Butwal Today

प्रविधि र विचार बोकेर जनताको अवस्था बदल्न आएको हुँ: विश्वदीप

१८ माघ २०८२, आइतबार
अ+
अ-

विश्वदीप पाण्डे ‘शुभाष’ रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार हुन्।  नेपाल कम्यूनिष्ट पार्टीबाट उम्मेदवार बनेका उनी  जनताको अवस्था बदल्नका लागि चुनाबी मैदानमा आएको बताउँछन्। उनी तत्कालीन माओवादी संघर्षको समयमा भूमिगत राजनीति गरेका भक्ति पाण्डेका छोरा हुन्। १८ वर्ष अगाडि आफ्नै बाबुको प्रतिस्पर्धामा रहेका एमाले उपाध्यक्ष विष्णु पौडेल सँग  छोरा उम्मेदवार बनेको आएको भन्दै उनले नेतृत्व छोरा पुस्तामा आएको बताउँ५न्। रूपन्देही क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार रहेका विश्वदीप पाण्डे ‘शुभाष’सँग बुटवल टुडेले गरेको कुराकानी।

तपाईंका पिता भक्ति पाण्डेको राजनीतिक उचाई निकै ठूलो थियो, के तपाईं केवल उहाँको विरासतको ब्याज खान चुनावी मैदानमा आउनुभएको हो वा तपाईंसँग आफ्नै छुट्टै पहिचान र एजेन्डा छ ?

– भक्ति पाण्डेको छोरा हुनु मेरो लागि गौरव हो, तर मेरो उम्मेदवारी कुनै नातावाद नभई जिम्मेवारीको निरन्तरता हो । समयले मानिसलाई भिन्दाभिन्दै भूमिका दिन्छ । बुबाको राजनीति निरंकुश राजतन्त्र अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि एक भीषण जनप्रतिरोध थियो । त्यो नेपालको इतिहासकै सबैभन्दा ठूलो सशस्त्र जनविद्रोह थियो ।
अहिले हामी जेन जी आन्दोलन पछिको अवस्थामा छौं । आजको सवाल लोकतन्त्रको सवलीकरण, सुशासन, संमृद्धि र सामाजिक न्याय हुन् ।

बुबाले बन्दुक बोकेर व्यवस्था बदल्नुभयो, म प्रविधि र विचार बोकेर जनताको अवस्था बदल्न आएको छु । बुबाले गणतन्त्रका लागि संघर्ष गर्नुभयो । म त्यही गणतन्त्रमा सुशासन र समृद्धिका लागि योगदान गर्न चाहन्छु । म विरासतको ब्याज खान होइन, बुबाले अधुरो छोड्नुभएको समृद्ध बुटवलको सपना पूरा गर्न आएको हुँ ।

एमाले उपाध्यक्ष विष्णु पौडेल जस्तो प्रभावशाली नेतासँग तपाईंको प्रतिस्पर्धा छ; यो लडाइँको मुख्य सवाल के हो, व्यक्तिगत बदला कि बुटवलको बदलाव ?

– राजनीतिमा बदलाको भावनाले ठाउँ पायो भने विकास मर्दछ । विष्णु पौडेलजी मेरा लागि व्यक्तिगत शत्रु होइन । मेरो लडाइँ उहाँसँग होइन, बुटवललाई पछाडि धकेल्ने पुरानो प्रवृत्तिसँग हो । उहाँ असफल कार्यशैलीको प्रतिनिधि हुनुहुन्छ । पौडेलजी बारम्बार यहाँबाट सांसद, मन्त्री हुनुभयो । अर्थमन्त्री र उपप्रधानमन्त्री हुनु भयो । बुटवलले करीब ३ दशकदेखि एउटै व्यक्तिको शासन भोगेजस्तो भएको छ । तर, त्यसको उपलब्धि के त ? बुटवल र रूपन्देहीका लागि पनि पौडेलजीले खासै काम गर्न सक्नुभएन ।

राष्ट्रिय रूपमा पनि एमाले यतिखेर असफलता, अधमता र अक्षमताको प्रतिक बनेको छ । उहाँहरूकै गलत नीति, शासनशैली र अहंकारले गर्दा भाद्र २३–२४ गतेको जनविद्रोह भयो ।

म बुटवलमा युग सुहाउँदो बदलाव ल्याउन मैदानमा छु । मलाई विश्वास छ– बुटवलका लागि हामी धेरै काम गर्न सक्ने छौं । विशेषतः नवयुवा पुस्ता, उद्योगी व्यवसायी, शहरिया मध्यम, बौद्धिक तथा श्रमिक वर्ग लक्षित कार्यहरू गर्न सक्ने छौं ।

तपाईंले लामो समय डा. बाबुराम भट्टराईसँग रहेर नयाँ शक्तिको अभ्यास गर्नुभयो र फेरि कम्युनिस्ट धारमै फर्किनुभयो, यो वैचारिक अस्थिरता होइन र ?

– मैले डा. बाबुराम भट्टराईसँग रहेर विकास र प्रविधिको महत्त्व बुझेँ । राजनीतिका नयाँ आयाम, बहस सुने, सिके । फरक–फरक धारका मान्छेहरू कसरी सोच्छन्, कस्ता विषयलाई महत्व र प्राथमिकता दिन्छ, समाजको नयाँ विमर्श कतातिर गइरहेको छ, त्यो बुझ्न पाएँ ।

आज म फेरि कम्युनिस्ट धारमा फर्किँदा ती अनुभवले मलाई अझ परिपक्व बनाएको छ । यो अस्थिरता होइन, वैचारिक समृद्धिको खोजीमा गरिएको एक यात्रा, एक साधना थियो । राजनीति सरल रेखामा नहिँड्ने रहेछ । अन्तर्विरोध सृष्टिको स्वाभाविक नियम हो । मान्छेको जीवनमा पनि स्वाभाविक रूपमा अनेक विरोधाभाष र अन्तर्विरोध हुन्छन् । ती अन्तरविरोधबाट गुज्रिएर नै हामी वैचारिक रूपमा परिपक्व र समृद्ध हुनसक्छौं ।

जीवनका हरेक अनुभवले मलाई गहिरो अनुभूती र परिपक्वता दिएको छ । राजनीतिक परिपक्वता हासिल गर्न मद्दत गरेको छ । म यस्तो कम्युनिस्ट हुँ जसले डिजिटल क्रान्तिको युगमा माक्र्सवादलाई समृद्ध गर्न चाहन्छ । मैले बुझे अनुसार माक्र्सवाद आफैमा एक गतिशील विज्ञान हो । हामी जति धेरै सिर्जनशील हुन सक्छौँ, त्यति नै माक्र्सवादको विकास गर्न सक्छौं । ‘नयाँ शक्ति’को चरणमा मैले के बुझँे भने माक्र्सवादलाई छोडेर ‘लकिरका फकिर’ बन्ने हैन, माक्र्सवादलाई अझ बलियो गरी आत्मसात गर्नुपर्छ । तर, समायानुकल सृजनशील विकास गर्नुपर्छ ।

राजनीतिमा ‘अनुभव’ लाई ठूलो मानिन्छ, तपाईंका प्रतिस्पर्धी दशकौँदेखि सत्तामा हुनुहुन्छ; यस्तो अवस्थामा एक युवा उम्मेदवारले उहाँको अनुभवलाई कसरी चुनौती दिन सक्छ ?

– अनुभव के को भन्ने हुन्छ ? ३० वर्ष सत्ताको फाइल घुमाउनु नै अनुभव होइन । समयको माग बुझ्न नसक्ने अनुभवले परिवर्तनको पदचाप बुझ्न सक्दैन । न त त्यसले नयाँ सिर्जना र काल्पनिकीलाई नै मार्गप्रशस्त गर्छ । बरु उल्टो परिवर्तनलाई गतिरोध सिर्जना गर्छ । राणा शासकहरूसँग १०४ वर्षको अनुभव थिएन र ? पञ्चायती राजतन्त्रसँग ३० वर्षको सक्रिय शासनको अनुभव थिएन र ? तर, समयको उभारसँगै ती अनुभव त बेकामे साबित भए ।

दशकौंदेखि सत्तामा हुनुभएका मेरा प्रतिस्पर्धीको अनुभव पनि बेकामे साबित भइसकेको छ । विष्णु पौडेलजी ओली समूहको एक सदस्य मात्र हो । एमाले, ओली र उनको टिमको औचित्य राष्ट्रिय राजनीतिमै समाप्त भइसकेको छ । जुन पार्टी र नेतृत्व नै सम्पूर्णतः असफल भइसकेको छ, त्यसको एउटा सदस्य आफैमा कति कमजोर र निरिह भइसकेको होला ? तपाई आफै अनुमान गर्न सक्नुहुन्छ ।

त्यसो त राजनीतिक आन्दोलनमा मेरो आफ्नै अनुभव पनि कम छैन । म राजनीतिको उतारचढावहरूसँगै हुर्किएँ । अर्को कुरा म आजका युवाको समस्या बुझ्न र समाधानको बाटो देखाउन सक्छु । उहाँसँग सत्ताको अनुभव छ, मसँग भविष्यको भिजन छ । म उहाँको ‘विगत’ लाई भविष्यको सोचले पराजित गर्न सक्छु । यथास्थितिवाद र परिवर्तनको संघर्षमा अन्ततः परिवर्तनले नै जित्छ ।

तपाईंले आफूलाई अपडेटेड नेता भन्नुहुन्छ, राष्ट्रिय नीति निर्माण र शासन सञ्चालनमा तपाईंको दक्षता पुष्टि गर्ने आधारहरू के–के हुन् ?

–आफै मूल पदमा नभए पनि म सत्ता सञ्चालनको अनुभवबाट टाढा छैन । राज्य सञ्चालनलाई मैले निकै नजिकबाट नियालेको छु । मैले दुई जना प्रधानमन्त्रीको सल्लाहकारका रूपमा नीति निर्माण तहमा काम गर्ने अवसर पाएँ । त्यो नै मेरो क्षमताको प्रमाण हो । दुई दुई वटा अलग अलग प्रधानमन्त्रीसँग, साथै अर्थमन्त्रीसँग नजिक रहेर मुख्य भूमिकामा काम गर्ने अवसर पाउनु पनि क्षमता भएरै त होला । पुरानो सफ्टवेयरले नयाँ युगको समस्या समाधान गर्न सक्दैन, बुटवललाई अब नयाँ ‘भर्सन’ को नेतृत्व चाहिएको छ ।

बुटवलको सुकुम्वासी समस्या दशकौँदेखि चुनावी नारा मात्र बन्यो, तपाईँले जितेको अवस्थामा वास्तविक सुकुम्वासीले लालपुर्जा पाउने ग्यारेन्टी कसरी गर्नुहुन्छ  ?

– हिजो लालपुर्जालाई चुनाव जित्ने ‘एटिएम’ बनाइयो । म जितेको पहिलो वर्षमा नै ‘भूमि ऐन’ को गाँठो फुकाएर राजनीतिक आग्रह–पूर्वाग्रह विना सबै सुकुम्वासीलाई स्वामित्व दिने ग्यारेन्टी गर्छु । अब ‘निस्सा’ को कागज होइन, सिधै हातमा लालपुर्जा आउँछ ।

सुकुम्वासी समस्यालाई अनावश्यक रूपमा लम्ब्याएर भोट बैङ्कको रूपमा प्रयोग गर्ने काम विष्णु पौडेलजीहरूले नै गर्नु भएको हो भन्ने सबैलाई थाहा छ ।

तिनाउ–दानव कोरिडोर निर्माण गर्दा स्थानीय बासिन्दा विस्थापित हुने डर छ; विकास र विस्थापन बिचको सन्तुलन मिलाउने तपाईँको ठोस योजना के हो ?

– विकासले जनता रुवाउनु हुँदैन । विस्थापित हुने हरेक परिवारलाई उचित क्षतिपूर्ति र मुआब्जा दिन पर्छ । म त्यसका लागि जस्तोसुकै सङ्घर्ष गर्न तयार रहने छु । नजिकै ‘मोडल हाउजिङ’ मा सम्मानजनक पुनर्स्थापना गरेर मात्र कोरिडोरको काम अगाडि बढ्छ । मेरो प्राथमिकता स्पष्ट छ – ‘मान्छे पहिले, सडक दोस्रो ।’ हामीलाई सडक चाहिन्छ तर मान्छेलाई रुवाएर, बेघरबार बनाएर हैन । अबको विकासको मोडेल नै मानव केन्द्रित हुनुपर्छ ।

विकासको नाममा एउटा पनि नागरिक बेघरबार भएर सडकमा आउने स्थिति हुनुहुँदैन । नागरिकको निजी सम्पत्तिमाथि राज्यले अनधिकृत खेलबाड गर्ने अधिकार राख्दैन ।

पछिल्लो समय बुटवलको व्यापारिक चहलपहल घट्दो छ, यहाँको आर्थिक मन्दी अन्त्य गर्न र ‘नाइट इकोनोमी’ सुरु गर्न तपाईँले के कस्ता कदम चाल्नुहुनेछ ?

– बुटवलको बजार सुक्नुमा केन्द्रको गलत आर्थिक नीति र स्थानीय नेतृत्वको भिजन अभाव जिम्मेवार छ । म बुटवललाई ‘इकोनोमिक हब’ बनाउन विशेष कर छुट र ‘नाइट इकोनोमी’ (रात्रिकालीन बजार) को अवधारणा लागू गर्नेछु, ताकि बुटवल २४ सै घण्टा आर्थिक रूपमा चलायमान होस् ।

बुटवल २४सै घण्टा गुलजार हुनसक्ने ठाउँमा छ । पूर्व–पश्चिम राजमार्गले छोएको छ । नजिकै बुद्ध जन्मभूमि लुम्बिनी, सुनौली नाका र भैरहवा विमानस्थल छ । पाल्पा, पोखरा, मुस्ताङसम्म आइजाई गर्ने रुटमा छ ।

अब दुवै देशका नाका सुनौली र कोरलासँग जोडिएको छ । गण्डकी कोरिडोरसँग जोडिएको छ । यी सबैले बुटवलको विराट आर्थिक सम्भावना व्यक्त गर्छ । तर, यी कडीलाई जोड्न सक्नुपर्छ । जोड्ने सोच, भिजन र इच्छाशक्ति चाहिन्छ । मतदाताले विश्वास गर्नु भयो भने मैले त्यो काम गर्न सक्ने छु ।

मोतीपुर औद्योगिक क्षेत्रको विवादले ठुलो रूप लिएको छ, स्थानीयको जग्गाको सुरक्षा र औद्योगिक विकासलाई सँगै लैजान तपाईँको रोडम्याप के छ  ?

– मोतीपुरमा रगत होइन, उद्योग बग्नुपर्छ । स्थानीय बासिन्दाको जग्गाको ग्यारेन्टी र उनीहरूलाई नै शेयरधनी बनाएर मात्र औद्योगिक क्षेत्र अगाडि बढ्छ । हामी कसैको घर भत्काएर कारखाना बनाउने पक्षमा छैनौँ ।

ज्योतिनगरको पहिरो र चुरे दोहन बुटवलका लागि ठूलो खतरा हुन्, यसको स्थायी समाधानका लागि तपाईंको बायो–इन्जिनियरिङ योजना कस्तो हुनेछ  ?

– चुरेलाई भोट बैंक सम्झनेहरूले यसको दोहन गरे । म ‘चुरे बचाउ, बुटवल जोगाउ’ अभियान अन्तर्गत आधुनिक बायो–इन्जिनियरिङ र वैज्ञानिक प्रविधिमार्फत यो समस्याको स्थायी समाधान गर्नेछु ।

तपाईंले बुटवललाई ‘नेपालको सिलिकन भ्याली’ बनाउने सपना बाँड्नुभएको छ, यसलाई मूर्त रूप दिन आइटी पार्क र प्रविधिको प्रयोग कसरी गर्नुहुन्छ ?

– मैले बुटवललाई ‘नेपालको सिलिकन भ्याली’ बनाउने सपना देखेको छु । विश्वस्तरीय आईटी पार्क र हाई–स्पीड इन्टरनेटको व्यवस्था गरी यहाँका युवालाई ल्यापटपबाटै डलर कमाउने वातावरण बनाउनेछु । यसका लागि राज्य, निजी क्षेत्र, दक्ष जनशक्ति र अन्तर्राष्ट्रिय आयामबीच समन्वय र सहकार्य आवश्यक पर्नेछ । म यी सबै क्षेत्रसँग समन्वयको काम गर्न सक्दछु ।

वर्षेनी हजारौँ युवा विदेश पलायन भइरहेका छन्न बुटवलमै ‘लर्न एण्ड अर्न’ कार्यक्रममार्फत रोजगारी सृजना गर्ने तपाईंको आधार के हो ?

– युवा पलायन रोक्न ‘लर्न एण्ड अर्न’ (सिक्दै कमाउँदै) कार्यक्रम ल्याइनेछ । स्थानीय उद्योगसँग समन्वय गरी दक्ष जनशक्ति उत्पादन र रोजगारीको ग्यारेन्टी मेरो पहिलो प्राथमिकता हो ।

यसका मुख्य दुई वटा पक्ष हुन्छन । एक– निजी क्षेत्र र शैक्षिक संस्थाहरू बीच सहकार्य गरी सघन ‘एप्रेन्टिससीप’ वा ‘इन्टर्नसीप’ कार्यक्रम अघि सार्ने । नीतिगत र प्रोग्राम प्याकेज दुबै बनाउने ।

दोस्रो कुरा– शैक्षिक कार्यक्रम र शिक्षण सिकाई पनि काम, प्रविधि र सीपमुखी बनाउँदै लैजाने । यी दुवै कुरा आवश्यक छन् ।

सरकारी शिक्षाको स्तर खस्कँदै गएको जनगुनासो छ, सामुदायिक विद्यालयलाई निजी सरह वा सोभन्दा उत्कृष्ट बनाउन तपाईंसँग के योजना छ ?

– सामुदायिक विद्यालयको भौतिक पूर्वाधार मात्र होइन, ‘डिजिटल लर्निङ’ मा जोड दिनेछु । यस्तो शिक्षा दिइनेछ ताकि अभिभावकले निजी स्कुल छोडेर सरकारीमा आफ्ना छोराछोरी पठाउँदा गर्व गरुन् । निजी र सरकारी विद्यालयको गुणस्तर विभेद अब स्वीकार्य वा क्षम्य हुन सक्दैन ।

लुम्बिनी प्रादेशिक अस्पतालमा सामान्य उपचारका लागि पनि घण्टौँ कुर्नुपर्ने अवस्था छ, यसलाई विशिष्टीकृत अस्पताल बनाउन तपाईंको भूमिका के हुन्छ ?

– लुम्बिनी प्रादेशिक अस्पताललाई ‘रिफर सेन्टर’ बाट ‘स्पेशलाइज्ड हस्पिटल’ बनाइनेछ । स्वास्थ्य बिमालाई प्रभावकारी बनाइनेछ ताकि पैसाको अभावमा कसैले पनि अस्पतालको दैलोमा ज्यान गुमाउनु पर्ने छैन ।

सरकारी कार्यालयमा व्याप्त भ्रष्टाचार र बिचौलिया राज अन्त्य गर्न तपाईंले कुन प्रविधिको प्रयोग गर्ने सोच्नुभएको छ ?

– भ्रष्टाचारको अन्त्य भाषणले होइन, प्रविधिले हुन्छ । म हरेक सरकारी सेवालाई पेपरलेस र फेसलेस  बनाउनेछु, जहाँ सर्वसाधारणले कुनै कर्मचारीको अनुहार नहेरी आफ्नो काम समयमै पाउन सकून् । समग्र प्रशासनिक सेवालाई अब ‘ब्लक चेन’ प्रणाली अनुरूप डिजिटलाइज्ड गरिनु पर्दछ ।

सरकारी अड्डामा हुने बिचौलिया राजलाई म ‘डिजिटल ट्रयाकिङ’ ले विस्थापन गर्नेछु । फाइल अड्काउने कर्मचारीलाई जवाफदेही बनाइनेछ ।

राजनीतिमा ‘कमिसनतन्त्र’ एउटा रोगको रूपमा छ, ठेक्कापट्टामा हुने अपारदर्शितालाई रोक्न तपाईंले भनेको ‘पारदर्शिता एप’ ले कसरी काम गर्छ ?

– म राजनीतिमा कमाउन आएको होइन । मेरो पालामा हुने हरेक ठेक्कापट्टाको विवरण जनताको मोबाइलमा पुग्ने गरी ‘पारदर्शिता एप’ ल्याउनेछु । भ्रष्टाचारप्रति मेरो शून्य सहनशीलता हुनेछ । मेरो निर्वाचन क्षेत्रमा हुने हरेक विकास निर्माणको सम्पूर्ण विवरण म सबै नागरिकको मोबाइलमा पुग्ने र नागरिक निगरानी हुन सक्ने अवस्था सिर्जना गर्ने छु ।

तपाईंले विष्णु पौडेलको विकासलाई ‘सिमेन्टको विकास’ भन्नुभयो, तपाईंले दाबी गर्नुभएको ‘ह्युमन क्यापिटल’ र ‘सिस्टम’ को विकास भनेको खासमा के हो  ?

– उहाँले ‘भ्यू टावर’ बनाउनुभयो, म ‘ह्युमन क्यापिटल’ (मानव पुँजी) बनाउँछु । उहाँको विकास ‘सिमेन्ट’ को हो, मेरो विकास ‘सेन्टिमेन्ट र सिस्टम’ को हो । उहाँले ढुङ्गा पुज्नुभयो, म मान्छेको जीवन बदल्छु । जनता नै मेरा देवता हु । आम जनताको जीवनमा सकारात्मक परिवर्तन, आर्थिक संमृद्धि र खुशी ल्याउन मेरो सारा प्रयास केन्द्रित हुनेछ ।

पछिल्लो दुई दशकमा बुटवलमा घरहरू त बढे तर मान्छेका खुसीहरू घटे । म ती हराएका खुशी खोज्न र रूपन्देहीको पुरानो साख फर्काउन आएको हुँ । ठूला घर, ऋण, किस्ता र अनेक तनावमा फसेको बुटवल भएर हुँदैन, बुटबलबासीको अनुहार खुशीले प्रफुल्ल फूलजस्तो हुनु पर्छ ।

नेताहरू पदमा पुगेपछि सम्पत्ति शुद्धीकरणमा लाग्छन् भन्ने आरोप छ; के तपाईं आफ्नो र परिवारको सम्पत्ति विवरण नियमित सार्वजनिक गर्ने हिम्मत राख्नुहुन्छ ?

– म र मेरो परिवारको सम्पत्ति विवरण हरेक वर्ष सार्वजनिक गर्नेछु । राजनीति सेवा हो, व्यापार होइन भन्ने म व्यवहारबाटै पुष्टि गर्नेछु ।

एक सांसदको काम केवल बजेट बाँड्ने मात्र होइन, संसद्मा राष्ट्रिय नीति निर्माण गर्दा तपाईंको भूमिका अरूभन्दा कसरी फरक हुनेछ ?

– म संसदमा केवल ‘बजेट माग्ने’ पात्र मात्र होइन, राष्ट्रिय नीति निर्माण गर्ने एक ‘बौद्धिक प्रतिनिधि’ बनेर प्रस्तुत हुनेछु । देशको कानुन निर्माणमा बुटवलको आवाज सबैभन्दा बुलन्द हुनेछ । बुटवलका हरेक समस्यालाई म संसद्मा आवाज दिने छु । बुटवल संघीय संसदमा सुनिने छ ।

म विषयविज्ञहरूको समूह बनाएर संसदीय कार्यालय सञ्चालन गर्नेछु जसले नियमित रूपमा देशको नीति निर्माणमा राय सल्लाह दिनेछ ।

नेताहरू जितेपछि जनताको पहुँचभन्दा टाढा हुन्छन, तपाईं जनताको सजिलो पहुँचमा रहने ‘छोरा–भाइ’ नेता बन्ने कुरामा कसरी विश्वास गर्ने  ?

– म ‘भिआईपी’ नेता होइन, तपाईंकै छोरा–भाइ हुँ । म ‘भिआईपी कल्चर’ मा विश्वास गर्दिनँ । मतदाता र प्रतिनिधि बीच कुनै पर्खाल हुनु हुँदैन भन्नेमा प्रष्ट छु । मलाई भेट्न कुनै पर्खाल नाघ्नु पर्दैन, कुनै पीएको समय कुर्नु पर्दैन ।

म सधैं जनताकै बीचमा, तपाईंकै सुखदुःखमा हुनेछु । मेरो फोन सधै खुल्ला हुनेछ । म संभव सबै उपायबाट आम नागरिकका गुनासा सुन्ने छु । सकेसम्म समस्या समाधानको प्रयास गर्ने छु । त्यसका साथै नियमित रूपमा जनतासँग जोडिन मेरो कार्यालयमा एउटा स्थायी जनसम्पर्क विभाग हुनेछ जसले हरेक माध्यमबाट आएका गुनासा टिप्नेछ र जनतासँग नियमित रूपमा मलाई जोड्नेछ । साथै म हरेक ६ महिनामा निर्वाचन क्षेत्रमा जनसम्पर्कका कार्यक्रमहरू गर्नेछु ।

अहिले बजारमा नयाँ र वैकल्पिक शक्तिहरूको चर्चा छ, पुरानो दल र नयाँ पुस्ताको जोश भएको दाबी गर्ने तपाईंको पक्षमा मतदाता किन उभिने ?

– नयाँ र पुरानोको फरक कसरी छुट्याउने भन्ने नै मुख्य प्रश्न हो । आजको नेपाली राजनीतिको सन्दर्भमा पुराना भनेका ती हुन् जोसँग नयाँ सपना र दृष्टिकोणको अभाव त छँदैछ, सत्ता स्वार्थका अनेक जालोले तिनको हातखुट्टा बाँधिएको छ ।

कांग्रेस र एमाले त्यही पुरानो शक्ति हुन् जो भ्रष्टाचार र अक्षमताको प्रतिक बनेका छन् । वर्षौंवर्षसम्म उनीहरूले सत्ताको दोहन गर्नेमात्र काम गरे । उनीहरूसँग ठगी र काण्डहरूको बोझ बाहेक केही पनि छैन । उनीहरूको अक्षमता, कल्पनाहीनता, दृष्टिकोणविहिनता र सत्ता स्वार्थको कारण आज जनमानसमा आक्रोश सिर्जना भएको छ ।

भदौ २३ को प्रदर्शन त्यही आक्रोशको प्रस्फुटन थियो जसलाई पनि उनीहरूले दमनले साम्य पार्न खोजे । त्यो ‘अपराध’को जवाफ त दिनैपर्छ ।

अर्कोतर्फ, आज आफूलाई नयाँ भनेर दाबी गर्नेहरूसँग उमेरगत जोश त छ तर स्पष्ट विचार, नीति र कार्यक्रम छैन । आक्रोश र असन्तुष्टिमात्र छ । स्पष्ट विचार, नीति र पक्षधरता नभएको आक्रोश र आवेग अन्धकारमा बिना बत्ती हिँडे सरह हो । पुग्ने कहाँ हो र जाने कसरी हो भन्ने थाहा नभई शुरु गरिएको यात्रा बीचमै अलमलिन्छ र दुर्घटित हुन्छ । र, राजनीतिक दुर्घटनाले अर्को निराशा सिर्जना गर्छ । नेपाली जनता कहिलेसम्म यो निराशाको चक्रव्यूहमा अल्झिरहने ?

कांग्रेस, एमालेजस्ता पुराना शक्ति र दृष्टिकोणविहिन कथित नयाँहरूबीचको यो अन्तर पूरा गर्ने पार्टी र पात्र हामी हौँ । हामीसँग लामो संघर्षको अनुभव छ र नयाँ भविष्यको सपना पनि । हामीले वर्तमानका अप्ठ्याराहरू चिनेका छौँ, त्यसैले यी अप्ठ्याराको समाधान पनि हामीलाई थाहा छ । हामीलाई जाने कहाँ हो भन्ने थाहा छ, त्यसैले हामीलाई हिँड्ने उपाय पनि थाहा छन् । आजको अप्ठ्यारो राजनीतिमा हामी नै सबैभन्दा उत्तम विकल्प हौँ– रूपन्देहीमा पनि, सिंगो देशमा पनि ।

अन्त्यमा, रूपन्देहीबासीलाई के भन्न चाहनुहुन्छ ? तपाईंको उम्मेदवारीले रूपन्देहीको आगामी ५ वर्षको चित्र कसरी बदल्नेछ ?

– १८ वर्षअघि रोकिएको समृद्धिको यात्रा यसपटक तपाईंको तारा चिह्नको एक भोटले पूरा हुनेछ । मलाई विश्वास गर्नुस्, म रूपन्देहीको शीर झुक्न दिने छैन ।