नाले व्यक्ति, समूह वा समुदायबीच हुने सूचना र विचारको आदान–प्रदानलाई बुझिन्छ । परम्परागत रूपमा यो संवाद प्रत्यक्ष भेटघाट, पत्रपत्रिका, रेडियो वा टेलिभिजनमार्फत हुन्थ्यो । आज भने फेसबुक, टिकटक, युट्युब, इन्स्टाग्रामजस्ता डिजिटल माध्यम सामाजिक सञ्चारका प्रमुख माध्यम बनेका छन् ।
यिनको उद्देश्य सूचना प्रवाह र चेतना विस्तार भएपनि प्रयोगको प्रवृत्तिले यसको स्वरूप बदलिएको छ । अहिले सत्यभन्दा छिटो भाइरल हुने कुरा महत्वपूर्ण बनेको छ, सहीभन्दा चर्को आवाजलाई प्राथमिकता दिइन्छ र जिम्मेवारीभन्दा लोकप्रियता खोजिन्छ । आज सामाजिक सञ्जालमा फैलिने धेरैजसो सामग्री भावनालाई उत्तेजित पार्ने, घृणा फैलाउने वा भ्रम सिर्जना गर्ने खालका हुन्छन् ।
प्रमाणविहीन आरोप, अधूरा भिडियो, काटछाँट गरिएका तस्बिर र झुटा शीर्षकहरू समाजमा अत्यन्त सहजै फैलिन्छन् । यस्ता सामग्रीले व्यक्ति मात्र होइन, परिवार, समुदाय र कहिलेकाहीँ सिंगो समाजलाई नै गहिरो चोट पु¥याउँछन् । विगत केही वर्षयता सामाजिक सञ्जालमा फैलिएको गलत सूचनाका कारण मानिसको इज्जत नष्ट भएको, मानसिक तनाव बढेको र जीवन नै समाप्त भएका घटनाहरू समाजका लागि चेतावनी हुन् । यो कुनै कल्पनाको कुरा होइन, दैनिक जीवनमा देखिने सत्य हो ।
विशेषगरी युवा पुस्ता यस विकृत सामाजिक सञ्चारको केन्द्रमा परेको छ । लाइक, सेयर र कमेन्टलाई आत्ममूल्याङ्कनको आधार मान्ने अवस्था सिर्जना भएको छ । अरूको सजाइएको जीवन हेरेर आफूलाई कमजोर ठान्ने, निरन्तर तुलना गर्ने र भित्रभित्रै मानसिक रूपमा थकित हुने युवा बढिरहेका छन् । सामाजिक सञ्जालमा देखिने बनावटी खुशीले वास्तविक पीडा लुकाएको हुन्छ, तर हेर्नेहरूले त्यो सतहलाई नै सत्य ठान्छन् । यसले निराशा, इष्र्या, एक्लोपन र आत्मग्लानी जन्माइरहेको छ ।
सामाजिक सञ्चारको विकृति केवल व्यक्तिगत तहमा सीमित छैन । राजनीति, धर्म र सामाजिक पहिचानसँग जोडिँदा यसको प्रभाव अझ खतरनाक बन्दै गएको छ । विचारभन्दा गाली, बहसभन्दा धम्की र असहमतिको ठाउँमा चरित्र हत्या गर्ने संस्कार मौलाउँदै छ ।
नियोजित रूपमा फैलाइने दुष्प्रचार, नक्कली खाताहरू र भीडको मनोविज्ञान प्रयोग गरेर सत्यलाई दबाउने प्रवृत्तिले लोकतान्त्रिक मूल्य नै कमजोर बनाइरहेको छ । जब सामाजिक सञ्चार सत्यको आवाज बन्नु पर्ने ठाउँमा स्वार्थको हतियार बन्छ, तव समाज बोल्न डराउँछ । यस सम्पूर्ण अवस्थाको दोष केवल प्रविधिलाई दिन मिल्दैन । प्रविधि त केवल साधन हो ।
त्यसलाई कसरी प्रयोग गर्ने भन्ने जिम्मेवारी प्रयोगकर्ताकै हो । जाँच नगरी सेयर गर्ने बानी, आलोचना सहने संस्कारको अभाव र डिजिटल नैतिकताप्रति बेवास्ता नै विकृतिको मुख्य कारण हुन् । यदि हरेक व्यक्ति आफूले सेयर गर्ने सामग्रीबारे एकपल्ट सोच्ने हो भने, सामाजिक सञ्चार धेरै हदसम्म स्वस्थ बन्न सक्छ । समाधान सामाजिक सञ्जाल बन्द गर्नु होइन, चेतनाको स्तर बढाउनु हो ।
सत्य, संवेदना र जिम्मेवारीलाई प्राथमिकतामा राखेर सञ्चार गर्ने संस्कार विकास गर्नु आजको आवश्यकता हो । विद्यालयदेखि समाजसम्म डिजिटल साक्षरताको शिक्षा, कानुनी संयन्त्रको प्रभावकारी कार्यान्वयन र व्यक्तिगत नैतिकताको विकास बिना यो विकृति रोकिँदैन ।
अन्ततः सामाजिक सञ्चार हाम्रो समाजको ऐना हो । हामी जस्तो भयौँ, त्यस्तै देखिन्छ । यदि हामी सचेत, जिम्मेवार र मानवीय भयौँ भने सामाजिक सञ्चार सभ्यताको सेतु बन्न सक्छ । तर हामी लापरवाह र स्वार्थी बनिरह्यौँ भने यही सामाजिक सञ्चारले समाजलाई भित्रैबाट खोक्रो बनाउँदै लैजान्छ । आज सामाजिक सञ्चारको दिशा बदल्ने वा नबदल्ने निर्णय हाम्रो हातमा छ र यही निर्णयले भोलिको समाज कस्तो हुन्छ भन्ने तय गर्नेछ ।