© 2026
रोल्पा, २० माघ ।
वर्षमान पुन रोल्पाको तत्कालीन जङ्कोट गाउँ पञ्चायत–१ माडीचौर हाल रोल्पा नगरपालिका–७ मा निम्न मध्यम वर्गीय परिवारमा जन्मिएका हुन् ।
इर्खराम पुन र तिर्थमाली पुनको दोस्रो सन्तान वर्षमानको जन्म २०२८ साल जेठ १८ गते भएको थियो । राजनीतिक जीवनमा सहयात्री बनेकी पूर्व सभामुख ओनसरी घर्ती उनकी जीवनसाथी हुन् ।
दुई कक्षामा उनी कोटगाउँको निम्न माध्यमिक विद्यालयमा भर्ना भए । कक्षा सातसम्म त्यहीँ पढे । १३ वर्ष हुँदा २०४१ सालमा माध्यमिक तहको अध्ययन गर्न पुनले घर छोडे । सदरमुकाम लिवाङको बालकल्याण माविमा भर्ना भए ।
त्यहाँ उनलाई एक्कासी राजनीतिको हावाले समात्यो । पुन ३६ जना विद्यार्थीसँग होस्टेलमा बस्थे । हाल अलग पार्टीको नेतृत्व गरिरहेका नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, लुम्बिनी प्रदेशका पूर्वी मुख्यमन्त्री कुलप्रसाद केसी उनका सहपाठी हुन् । पुनले पढेको विद्यालय कम्युनिष्ट राजनीतिमा स्थापित व्यक्तिहरूको पाठशाला पनि हो ।
पूर्व सभामुख कृष्णबहादुर महरा त्यही विद्यालयका शिक्षक थिए । उनले गणित र विज्ञान पढाउँथे । तत्कालीन माओवादी द्वन्द्व कालमा ‘बुर्जुवा’ शिक्षा नाम दिए पनि दलका सबै नेताको धरातल त्यही शिक्षाले बनाएको थियो । बुर्जुवा शिक्षाकै आडमा ज्ञान हासिल गरेर उनीहरू युद्ध र त्यसको नेतृत्व गर्न लायक भएका थिए ।
महरा पुनका शिक्षा र राजनीतिक गुरु हुन् । उनी सम्झिन्छन्– “महरा मेरो शैक्षिक र राजनीतिक गुरु हुनुहुन्छ ।” महराले दर्जनौँ नेता तथा कार्यकर्तालाई पढाए । र, युद्ध गर्न सिकाए । सदरमुकाम लिवाङ त्यति बेला शिक्षा र राजनीतिको केन्द्र थियो ।
२०४४ सालमा एलएलसी पास गरेका पुन थप शिक्षा आर्जन गर्न दाङ झरे । सामाजिक र राजनीतिप्रति सचेत उनले समाजको असमानता नजिकबाट नियालेका थिए । समाजका उत्पीडन, दमन, शोषण अन्त्य हुनुपर्छ भन्ने साेंच थियो ।
यही सोचले उनलाई कानुन पढ्न हौस्यायो । र, उनी २०४५ सालमा दाङको महेन्द्र बहुमुखी क्याम्पसमा आइएल भर्ना भए । लिवाङमा पुन अखिल छैटौँमा आबद्ध भइसकेका थिए । दाङमा क्याम्पस पढ्दा विद्यार्थी आन्दोलनमा पनि सक्रिय भूमिकामै रहे ।
बुर्जुवा शिक्षाको धरातलमा युद्धको खाका कोर्न गोलबद्ध रोल्पाको टोली दाङ झर्यो । पुनले २०४८ सालमा आइएल पास गरे । र, राजनीतिमा होमिए । पूर्णकालीन राजनीति गर्दै २०४९ सालमा नेपाल ल क्याम्पसमा विएल भर्ना भए । नियमित कक्षा नलिए पनि उनले बिएल परीक्षा दिए ।
पुनले न्याय र अन्याय छुट्टाउने उत्कृष्ट सङ्कल्प लिएका थिए । तर, समयान्तरमा त्यो सङ्कल्पको सुरु कालो कोट लगाएर होइन बन्दुक उठाएर युद्ध मैदानबाट भयो । परिणामतः युद्ध थापिएको दुई दशक बित्दासमेत त्यसका अवशेष ज्यूँदै छन् ।
पञ्चायती शासन कालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छैठौको विद्यार्थी राजनीतिबाट वाम राजनीतिमा लागेका पुनले सशस्त्र युद्द समयमा बेला नेपालको पूर्वी क्षेत्र र राजधानीमा काम गरेका थिए ।
२०६२/६३ सालको जनआन्दोलनको बेला उनी तत्कालीन नेकपा माओवादीको तर्फबाट उपत्यकामा आन्दोलन परिचालन गर्ने मुख्य नेता थिए । ०५२ सालमा जनयुद्ध थालनीको समयमा होलेरी चौकी आक्रमणको बेला पुन राजनीतिक कमिसार थिए ।
हाल नेपाली कम्युनिष्ट पार्टीबाट राजनीति गरिरहेका पुन २०६४ सालदेखि निर्वाचनमा प्रतिस्पर्धा गर्न थालेका हुन् । पहिलो संविधान सभा निर्वाचनमा ललितपुर क्षेत्र नं. १ बाट निर्वाचित पुन दोस्रो संविधान सभा निर्वाचनमा भने मोरङ क्षेत्र नम्बर ९ मा नेपाली काँग्रेसका डिगबहादुर लिम्बुबाट पराजित भए ।
२०६७ माघ २३ मा झलनाथ खनाल नेतृत्वमा गठन भएको मन्त्रिपरिषद्मा उनी शान्ति तथा पुनर्निर्माण मन्त्रीको रूपमा सहभागी थिए । त्यस्तै २०६८ भदौ १२ मा गठित डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा उनी अर्थमन्त्रीको रूपमा सहभागी भए ।
शान्ति तथा पुनर्निर्माण मन्त्रालय, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत एवं सिँचाइ मन्त्रालयको नेतृत्व गरिसकेका पुनले चौथो पटक पुनः अर्थ मन्त्रालयको नेतृत्व गर्ने अवसर पाएका हुन् ।
२०७९ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार पुन नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय मोर्चा लगायतका दलको गठबन्धनबाट ४१ हजार ७१४ मत प्राप्त गरी विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पूर्ण बुढामगरले १६ हजार ४८५ मत प्राप्त गरेका थिए ।
फागुन २१ गते सम्पन्न हुने निर्वाचनमा उनै वर्षमान पुनसँग प्रतिस्पर्धामा उत्रिएका छन् उनकै पूर्वसहयोद्धा चूडामणि वली । चूडामणि वलीको जन्म रोल्पा जिल्लाको तत्कालीन जिनावाङ गाउँ पञ्चायत हाल गङ्गादेव गाउँपालिका–३ मा भएको हो । पाँच भाइ मध्ये कान्छा भाइलाई सशस्त्र युद्धमा गुमाएका वली अइकम सम्म अध्ययन गरेका छन् ।
२०४३ सालमा अनेरास्ववियुको इकाइ अध्यक्ष भएका वलीले २०४५ सालमा नेकपा (मसाल) को पार्टी सदस्यता प्राप्त गरेका थिए । २०४८ सालमा नेकपा एकता केन्द्रको इलाका सेक्रेटरी भएका वली २०५२ सालदेखि भूमिगत भएका थिए ।
२०५४ सालमा नेकपा माओवादी जिल्ला समिति रोल्पाको सदस्य भएका वली २०५४ सालमा रोल्पाको ओतबाट गिरफ्तार भई लामो समय जेल बसेका थिए । जेल जीवन पश्चात् उनी २०५८ सालमा रोल्पा जिल्लाको जनसरकार सदस्य थिए । उनी २०६० सालमा नेकपा माओवादीको राज्य समिति सदस्य भएका थिए । २०६१ सालमा माओवादी सेनाको कम्पनी कमिसार उनी २०६१ सालमा बटालियन कमिसार थिए ।
शान्ति प्रक्रियापछि उनी २०६३ सालमा नेकपा माओवादी मनाङ जिल्ला इन्चार्ज, २०६४ सालमा बारा, पर्सा र रौतहट विभागीय जिम्मेवारी निर्वाह गरेका थिए । गृह जिल्ला रोल्पा फर्केका उनी २०६५ सालमा रोल्पा जिल्ला सेक्रेटरी भएका थिए ।
२०६९ सालमा प्रचण्डसँग पार्टी विभाजन भएपछि उनी मोहन वैद्य किरणतिर लागेका थिए । त्यसपछि उनी सो पार्टीको मगरात राज्य समिति जवस मेर्चा सह इन्चार्ज बनेका थिए । उनी २०७० सालमा उक्त पार्टीको गुल्मी जिल्ला इन्चार्ज बनेका थिए ।
२०७१ सालमा मोहन वैद्य किरण नेतृत्वको पार्टी विभाजन गरेर नेत्रविक्रम चन्द विप्लवले अर्को पार्टी बनाए । वली सो पार्टीको थारूवान राज्य समिति सह इन्चार्ज बनेका थिए । २०७१ सालमै उनी नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय न्याय विभाग प्रमुख बनेका थिए ।
विप्लव नेतृत्वको पार्टीलाई राज्यले प्रतिबन्ध लगाएपछि उनी २०७६ सालमा दाङको राम्रीबाट गिरफ्तारीमा परेर ९५१ दिन जेलमा बसेका थिए । पुनः बाजुराबाट २०७८ सालमा गिरफ्तार भएका उनी लामो समय जेल बसेका थिए । उनी २०७५ सालदेखि तत्कालीन नेकपा हाल, नेकपा माओवादीको पोलिटब्युरो सदस्य छन् ।
यसअघि २०७९ सालको स्थानीय तह निर्वाचनमा गङ्गादेव गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका वलीले सो निर्वाचन हारेका थिए । अहिले उनी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा माओवादीको तर्फबाट रोल्पाबाट उम्मेदवार वनेका छन् ।
२०७४ सालमा नेकपा एमालेसँग र २०७९ सालमा नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी लगायतका दलसँग गठबन्धन गरी भारी मतले रोल्पाबाट दुई वटा निर्वाचन जितेका नेता पुनसँग पहिलो चोटि प्रतिस्पर्धामा उत्रन लागेका वलीका लागि यो चुनाव सहज भने छैन ।
पूर्व सहयोद्धाहरूको यस पटकको प्रतिस्पर्धालाई रोचक मानिएको छ ।