© 2026
बर्दघाट, १९ माघ ।
उद्योग व्यापार सङ्घ बर्दघाटको आयोजनामा सञ्चालन भइरहेको प्रथम बर्दघाट एक्सपो मा स्थानीय व्यवसायीहरूको उत्साहजनक सहभागिता देखिएको छ ।
विगतका मेला–महोत्सवहरूमा बाह्य व्यवसायीहरूले व्यापार गर्ने र त्यसबाट स्थानीय पुँजी पलायन हुने गरेको भन्दै व्यापारीहरूकै संस्थाले सहयोग गरेको आरोप लाग्दै आएको सन्दर्भमा यसपटकको एक्सपोले स्थानीय व्यवसायीलाई प्राथमिकतामा राखेको आयोजकहरूको दाबी छ ।
जारी एक्सपोमा कुल २५० वटा स्टल मध्ये स्थानीय व्यवसायीका १०८ वटा स्टल रहेका छन् । जसअन्तर्गत होटलतर्फ २४, हस्तकला डल ७, जुस तथा चिया ४, अचार ४, हर्पिकजन्य सरसफाइ सामग्री ५, कृषि मल १, केरा चिप्स २, दुग्धजन्य पदार्थ ३, ब्याग २, च्याउ १, कृषि सामग्री सप्लायर्स ४, फर्निचर २, ब्युटी पार्लर २, कृषि आयुर्वेद १, रोटी १, मोटरसाइकल बिक्री तथा हेल्मेट ५, कपडा तथा रेडिमेड पसल १२, मोबाइल पार्ट्स २, गेडागुडी, गुन्द्रुक तथा पिठो ९, पाडा तथा बाख्रा ४, कन्सल्टेन्सी तथा पुस्तक २, मह १, नर्सरी ४ तथा विभिन्न जातजातिका खानाका परिकारका ३ वटा स्टल रहेका छन् ।
कृषि, लघु उद्यम, घरेलु तथा साना उद्योग कार्यालयबाट सिफारिस भएका उद्योगहरूलाई निःशुल्क स्टल उपलब्ध गराइएको छ भने स्थानीय तथा बर्दघाट उद्योग व्यापार सङ्घमा आबद्ध व्यवसायीलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
स्थानीय व्यवसायीलाई विशेष प्राथमिकतासहित स्टल उपलब्ध गराइएकाले उल्लेखनीय सहभागिता देखिएको उद्योग वाणिज्य उपाध्यक्ष तथा स्टल दर्ता तथा व्यवस्थापन उपसमितिका संयोजक राजेन्द्रप्रसाद तिमिल्सीनाले जानकारी दिए ।
कृषिमा आधारित किसान तथा स्थानीय व्यवसायीलाई प्राथमिकतामा राख्दै एक्सपोका लागि कृषि उपसमिति गठन गरी किसान तथा व्यवसायीको घरदैलोमै पुगेर समस्या संकलन र समाधानको प्रयास गरिएको कृषि उपसमिति संयोजक खुमाकान्त न्यौपानेले बताए ।
यसै कारण एक्सपोमा स्थानीय कृषक तथा व्यवसायीको उल्लेखनीय सहभागिता सुनिश्चित भएको उनले बताए । एक्सपोमा उन्नत जातका बोका, राँगा, दुग्धजन्य उत्पादन, कृषि औजारलगायतका स्टलहरू राखिएका छन् ।
स्थानीयस्तरमा उत्पादन भएका वस्तुको बजारीकरण, प्रवर्द्धन तथा राष्ट्रिय बजारसम्म पहुँच पुर्याउने उद्देश्यले आयोजना गरिएको यो एक्सपोले स्थानीय व्यवसायीको आर्थिक मेरुदण्ड मजबुत बनाउने विश्वास एक्सपो मूल आयोजक समितिका संयोजक राजु न्यौपानेले व्यक्त गरे ।
माघ १३ गतेदेखि सुरु भएको एक्सपो माघ २५ गतेसम्म सञ्चालन हुनेछ ।